आजभोलि
म
निद्रामा हैन
बिउँझदा देख्छु,
छाम्छु, सुन्छु सपनाहरुलाई।
प्रेम कुरेर बसेकाहरुको सपना
हठात,
बिउँझदा
मायामा पुगेर सकियो।
कोटेरो चरोले नौ तले दरबारबाट
आफ्नो घर देखाउँदै
अल्छी ढुकुरको जोडीलाई गिज्याउने सपना,
कागको फुल कोरलेर
बच्चा चोर्ने सपनाहरु
एक गुलेलीले तहसनहस पारिदियो।
मान्छेहरु सपनमा
काम गर्छन्,
सपनामै पैसा कमाउछन्।
सपनामै खान्छन्
सपनामै सुत्छन, उठ्छन्।
सपनामा म
सपनामै रमाउन मन पराउछन्।
हो,
अहिलेका मान्छेहरु सपना देख्न मन पराउछन्
किनकि, यथार्थभन्दा सपना देख्न धेरै सजिलो छ।
बिस्कुन सुकाइसकेपछि,
कालो बादलले
आकाश छेक्यो,
असिना,पानी
हावाहुरीले
बिस्कुन र गुन्द्री दुवै उडाएको सपना देखें,
आमालाई सुनाएँ
आमाले बुबालाई सुनाउनु भयो।
तातो सडकमा रित्ता पैतालाहरुले के सपना देख्छन्?
ढुंगा पसेको हत्केलाको ठेलामा के सपना हुन्छ?
आँसुले भरिएका आँखाहरुले के सपना देख्छन्?
भाँचिएको मन भित्र कुनै सपना हुन्छ?
भैगो सपनाका कुरा नगर
बुबाले मलाई हेर्नु भो।
सहिदको सपना,
आमाबुबाका सपनाहरु
छोराछोरीका सपनाहरु,
आफ्नै सपनाहरु,
सबै थाती राखेर
म
चुपचाप निदाउन सकेको छैन।
अझ भनौँ, राम्ररी
सुत्न पनि सकेको छैन।