यो निष्पट्ट अन्धकार एक दिन उज्यालिने छ
गैह्रीखेतका आलीहरुमा असारे गीत घन्किनेछ
च्यातिने छन् तिम्रा सम्पूर्ण अहंकारहरु
ध्वंश हुनेछन् जालझेल र षड्यन्त्रहरु
गोधूलिका जुनकिरीले दीप बोकेर आएको दिन
सबै सन्त्रास र सन्नाटाहरु लुप्त हुनेछन्
आशाको किरण बोकेर, नयाँ बिहानी आउनेछ।
साँच्चै, प्रकृतिले वसन्तको राग छर्नेछिन्
शरदकालको लालित्य भित्र
तिम्रो नयाँ अवतार हुनेछ
माया र सदभाव बोकेर बस्ती चहार्ने छौ तिमी
सत्यको सपथ लिन थालेपछि
झुटका पुलिन्दाहरु र तिम्रो अभिमान चूर्ण हुनेछ
तिम्रो शकुनि छवि फेर्नकै लागि
हरेक महाभारतपछि, नयाँ बिहानी आउनेछ।
हेर्दै जाऊ, बिहानीको लालिमाले तिम्रो काया फेरिदिनेछ
प्रकाशका किरणहरुले तिम्रो छाया फेरिदिनेछ
ढल्दै जानेछ लुटको भग्नावशेष
छलकपट र पाप लुकाउन अँध्यारो नभेटेपछि
ए मान्छे, तिमी बदलिनेछौ
तिम्रो उत्कण्ठा बदलिने छ
तिमीलाई बदल्नकै लागि भए पनि
सत्यको सन्देश बोकेर, नयाँ बिहानी आउनेछ।