मिल्क्याउँदै गर क्रान्तिका बोटहरु,
रोप्दै प्रतिक्रान्तिका विषवृक्ष,
वर्गीय मुक्तिको लागि लडेकाहरुलाई
मिल्क्याऊ रद्दीका टोकरीहरुमा,
सिद्धयाऊ उसका इतिहासहरुलाई।
बनाऊ किचेन क्याबिनेट
उनै भक्त हनुमानहरुको,
सुनिदेऊ उनैको सल्लाहहरुलाई
दिँदै झल्को शाहीकालीन युगको,
देऊ तिलाञ्जली सपनालाई, वर्गीय मुक्तिको।
टेकी ढाडहरुमा मजदुरहरुको
खेली पौडी रगतमा, उनै निमुखाहरुको,
पुग्यौ तिमी रोडबाट करोडमा,
तर बाँड्दैछौ सपना अझै साम्यवादको
बसी विलासी महलहरुमा।
देऊ सारा जिम्मेवारी तिम्रै भजनमण्डलीलाई,
सुनिदेऊ उनैका बनावटी प्रशंसाहरु।
बनाऊ भूमिकाविहीन अनि बेरोजगार
क्रान्तिको लागि शिर फुटाउनेहरुलाई,
मुक्तिको लागि मर्न तयार हुनेहरूलाई।
बनाऊ पार्टी अब माफियाहरुको
देऊ सारा तालाचाबी राष्ट्रको अनि पार्टीको
उनै भ्रष्ट अनि तस्करहरुलाई,
बन बामपन्थीबाट दामपन्थी
लुटिदेऊ गरिबका खुसीहरुलाई।
बिगबिगी भो यहाँ लाल गद्दारहरुको,
रोप्दैछन् तरबार आफ्नै सहयोद्धाहरुमा,
संविधान जलाउनेहरु र कुल्चनेहरु एक भई
मनाउँदै गर्दा उत्सव,
भित्र भित्रै गहिरिँदै छ संकट
मेरो देशको राष्ट्रियतामा।
लगाइँदैछ करहरु यहाँ
मजदुरको लासहरु माथि,
हिँड्दै छन् खुलेआम बलात्कारीहरु,
पाउँदै छन् उन्मुक्ति सुन तस्करहरु,
हुँदैछ यहाँ आभाष लुटतन्त्रको तर
छोपिदिन उनका गल्तीहरु,
बन्नुपर्ने रे अझै साइबर सेनाहरु।
फ्याँकेर झुटा पुलिन्दाहरु नक्कली राष्ट्रवादका,
देखाई सपना समृद्धिका,
पुग्यौ सत्तामा जोडतोडले,
अब त बाँड्दै छौ रे नागरिकता छिमेकी रिझाउन,
बेच्दैछौ रे चुरेको ढुंगाहरु तयारी गर्दै
बेच्न देशकै अस्मितालाई।
छोयो गगन महंगीले,
भाँचियो ढाड गरिबहरुकै तर,
सुन्दैनौ स्वर जन आक्रोशको
सुन्छौ त केबल बनावटी प्रशंसाहरु,
उनै चाप्लुसिहरुको।
उनै भक्त हनुमानहरुको।
दिई सत्ताका कुर्सीहरु दोहोर्याइ
उनै कलंकित पात्रहरुलाई!
खाँटी कार्यकर्तालाई त केबल दौडाइन्छ
चुनावी अभियान अनि आन्दोलनहरुमा,
गरिन्छ अवमूल्यन योद्धाहरुको
भित्र्याइ संस्कृति चाकडीवादको।
कुल्चेर सारा कम्युनिस्ट संस्कारहरुलाई,
डुबि भ्रष्टाचारको आहालमा,
आफ्नैलाई सकाएर मनाउँदै छौ तिमी उत्सव,
बन्ने हौ कि जस्तो लाग्छ तिमी
नेपाली ब्राण्डको गोर्बाचोभ।