करिब तीन वर्षपछि घर फर्किनु पर्दा आफ्नो गाँउ-ठाँउ कस्तो होला भन्ने कौतूहलता जागिरहेको थियो। जहाजबाट ओर्लने बित्तिकै लगेज स्टेशनमा नै सामान समात्न आउने ट्याक्सी ड्राइभर देखा परेनन्।
लाग्यो, देश धेरै अनुशासित भइसकेछ। लगेज गुडाउँदै हामी तीन जना अगाडि बढयौँ। बल्ल बल्ल एउटा ट्याक्सी फेला पर्यो। त्यसमा सबै मिलेर जान पर्यो भनेको ट्याक्सीले एक जना बाहेक अरूलाई लान मिल्दैन भनि पटक्कै मान्दै मानेन।
तपाईंको घर परिवार कुरिरहेका छन् भनेर साथीहरुले मलाई नै पठाए। दायाँ बायाँ हेर्दै गएँ। प्रायः व्यस्त हुने सडक सुनसान देखिन्छ 'हिँउदको बगर जस्तै।'
मैले प्रश्न गरेँ- 'के हो यस्तो भाइ?'
‘सडकमा भिजिलान्ते छाडेको छ रे! समातिहाल्यो भने हत्तपत्त छाडदैन रे,’ उसले ठट्यौली पारामा भन्यो।
मैले झट्ट सम्झेँ, पहिले पहिले त ट्राफिकले भाडामा ठगी गर्नेलाई कारबाही गर्न छाडेको हुन्थ्यो।
ऊ एक्सिलेटरसँगै बढ्दै गयो- ‘हेर्नुहोस न, लकडाउन नै छैन तैपनि चरो मुसो हिँडदैनन्।’
म सोच्न विवश भएँ, के कारणले होला? उसबेला आफू काममा व्यस्त भइयो, केही खोज खबर गरिएन। अहिले पछुताउनु पर्ला कि जस्तो लाग्या छ। कतै बीचैमा फसिने त होइन?
सायद उस्ले मेरो कमजोर मनोविज्ञान बुझेर होला, केही भन्न खोज्यो- 'अक्सिजनको हाहाकार छ, अस्पतालबाट बिरामी फर्किराछ।'
सबै कुरा मैले पहिले नै थाहा पाएजस्तै गरेर कुरा स्किप गर्दै थियो। मैले उसलाई बीचैमा रोकेर भनेँ- ‘मैले तपाईंको कुरा बुझिनँ नि, यहाँको बारेमा मलाई केही थाहा नै छैन। अलि बुझ्ने गरी भन्नुस् न।’
‘अहिले त को बुढो? को भर्खरको? को उमेरदारी? जो भेट्यो, त्यसैलाई दूतले समात्दै लैजान्छ। त्यसैले मैले तीन जनालाई लैजान्नँ भनेको हो। एकातिर उसको डर, अर्को तिर सुरक्षाकर्मीको, कत्तिसँग डराउनु?’
उसले मलाई झन् समस्यामा पार्यो। भिजिलान्ते, दूत सायद दुवै पुलिस नै हो त? म द्विविधामा परेर सोच मग्न भएँ।
‘के सोचिरहनु भाको?’ उसले मलाई झस्काएर भन्यो- ‘इन्डियाबाट डबल भेरियन्ट र यूके भेरियन्ट आ छ रे। आदिम कालमा जंगली जनावरसँग पो डराउँथे मान्छे तर अहिले एक मानिसदेखि अर्को मानिस डराउनु पर्ने अवस्था छ। राज्यको सजाय पो सहज थियो, जरिवाना तिरे पुग्थ्यो। प्रकृतिको सजाय त साह्रै कठोर पो हुने रहेछ।
सबै त्राहिमाम भएका छन्। एक घरकोले अर्को घरको मान्छेलाई डरले झ्यालबाट मुन्टो निकालेर झुलुक्क हेर्छन्। बोल्न सक्दैनन् अनि सडकमा पनि कोही निस्किन्दैनन्।
गल्ली शून्य छ, बाटोमा देखिएको मानिस आत्मा होकि प्रेतात्मा हो? कतै ऊ यमदूत बनेर आफूलाई नै त लिन आइरहेको छैन?
यो सोचनीय गम्भीर विषय बनेको छ। यदि उसलाई दया लागेर, लगेन भने पनि कम्तीमा दुई हप्ता त आफ्नै कोठामा नजरबन्द राख्दो रहेछ, कैद सजाय भोगाउँदो रहेछ। अन्तत्वगत्वा, दु्र्भाग्य! कठोर सजाय- मृत्यूदण्डसम्म बेहोर्नु पर्ने रहेछ।’