प्रकृतिको माया अलौकिक छ। प्रकृतिको उपहारलाई भाग्यवादी सोच अंगाल्नेहरुले भाग्यको खेलको रुपमा व्याख्या गर्दछन्। भाग्यकै कारण नतिजा कस्तो प्राप्त हुन्छ भन्ने कुराको निर्धारण हुन्छ भन्ने मान्यता राख्दछन्।
खैर जे होस्, नतिजा प्राप्त भइसकेपछि त्यसको कारक तत्वको समीक्षा गर्ने बाहेक अरु उपाय नै के रहन्छ र? हो, त्यो सत्य होकि कुनै पनि कुराको बारम्बारको परीक्षण पश्चात पनि त्यही परिणाम आउँछ भने त्यो सत्य हो।
त्यसलाई थप परीक्षणको आवश्यकता ठानिँदैन। तर कतिपय कुराहरु यस्ता हुन्छन् जसको नतिजा आइसकेपछि पनि त्यसका नतिजालाई सहजै ग्रहण गर्न गाह्रो नै हुँदो रहेछ। अनि त्यसलाई सम्झेर त्यो भूल थियो कि अभिसाप भनेर धुमिल यादहरुलाई फेरि कोट्याउने प्रयासहरु हुँदो रहेछ।
स्वप्निल यादहरुले जीवनका कति यादहरु स्मरणबाट धुमिल हुँदा पनि फेरि यादगार बनाउने इच्छा जाग्दो रहेछ। यो जागृत मन मेरो बाल्यकालको साथीको हो। उनको भोगाइलाई नजिकबाट नियाल्न मलाई पनि मन लागेकै कारण यो प्रयास गरिएको छ।
एकदिन बाल्यकालको यादका चाङमा नै एकजना रमेश नामको साथीको याद आउँछ। साँच्चै ऊ मेरा मिल्ने साथी हो। तर स्कूल छुटेदेखि भेट नभएको करिब २५ वर्षको अवधि भएछ।
हामी यति मिल्यौँ कि जीवनका हरेक कुराहरु साटासाट गर्थ्यो। तर समय पनि कति कठोर हुँदो रहेछ। यति अनन्य साथीलाई यसरी बिछोड गरायो कि २५ वर्षसम्म पनि एक पटक पनि भेटको मौका नै दिएन।
मेरो मानसपटलबाट प्रायः उसको सम्झना करिब धुमिल भैसकेको थियो। एक दिन काठमाडौँको व्यस्त र मस्त सहरमा जीवन जिउनकै लागि कामको सिलसिलामा हिँड्दै थिएँ। असनको व्यस्त गल्लीमा एक जना मान्छेसँग ठोक्किन पुग्यो।
उसले मलाई गाली गर्दै आँखा गोजीमा राखेर हिँडेको भन्दै रातो आँखाले हेर्दै थियो। त्यति नै बेला मैले उसको आँखामा परिचित मित्रको भाव देखेँ। उसको गालीको वास्ता नै नगरी एकहोरो हेरिरहेँ।
ऊ किन हो कुन्नि झन् रिसाउँदै थियो तर मलाई भने उसको गालीमा भिन्दै मजा आइरहेको थियो। उसको आँखालाई रमेशको आँखाबाट निहाल्दै रहेँ। अनि दुःसाहसका साथ सोधेँ- रमेश?
तब ऊ रोकियो ‘अनि तिमी?’
त्यसपछि व्यस्त दोबाटोलाई ख्याल नै नगरी एकअर्कालाई आत्मियताको साथ खोतल्दै रह्यौँ। बस् त्यतिबेला एक जना भरिया दाइले बोकेको भारीको ठक्करले धक्का यसरी दियो कि उसको धक्काले हामी दुई एकअर्काको अंगालोमा बाधिन पुग्यौँ।
फर्केर भरिया दाइसँग झगडा गर्न त मन लागेको थियो तर उसको ठक्करकै कारण आत्मीय मित्रसँगको आलिंगन गर्न पाएकोमा धन्य छ तिमीलाई भन्न मन लाग्यो। अनि बटुवाको स्वतन्त्र रुपमा हिँड्ने अधिकारलाई हनन् गर्न हुन्न भन्दै आउने शनिबार बालाजुको कुनै रेस्टुरेन्टमा भेट्ने वाचाका साथ छुट्यौँ।
एक हप्तापछि, बाल्यकालको साथीसँगको भेटको प्रतिक्षाको घडी तोड्दै बालाजु चोकमा रहेको एक रेस्टुरेन्टमा दिनको ४ बज्न नपाउँदै पुगियो। तर रमेश मभन्दा अघि नै आएर मेरो प्रतिक्षामा रहेछ।
हामी सुरुमा कफी पिउने भन्दै बस्यौँ। बसाइको क्रममा उसलाई फेरिपनि मनभरि नियाल्दै रहेँ। उसमा बाल्यकालको त्यो बानी उस्तै रहेको पाएँ। नियाल्दा देखिन्थ्यो, उसको टाउकाको सबै कपालले रङ फेरिएछ। मानौँ कि हिमालको सेतोपनालाई समेत उछिन्ने गरी।
दारी-जुँगालाई समेत कपालको झैँ पालेको पाएँ। उसको त्यो गेटअपले उसका मनमा केही पीडा छ भन्ने कुरा स्पष्ट पढ्न सकिन्थ्यो। उसलाई किन यो कपालको केयर नगरी आफूलाई ६० औ वर्ष पुगको मान्छे जस्तो गेटअप बनाएको?
उसले अलि असहज मान्दै त्यस्तो खासै कारणत केही छैन भन्यो र हाँस्दै भन्यो- ‘यो नेचुरल हो किन कृतिम बनाएर ठिटो बन्नु छ र!’
‘होइन यार, तेरो यो रुपले तलाई गिज्याउँछ। तँ बुढो भइस् भनेर मनोवैज्ञानिक रुपमा पनि तर्साउँछ। प्लिज यार कतिपय कुराले केबल क्षणिक फाइदा गर्छ भने त्यसलाई अप्राकृतिक नै भएपनि किन नअप्नाउने?’ भनेँ तर मेरो कुरासँग ऊ कन्भिन्स भएन।
उसले भन्यो- ‘हो, म पनि लगाउँथेँ कालो रङ कपालमा तर हिजोआज मन छैन।’
‘किन मन छैन भन् त?’ फेरि सोधेँ।
‘केही कारणले होइन।'
तर उसको अनुहारको भावले ढाँटेको भन्ने स्पष्ट देखिन्थ्यो। उसँग कसरी सत्य कुरा बोलाउन सकिन्छ भन्ने मलाई थाह थियो। ऊ बच्चैदेखि आध्यामिक मान्छे भएकोले भगवानसँग ऊ साह्रै डराउँथ्यो।
‘भगवानलाई साक्षी राखेर भन् के भयो? किन यस्तो हालतमा आफूलाई यूवा अवस्थामा नै बुढा बन्न मन लाग्यो तलाई?’
उसले मलिन अनुहार बनाउँदै भन्यो- ‘हो यार, म अतित्लाई सम्झेर आफ्नो जीवनको मूल्यांकन गर्न थालेको छु।’
के हो कुरा स्पष्ट भन्नको लागि अनुरोध गर्दै उसको थप कुरा सुन्न चाहेँ।
‘हामी कलेजका साथीहरुसँग खेल्दा अनि जिस्किँदै जाँदा बेला बेलामा म आफू खुम्चिन पुग्थेँ। भर्खरै युवा अवस्थामा लाग्दै गरेको भएर होला मनमा कता कता काउकुती लाग्न थालेको अनुभूत हुन्थ्यो नै। साथी संगीसँगको संगतमा कोही कसैप्रति मन गएर टक्क रोकिन्थ्यो।
हुन पनि उनी कक्षामा सबैभन्दा राम्री थिई। उनीको नाम वर्षा हो। साँच्चै वर्षाजस्तै सधैँ रसिला हँसिमुख भएकी। उनको यादले मात्र पनि रमाउन थालेको थिएँ। तर मनमा आउने आकृतिले भन्थ्यो- त त्यो लायक होइन किनकि तँसँग त माया गर्ने मन त छ तर तिनलाई पाल्नसक्ने हैसियत कहाँ छ भन्ने गर्दथ्यो।
जसले गर्दा सयौँ पटक अदम्य साहस पालेर मनका कुरा त्यो उनीलाई भन्ने साहस समेत गर्न सकिनँ। मनका कुरा उनीलाई भन्ने कार्य सपनामा नै तुइयो। त्यो मेरो मनको रानीलाई पनि के थाहा मेरो मनका कुरा कहिले मैले अभिव्यक्त गरेको भए पो थाहा पाओस र!
त्यस ताका मेरो अधिकांश समय उनैको सम्झनामा बिताउँथेँ। सम्झनाको ती मिठा मनहरुको संगालोलाई गन्ने हो भने अहिलेसम्म निर्धारित अंकले पनि सम्भव त भ्याउँदैन होला। आइकम पढ्दा त्यो दुई वर्ष सायद कसैलाई सम्झेर नै बिते तर मेरो मनका कुरा ती मान्छेलाई न त भन्न नै सकेँ न त त्यसको भाव नै देखाउन।
यसै क्रममा आइकम सकियो। साथीहरु यत्रतत्र रुपमा छरिए। कोही आफ्नो भविष्यको रेखा कोर्न देश बाहिर तिर लागे भने कोही सोही कलेजमा नै रहेर पढाइलाई अगाडि बढाएको चाल पाएँ। मैले भने अध्ययनलाई अगाडि बढाउनभन्दा पनि जागिरको दौरानमा कालेज छोडेँ।
आँखाभरि मन अनि कसैलाई व्यक्त गर्न नसकेको मनभरिका कुरालाई झोलाभरि राखेर। अनि उनी पनि त्यो कलेज छोडेर काठमाडौँको नै अन्य कलेजमा पढ्न लागेको कुरा थाहा पाएँ तर कहाँ पढ्छिन् भन्ने थाह भएन। नखोजेको पनि होइन। यो मन सधैँ उनकै यादमा रमाउन खोज्दथ्यो।
त्यसपछि मनका मायामोह समयक्रमसँगै विस्तारै धुमिल हुँदै गयो। समय पनि यति छिटो गएछ, २५ वर्ष कटेको पत्तो नै भएन। यो समयमा बेला बेलामा उनको याद नआएको होइन तर सम्पर्क थिएन। २५ वर्षपछि फेसबुकको माध्यमद्धारा उनलाई साथी बनाउन सफल भएँ।
फेसबुकको माध्यमद्धारा साथी बनेपछि वर्षासँग मेसन्जरमा च्याट गर्ने क्रम सुरु भयो। उनीसँग कुरा हुन थालेको करिब ६ महिना भइसकेको थियो। हामीबीच बारम्बार म्यासेज हुन्थ्यो अनि विगतलाई सम्झेर रमाउँथ्यौँ।
एक आपसमा मायाको बिउ पलायर युवा अवस्थामा पुगिसकेको थियो। एक दिन मायाको भाव साट्ने क्रममा उनी बोल्दै थिइन्- ‘हेर रमेश, तिमीसँग मेरो जीवनका अमूल्य जीवन जिउने त लेखेको रहेनछ भाग्यमा तर पनि…’ भन्दै लामो श्वास लिएर सुस्काइन्।
म अक्क न बक्क भएँ। मैले त्यस्तो त केही भनेको थिइनँ। किन यिनले त्यस्तो भनेको होला भनि घोत्लिएँ। तर उनको दुखी मनको भाव सजिलै अनुमान गर्न सकिन्थ्यो उनको अनुहारमा।
‘वर्षा के भो? प्लिज भनन’ भनेँ। तर उनीको नयनमा साँच्चैको पीडा बोध देखिएको थियो। आँखाभरि उनको मनका भावनाकै कारण होला आँसुले उनको नयनरुपी पोखरी भरिएर बाहिरिन तयार थियो।
उनको दुखेका मनलाई सम्झाउन धेरै कोसिस गरेँ तर करिब १० मिनेटसम्म पनि सम्भव भएन। विस्तारै उनको नयनमा आएको त्यो आँसुको भेललाई मेरो हातबाट पुछिदिन खोजेँ तर उनीले भनिन्- ‘यसलाई भग्न देऊ रमेश।’
केही समयपछि वर्षा आफैले सलको टुप्पोले त्यो आँसुको भेललाई जमिनसम्म जानबाट रोक्दै पुछिन्। ‘कति निष्ठुरी छौ है तिमी रमेश’ भन्दै थिइन्।
‘यस्तो मायाको सागर लिएर पनि यतिन्जेलसम्म बाहिर नै भौतारिने। म समक्ष त्यो माया रुपी सागर लिएर नआउने। अनि आएपनि समय घर्काएर आउने। तिमीलाई निष्ठुरीभन्दा अन्याय त हुँदैन नि?’
उनी अलि भावुक हुँदै भन्दै थिइन्। म भने के भूल भयो प्रिया भन्ने गीतको भावलाई सम्झँदै एकोहोरो घोत्लिन बाध्य रहेँ। त्यति नै खेर ‘रमेश’ भनेपछि म झल्यास्स भएँ।
‘हजुर भनन्।’
वर्षा भन्दै थिइन्- त्यो समय त्यस्ता कुरा म समक्ष्य आएको भए दायाँ बाँया केही नहेरी त्यो बिउलाई सहर्ष स्वीकार्ने थिएँ भन्दै पछुताइन्। त्यसको दोष मलाई दिइन्। निशंकोच मैले स्वीकार्ने बाहेक केही थिएन मसँग।
त्यो मात्र कहाँ हो र, ‘यदि मिति आजभन्दा १० वर्ष अघि मात्र भेट भएको भएको भए मेरो कोखबाट तिम्रो बिउ उमार्ने थिएँ। त्यही बिउलाई सदा मायाको प्रतिकको रुपमा स्वीकार्ने थिएँ।’
बस् यति भनेर उनी झन् भावुक हुँदै फेरि एकोहोरो टोलाइरहिन्।
मसँग उनीलाई सम्झाउने कुनै शब्द नै थिएन। सोचेँ यो मेरो मायालाई उनको मनसम्म मैले पुर्याउन नसकेको भएता पनि भगवानले पुर्याइसकेको अनुभूत गरेँ।
विगतको मेरो मनका भावलाई यसरी अहिले नै भएपनि सम्झेर पीडा बोध गर्ने कार्यमा पक्कै पनि भगवानको नै आशीर्वाद छ भन्ने लाग्यो। अनि वर्षालाई सम्झाउँदै भनेँ ‘छोड न यी सब कुराहरु अब। विगतबाट त पाठ सिक्ने हो। पछुताएर आफूलाई कमजोर बनाउने होइन नि। बरु सकिन्छ भने बाँकी जीवन मिठास बनाउने हो।’
‘तर पनि समयले नेटो काटिसक्यो। जीवनको हरेक पलहरुले विश्राम लिने तयारी गर्दैछ। यो अवस्थामा प्राप्त मायालाई कसरी खुसीसाथ सुरक्षित राख्न सकिएला र? यो त समयको मात्र खेल हो र समाजको र परिवारको बन्दन अनि अरु थुप्रै बन्दनहरु चारैतिर छन्।
यो, अवस्थामा खै कसरी यी मायाको बिउलाई सुरक्षित राख्न सकिन्छ र!’ भन्दै ऊ त्यस दिनको भेटबाट छुट्टिइन्। दुखी मनको भाव पोख्दै आजभन्दा १० वर्ष अघिमात्र हामी बीच भेट भएको भए त्यो हाम्रो बिउ...।
हो, त्यो दिनदेखि म उनकै भावना बुझ्न नसक्दाको पीडाले मलाई कुण्ठित बनाउँदै छ। हरेक पल सम्झन्छु त्यो उमार्न नपाएको बिउलाई। फेरि सम्झन्छु हाम्रो मायाले पूर्णता नपाएता पनि बिउ उनको काखमा हुन्थ्यो भन्ने कुराले सदा पिरल्दै आएको छ मलाई।
रातदिन सम्झन्छु त्यो उमार्न नसकेको बिउ अनि उनको मायाप्रतिको प्रतिबद्धतालाई सलाम गर्न मन लाग्छ। धेरै पटक आफूलाई सम्हाल्न कोसिस गर्छु तर गाह्रो महशूस हुन्छ। हो, साँच्चै म आफूलाई कमजोर ठान्छु जसले गर्दा आज बिउको जिउन पाउने अधिकारलाई कुन्ठित गराएँ।
हो साँच्चै, म उनको नजरमा काँतर हुँ। मायाको सागरमा डुबुल्की मार्दै हरक्षण समाधिमा रमाउन पाउने मेरा यो जीवन, आज सदा तनाव, इर्ष्या, द्वेष र रिससँग मितेरी गाँस्दै आएको छ। तर अझै पनि खाली समय उनकै यादलाई नियाल्छु।
जसले मलाई शरीरको मेन्टेन गर्ने मनलाई भाँचिदिएको छ। केही गरौँ भन्ने मनका बहलाई शिथिल बनाइदिएको छ। बस् यही हो मेरो सेता कपाल अनि दिक्दार लाग्दो दारीको कारण।’
उसले त्यति नै खेर, ‘अब कफी होइन बुझिस्, ए वेटर हाप बोटल देऊ’ भन्यो। त्यसपछि २ प्याक अनि ३ हुँदै उसमा वीर रसको बल चढेर जाँदै थियो र बीच बीचमा उनकै सम्झनामा धेरै पटक आँसु झार्थ्यो।
म सम्झाउँथेँ- ‘हे रमेश, पाउनु मात्र होइन जीवन। मायामा त्यागको फरक अनुभूति हुन्छ। त्यसको रस स्वादन गर्न सक्नुपर्छ। पाउनेहरु खुसी हुँदा नपाउनेले त्यागको भावना नराख्ने हो भने समाज संवेदनाहीन हुन पुग्छ। तर तँ सम्यम बन्नै पर्छ’ भन्दै गर्दा उसले मेरो कुरासँग पटक्कै सहमति जनाइरहेको थिएन।
हो, उसले पाउन नसकेको मायालाई बारम्बार मिस गरेको त हुन्थ्यो। तर त्योभन्दा पनि बढी उमार्न नसकेको बिउप्रति बढी गुनासो गर्थ्यो। अनि बस उसको मुखबाट उमार्न नसकेको बिउप्रति सदा पीडा पोख्थ्यो।
‘त्यो बिउ उम्रेको भए…’ भन्दै ऊ फेरि पनि एक प्याक तान्दछ। अनि म फेरि सम्झाउने कोसिस गर्छु- ‘हेर रमेश, अतीतलाई बिर्सिदेऊ, भविष्यको बारेमा धेरै सोच्न छोडिदेऊ। आफ्नो मन वचन र कर्मलाई वर्तमानमा केन्द्रित गर। अनि पछुताउनको लागि केही हुन्न तिमीसँग।
सफलताको कथा आफै तिमीलाई खोज्दै आउनेछ। स्वयम आफैलाई अवमूल्यन नगर्नू। आफ्नो आत्मासम्मानलाई कहिल्ये घात नगर्नू।’
तर यी सब कुरासँग उसको रतिभर मोह देखिँदैन। फगत बिउप्रति पछुतो। ‘समयले डाँडा काटिसक्यो, अब घर जानु पर्छ’ भनेँ मैले। तर ऊ अझै मलाई बस्न अनुरोध गर्दै थियो।
तर मलाई घर फिर्नको लागि ढिला भैसकेको कारण उसको अनुरोधलाई इन्कार गर्दै यो भेटलाई छोट्याएँ। तर अर्को भेट २ हप्तापछि गर्ने गरी।
‘बाई रमेश।’
उसले हात हल्लायो अनि हामी त्यस दिनको भेटलाई टुंग्याएर बिदा भयौँ।