छैनन् यहाँ जवाफहरू, प्रिय
तिम्रा प्रश्नहरुका
किन अन्याय छन् यति धेरै?
उडिरहेकी एक मासुम पुतली कहिलेकाहीँ
कसैको हाँसोठट्टामा परेर
मरिजान्छे
यो तिमीले स्वीकार्नु पर्छ, प्रिय
यहाँको रित नै यस्तै हो
जान्नै परे यो कुरा जनिराख्नू
समुद्र किनार छटपटाइरहेको माछोलाई
संघर्षले होइन, संजोगले बचाउँछ
धेरै प्रश्नहरु सोध्छ्यौ तिमीले
जीवनको आर्थ के हो? किन मर्नुपर्छ सबलाई?
कहाँ छ आत्मा?
के हो यो माया? किन यो बेचैनी?
न सोध सवालहरु यस्ता
जीवन बुझ्न वन हिँडेका योगी बाजे
जवाफ लिएर होइन, शान्त मन लिएर फर्के
छैनन् जवाफहरू यहाँ
तिम्रा प्रश्नहरुका
समयलाई चलिरहन कारण चाहिँदैन कुनै
यो तिमीले बुझ्नुपर्छ, प्रिय
ताराहरु गुलाबी देखिन्छन्
हो,
कहिलेकाहीँ तिमीले घन्टौँ हेरिरह्यौ भने
तर सधैँ किन देखिँदैन, उत्तर छैन यहाँ यसको
नअल्झ यी कुराहरुमा
नडुब यी प्रश्नहरुमा
जिन्दगी बुझ्न भौतारिँदा-भौतारिँदै, मेरी प्रिय
जिउनै नबिर्सिजानू तिमी।