माथिबाट बाँस चिरिए झैँ चिरिएको आवाजले म झसंग भएँ। आमाले माथिबाट भन्नुभयो- ‘त गधा अझै स्कुल गएको छैनस्!’
मैले सानो स्वरमा भनेँ, 'म आज स्कुल जान्न।'
आमा रातो मुख बनाउँदै तल आउनु भयो। ‘नजाने रे! किन नजाने?’
मैले भनेँ- ‘गृहकार्य गरेको छैन, त्यसैले।’
आमाले मलाई गालामा एक थप्पड हान्नुभयो। म सुँक्क सुँक्क गर्दै विद्यालय तर्फ लागेँ।
विद्यालय जाँदै गर्दा बाटोमा एउटा कुकुर बढो आनन्द मान्दै घाम तापेर बसिरहेको थियो। मैले मनमनै सोचेँ, 'कुकुरको जिन्दगी त कति रमाइलो! न त विद्यालय जानुपर्छ, न त कुटाइ नै खानुपर्छ। दिनभरि घाम तापेर सुतेर बस्छ।'
कुकुरले आनन्दसँग घाम तापेको देखेर मलाई रिस उठ्न थाल्यो। मैले एउटा ढुंगा टिपेर कुकुरलाई हानेँ र त्यँहाबाट भागेँ।
आमाले हान्नुभएको गालाको चड्कन सुम्सुम्याउँदै म विद्यालय भित्र प्रवेश गरेँ। विद्यालय-भित्र के छिरेको थिएँ, सरले किन ढिलो भनेर केही नसोधी गालामा थप्पड हान्नुभयो। म केही नबोली कक्षाकोठा भित्र गएँ।
मेरो मन भक्कानिन थाल्यो। पछाडिको बेन्चमा गएर म सुक्क सुक्क गर्दै सानो स्वरले रोएँ। म त्यो बेला कक्षा ४ तिर पढ्थेँ। म आफूलाई एकदम एक्लो महशुस गर्थेँ।
जाबो ४ कक्षामा पढ्ने बच्चालाई के नै थाहा हुन्छ र! म धेरै सानो उमेरको भएकाले मलाई विद्यालय किन जानुपर्छ केही थाहा थिएन। सधैँ डरै डरमा हुर्कनु पर्यो मानव जाति नै त हो हामी आफूभन्दा साना र कमजोरलाई दबाउने मानिसको बानी हुन्छ।
यदि मलाई एक थप्पड हान्नुको सट्टा माया गरेर भनेको भएपनि त हुने थियो. तर आफूलाई मनमा लागेका कुरा भन्ने व्यक्ति पनि त्यति बेला कोही थिएन। सधैँ डरै डरमा हुर्किनु पर्यो।
आफ्नो तौलभन्दा दुई गुणा बढी भारी किताब र कापी बोक्ने गधा नै भएको थिएँ म। आफ्ना साथीहरु सधैँ 'टप टेन' मा पर्थे, आफू भने कता हो कता! मेरो पढाइ कमजोर थियो।
सबैको गाली कुटाइ सम्झिएर पढ्न त मन लाग्थ्यो तर आफ्नो शिक्षकसँग नजानेका कुरा सोध्न भने डर लाग्थ्यो। मलाई त्यति बेला विद्यालय जेल-जस्तै लाग्थ्यो। कहिले काहीँ आफूभन्दा जान्ने साथीलाई सोधेर पढ्न खोज्थेँ तर उनीहरुले पनि मेरो कुरालाई मजाकमा उडाइ दिन्थे।
म विद्यालयबाट घर फर्किएँ। आमाले मुख बिगार्दै भन्नुभयो, भोलि पनि गृहकार्य नगरी जान न के गर्छु?
घर पुग्ने वित्तिकै गाली खाएपछि मलाई नि दिक्क लाग्यो। ‘दिनभरि विद्यालयमा पढेर घर आयो, घर आएर नि आनन्दसँग बस्न नपाइने!’ मैले मनमनै सोचेँ।
खाजा खाएर मैले आफ्नो झोलाबाट किताब कापी निकालेर गृहकार्य गर्न कोसिस गरेँ तर मलाई गर्न आएन। अनि म धेरैबेर टोलाएर बसिरहेँ।
बेलुकीको ८ बज्यो। आमाले खाना खान बोलाउनु भयो। हामी सबै खाना खान बस्यौँ। मैले आफ्नो मनमा लागेका कुरा आफ्ना आमा बुवालाई भन्न खोजेँ तर कसैले पनि मेरो कुरा सुनेनन्।
उमेरमा सानो भएकाले कसैले मेरो भावनालाई वास्तै गरेनन्। खाना खाएपछि झप्प निन्द्राले छोप्यो। तर मैले गृहकार्य भने गरेको थिइनँ। अचानक आमाले भन्नुभयो, 'गृहकार्य सकिस्?'
मलाई अब फसाद पर्यो। मैले सकेँ भनेर कुरालाई टालिदिएँ। आमाले त्यसो भए सुत् भनेर मलाई खाटमा तान्नुभयो। म पनि आमाको छेउमा पुगेपछि भुसुक्कै निदाएछु।
मैले सपनामा मलाई सरले गृहकार्य नगरेर कुटाइ खाएको सपना देखेँ। म झसंग भएँ। मलाई त्यसपछि निन्द्रा भने लागेन। सुत्न खोज्यो सपनामा सरलाई देखेर तर्सिने मेरो शरीरबाट पसिना आउन थाल्यो। म सुत्नै सकिनँ।
त्यसपछि बिहान भयो। मैले मेरो टाउको दुखेको कुरा आमालाई भनेँ। आमाले माया गरेर भन्नुभयो- ‘ओहो! तलाई त ज्वरो पनि आएको रहेछ, भो आज विद्यालय नजा।’
मैले खुसी हुँदै लामो सास फेरेर भनेँ, 'हुन्छ।'
म त्यो दिन विद्यालय गइनँ तर मैले आमालाई बेलुका झुट बोलेको कुराले मलाई दिनभरि पश्चाताप भइरह्यो। एउटा झुट बोलेपछि त्यो झुट छोप्न अर्को झुट बोल्नै पर्ने रहेछ। मैले मनमनै त्यो दिन मलाई आफूले गरेको गल्तीको पश्चाताप भइरहयो।
मैले अघिल्लो दिन नगरेको गृहकार्य गर्न फेरि कोसिस गरेँ तर मलाई गर्न आएन। म फेरि भोलि गृहकार्य पूरा नगरी कसरी विद्यालय जाने भन्ने कुराले मलाई पिरोली रह्यो।
बेलुका बुवालाई गृहकार्य सोध्ने योजना बनाएँ तर बुवा अरु दिनभन्दा त्यो दिन ढिला घर आउनु भएकाले थकित देखिनु हुन्थ्यो। अर्को कोठाबाट आमाको आवाज आयो 'खाना खान आउनु।'
बुवा धरै थकित भएको कारणले भुसुक्कै निदाउनु भएछ। म बुवादेखि धेरै डराउने कारणले गर्दा बुवालाई उठाउने आँट गरिनँ। आमा रिसले रातो मुख बनाउँदै कोठामा आएर कराउनु भयो।
'बोलाएपछि खाना आउनु पर्दैन' बुवा जुरुक्क उठेर झनक्क रिसाउँदै कराउनु भयो। बुवा र आमाको ठूलो झगडा पर्यो। म बुवा र आमाको झगडा हेरेर बसेँ। मलाई नि दिक्क लाग्यो, माथि छतमा गएँ र अब गृहकार्य कसरी गर्ने भन्ने कुराले मनमनै पिरोली रह्यो।
भोली बिहान भयो जति जति विद्यालय जाने समय नजिकिँदै थियो, मेरो मुटुको धड्कन पनि बढ्दै थियो। म त्यो दिन समयमै विद्यालय पुगेँ। सरले गृहकार्य नगर्ने जति उठ्ने भन्नुभयो।
म सधैँ झैँ जुरुक्क उठेँ। त्यो दिन सबैले गृहकार्य गरेका रहेछन्। मैले मात्र गृहकार्य नगरेको देखेर आफूलाई लाज लाग्यो। सरले ठूलो स्वरले मलाई कराउनु भयो।
मैले रुन्चे स्वरमा भनेँ 'सर, मैले गृहकार्य गर्न खोजेको त होनि तर मलाई सधैँ डर र लाजले गर्दा आफूले नबुझेको कुरा कहिले पनि सर र बुवालाई सोध्ने आटँ गर्न सकिनँ।’
मेरो मुखबाट त्यस्तो कुरा सुनेर सरले मलाई हेरिरहनु भयो। सबै साथीहरु मलाई ट्वाल्ल परेर हेरिरहे। सरले मुसुक्क मुस्कान दिँदै भन्नुभयो 'धत् लाटा, आफूले जानेको छैन भन्दैमा सोध्न डराउने हो त! डरको तोड नै हिम्मत हो।'
सरले मुस्कानका साथ भन्नुभयो। मिठो मुस्कान देखेर मेरो मनबाट 'डर' हरायो।
सरले फेरि भन्नुभयो, 'जिन्दगी यस्तै नै त होनि, आफ्नो गल्ती र कमजोरी सुधार्दै समस्याको समाधान खोज्दै हिँड्न सके मात्र हाम्रो जीवन सफल र राम्रो हुन्छ।
हाम्रो समाजको सोच अनुसार जो मान्छेले धेरै धन आर्जन गर्छ, त्यो मान्छैलाई नै सफल र राम्रो मानिस भनेता पनि जो मानिस असल, इमान्दार र आत्मविश्वासी छ, त्यो व्यक्तिले नै जीवनमा सफल हुन्छ।’
कुनै पनि समस्या एउटा मिठो मुस्कान र थोरै हिम्मतबाट समाधान हुने कुरा मैले त्यो दिन सिके।