मैले मेरो जीवनको अन्तिम
एकमुठी सास फेरेको ठाँउ
जहाँ मेरो आत्माले ढुंगाको
दासत्व स्वीकार गर्नु परेको छ
बाँचुञ्जेल म खुल्ला किताब थिएँ
जो कोहीले पढ्न सक्ने
जो कोहीले बुझ्न सक्ने
तर मरेपछि यति रहस्यमय भएँ कि
मानौँ अन्तरिक्षको कालो छिद्रजस्तै
यहाँ हत्यारा, बलात्कारी, भ्रष्टाचारी
सबैलाई आम माफी दिइन्छ
तर म निर्दोष किन रिहा भएको छैन
मैले कुनै अपराध गरेजस्तो लाग्दैन
तर पनि ढुंगैढुंगाले बनेको जेलमा कैद छु
जसको नाम हो दासढुंगा
अरुको न्यायका लागि लड्ने मान्छे म
आज आफ्नो मुक्तिको लागि संघर्षरत छु
म स्वतन्त्र हुन चाहन्छु
अरुजस्तै खुला आकाशमा
तर अरु कसैले बुनेको जालबाट
म उम्कन सकिरहेको छैन
सायद सत्ता टिकाउने हतियार सम्झेको छ मलाई
ताकि ऊ कुर्सीमा बसिरहोस् र म यता कैदी बनिरहूँ
अरुले न्याय पाए जस्तै
म पनि एकदिन अवश्य मुक्ति पाउनेछु
किनकि मैले मुक्ति मागेको हो, न्याय होइन।