हो, वास्तवमै मलाई म मन पर्दैन। मलाई म मन नपर्नुको कारण मलाई मन पर्ने म मन नपर्नु पनि हो। जमाना अनुसार आफूलाई परिवर्तन गर्न सकिनँ, त्यसैले मलाई म मन पर्दैन।
झुटको आडमा चल्ने यो संसारमा म झुटो बोल्न जान्दिनँ, त्यसैले मलाई म मन पर्दैन। अरूले के सोच्छन् भन्ने नसोची चल्ने यो संसारमा म सोचेर चल्छु, त्यसैले मलाई म मन पर्दैन। आफ्नो भावना दबाएर राख्ने यो संसारमा म प्रिय मान्छेसँग भावना दबाउन सक्दिनँ, त्यसैले मलाई म मन पर्दैन।
हिजो साँझमा म यसो घुम्न निस्केको थिएँ। लाखौं सोच राख्ने हजारौं जनको भिडमा आफूलाई पनि चिनी-पानीमा घोलिएझैँ घोल्न खोज्दै थिएँ। विडम्बना, म त्यहाँ चिनीमा परेको कमिला भइदिएँ।
मलाई चिया गिलासमा भर्दा जालीले छानेझैँ छनिदिए। मलाई त्यही जालीमा अल्झेको काम नलाग्ने पदार्थ भनी अनेक शब्दले प्रहार गरे। तर उनीहरूलाई के थाहा, चिया छान्दा जालीमा अल्झेर बसेको त्यो काम नलाग्ने भनिएको पदार्थ नै यदि बारीमा पुग्ने हो भने त्यहाँ मलको रूपमा काम लाग्छ।
हो, ती लाखौं सोच राख्ने त्यो भिडमा आफू अरुभन्दा फरक सोचको पाउँछु र काम नलाग्ने भनी छानिन्छु। त्यसैले मलाई म मन पर्दैन। मलाई थाहा छ, छानिएको चिजको छुट्टै महत्व हुन्छ, तरपनि भिडमा घोलिन नसक्दा मलाई म मन पर्दैन।
निकै महिना अगाडि बसमा यात्रा गर्दा एक जना वृद्ध मानिस उभिएको देख्दा मैले उहाँलाई बस्ने ठाउँ दिएँ र आफ्नो लामो यात्रा उभिएर नै तय गरेँ। मलाई ओर्लिने बेलामा एकजनाले तिमी त साह्रै मूर्ख, बस्ने ठाउँ हुँदाहुँदै अरूलाई दियौ भन्नु भयो। म मूर्ख छु त्यसैले मलाई म मन पर्दैन। म दुनियाँ जस्तो चलाख छैन, त्यसैले मलाई म मन पर्दैन।
कलेजमा हुँदा कुनै विद्यार्थीले शिक्षकलाई निकै तल्लो स्तरको गाली गर्दथे। म आफ्ना साथीहरूलाई त्यस्तो भन्न हुन्न आफ्नो शिक्षकलाई भनी सम्झाउँथ्ये। त्यो बेला मलाई धेरै बाठोको उपाधि दिइन्थ्यो, मेरो बेइज्जत गर्ने हेतुले। म धेरै बाठो हुन्छु, त्यसैले मलाई म मन पर्दैन। म अरूलाई यस्ता कुरामा साथ दिएर कूल हुन सक्दिनँ, त्यसैले मलाई म मन पर्दैन।
मलाई मेरा आफ्नै साथीहरु हाँसको फौजमा बकुल्ला ठान्छन्। त्यसैले मलाई म मन पर्दैन।
म खासै कोहीसँग घुलमिल हुन्न र हुन चाहन्नँ पनि। मलाई अनुचित लागेको वातावरणमा म टिक्न सक्दिनँ। तर त्यही अनुचित वातावरण आफ्ना नजिकका साथीलाई मन परिदिन्छ। म साथीलाई मन पर्ने वातावरणमा टिक्न सक्दिनँ जसकारण उनीहरू मलाई एक्लै छाडी साथी टाढा भइदिन्छन्। त्यसैले मलाई म मन पर्दैन।
मैले प्रिय मानेको मित्रजनहरु टाढा छन्, दूरीमा पनि आत्मियतामा पनि। कारण मैले उनीहरूबाट अलिक बढी मात्रामा आशा गरेँ। म नजिक भएका सम्पूर्णबाट बढी आशा गर्दछु, आशा माया, प्रेम अनि सद्भावको। त्यसैले मलाई म मन पर्दैन।
मलाई म मन पर्दैन भन्ने कुराको कुनै पश्चाताप छैन। म रम्दैछु आफ्नै संसारमा, आफ्नै तरिकाले, मन नपर्ने म भएर। मलाई गर्व लाग्दछ कि मलाई म मन पर्दैन। आखिर अरुभन्दा थोरै मात्रामा भएपनि अलग जो छु।
यदि मलाई म मन परेको भए मेरो हृदयलाई म मन पर्दैन थियो। अहिले मलाई म मन परेको छैन तर मेरो हृदयलाई मन परेको छ। त्यसैले गर्व छ मलाई म मन नपर्ने म हुँदा।