लावा-लस्कर छन् अगाडि नुहिने चम्चाहरू छन् पछि
हुक्के छन् अझ बैठके बगलमा, काँटा र चिम्टा जति
राजा एक हटे तथापि बनिए चुस्ने हजारौं जन,
के पायो गणतन्त्रमा मुलुकले, फेर्दा नयाँ आसन?
उड्नै हुन्न भनिन्छ ढुक्क मनले सेता परेवाहरू
रोकिन्छन् जब लेखनी कलमको के शान्ति होला अरू?
भोग्दैछौँ नव-राजका चरणको दासत्वको शासन
मिल्यो मुक्ति कहाँ गरिब जनको, फेर्दा नयाँ आसन?
हिँड्थे साथ गरिबका, सडकमा गर्थे खरा भाषण
मार्सी धान थिएन गुन्द्रुकसितै निल्थे ढिँडो-रासन
हुन्थ्यो चप्पल पिट्पिटी पयरमा, खाँदैनथे इन्धन
बिर्सेछन् कि कसो! वितृष्ण दिन ती फेर्दा नयाँ आसन?
बढ्दो भोग-विलासले विगतका बिर्से पुराना कुरा
वाचा-बन्धन बिर्सिए सकल ती चढ्दा नयाँ टाकुरा
त्यागी, शिक्षित, योग्य सक्षम नभै भर्ती कुरौटे जन
के आयो घरमा- छ छक्क दुनियाँ, फेर्दा नयाँ आसन?
रैती छक्क परेर हेर्छ- सहजै देखिन्छ जो नाटक
पालो हुन्छ सबै विदूषक बसी पल्टाउछन् फाटक
देशै भो अब रङ्गमञ्चसरिको गर्छन् उनै नर्तन
सत्ताको मद-मस्तले रस पिई फेर्दै नयाँ आसन।