आकाश शून्य छ
तर
आकाशमै
सबथोक छ
आकाश विस्तृत छ
किन्तु
आकाश
कहीँ कतै
भेटिँदैन।
आकाश
विशाल छ
मापनबाट
टाढा छ
‘क्षितिज’
धरती र आकाश
जोडिएको
ठाउँ रे
तर
क्षितिज कसैले
भेटेको छैन।
पृथ्वी र आकाशको
विवाह
कसैले
देखेको छैन...
त्यसैले त
कौशिकको
मन
गुनगुनाउँछ
प्रायः
‘धर्ती र आकाशको मिलन
ठान्दथ्यो सदैव मेरो मन
तर त्यो त क्षितिज पो रहेछ
अन्तराल अनिश्चित योजन’
भन्छन्
अग्लो छ आकाश
परन्तु
शिरको
टुङ्गो र
पाउको
पत्तो लगाउने
विज्ञान
खोई?
वैज्ञानिक
जिल्ल छ..
आकाश
भित्रको
घटमा छ
बाहिरको
घडामा छ
आकाश
हिमालमा
पहाडमा
पहाडी
गुफा र
कन्दराहरूमा
जताततै छ।
आकाश
आँखामा,
आँखाको
नानीमा
आकाशै आकाश
पानीमा आकाश
पानीको
बूँद बूँदमा आकाश।
मृदङ्गको
उदरमा आकाश छ
दुई तालीको
बीचमा आकाश छ
मुट्ठीमा
आकाश छ
तर
पकडबाट
पर छ आकाश
असमर्थहरूले
आकाश ओछ्याएर
सुत्छन्
र
आकाश ओढेर
मीठा तर अपूरा
सपना देख्छन्
समर्थहरूले
आकाशलाई
सिरकभित्र लुकाउन
सफल भएको
भ्रममा
आफूलाई
भाग्यमानी ठान्दछन्
तर आकाश
पत्तै नपाई
चिप्लिसकेको हुन्छ
कहाँ छैन आकाश?
तिम्रो आवाजमा
मेरो आवाजमा
अनि
उसको आवाजमा
आकाश छ
अर्थात्
आकाशमा
हाम्रो आवाज छ
गीत सङ्गीत र
कविता छ
उज्यालो ऊर्जा दिने
सविता छ
शीतल
सञ्जीवनी वर्षाउने
सुधांशु छ
आकाशमा
के छैन?
लाखौँ
तारिका छन्
असङ्ख्य
निहारिका छन्
र
प्रकाशका
स्वर्गिक गाउँहरू छन्
हो
आकाशमा
सबैथोक छ
तर
आकाश रित्तो छ....