यता म हुन्छु भन्दै
दाउ हानेको छ,
उसले केही मान्छेजस्ता
कुमान्छे सोहोर्दा- मैले पनि सोहोरेको छ
निजी दिमाग नभएका
गोबरहरूको संख्या जोडेको छ
मनमनै भन्दैछु-
म बाहेक यस देशको शासक हुन लायक को छ?
तिमीले मान्छे चोर्यौ?
पैसाले चोर्यौ!
तिमीले दल फुटायौ?
उस्ले फुटायो!
म त प्रधानमन्त्री दोहोरिन लागेको
दैव संयोग!
ज्योतिषले जुरायो।
अब हामी चुनाबमा जाँदैछौँ-
अनुभवी राजनीतिका भुक्तभोगी
विगत दशकौं दशकदेखि
जनचाहनामा सुशासनका खातिर
सिंहदरबार धाउँदैछौँ
पैसा रेमिट्यान्स हो
यसैको दाइँ गर्दैछौँ।
कोभिड, कोरोना त
हाम्रो भाग्य र भविष्य हो
खाद्य उद्योग रोकेर
स्यानिटाइजर,
मास्क उद्योग चलाको
मालामाल भो!
चुनाव जोसुकै जितोस्
ठूला ठेक्का हाम्रा हुने
केही समाए झैं धन्दा चलाउने
दल र जनताका बीच
मेलो मिलाउने!
धेरै मान्छे जहाँ
त्यहीं मतदान केन्द्र तोक्ने
महामारी बढिरहँदा
‘मसानघाट मतदान केन्द्र’ रोज्ने
मरेका मान्छेका नाममा मत दिएकै हो
अब श्मशानघाटभन्दा अन्त किन खोज्ने?