म
एउटा सानो सहरको
सबैभन्दा ठूलो सडकको बीचमा उभिएको छु-
मेरो दायाँ र बायाँबाट
लगातार
कसैका लागि 'सास' बोकेर,
कसैको अलिकति बाँच्ने आस बोकेर
अनि
जो सकेनन्
उनीहरुको लास बोकेर
साइरन बजाउँदै
एम्बुलेन्सहरु
कुदिरहेछन्।
एम्बुलेन्सको त्यो
कर्कश आवाजको `इको´ ले प्रताडित भएर
जब
मेरो मनको घरमा डरले डाँका डाल्छ,
जब
मेरो चेतनाको कौसीमा
एक्लोपनको कालो बादल मडारिन थाल्छ,
म
चुपचाप घर फिर्छु
र
आफ्नो भद्दा ज्यान
अनि बोझिलो टाउको
सोफाको काखमा हुत्त्याएर
टिभीको अगाडि बस्छु।
हरेक साँझ
मेरो शासकको एकजना पिउसो
ङिच्च दाँत देखाउँदै
आफ्नो मालिकको दूत बनेर
हजारौं असहायहरुको यमदूत बनेर
टिभीको पर्दामा आइपुग्छ
र खेल्छ
मुर्दा गन्ने खेल।
ऊ जसै बोल्न सुरु गर्छ
कसैको सिउँदो पुछिन्छ,
कसैको लागि भाइटीका सकिन्छ,
कसैको घर मात्रै रहन्छ घरका रहन्नन्,
कोही टुहुरो हुन्छ,
तर...
तर ऊ निष्फिक्री भट्याइरहन्छ... गनिरहन्छ...
उसका लागि
यी चोटहरुको कुनै दुखाइ छैन
यी मान्छेहरुको कुनै अस्तित्व छैन
ती तमाम मान्छे
जो
एउटा नालायक शासकको सनकका कारण मरे
अकर्मण्यताका कारण मरे
अक्षमताका कारण मरे
अहमका कारण मरे
आफ्नै रगतको मसिले कोरिएको
फगत
तथ्यांकमा सीमित छन्।
ओ दम्भी शासक!
म ती हजारौँ मान्छेको चितामा बलिराखेको
तातो खरानीमा
तेरो भविष्य देख्दै छु!