जारी नै रह्यो यात्रा तर, शिखर चाहिँ कहिल्यै भेटिएन
सफलताको चुरो कहाँ छ, खै? प्रदुषणले केही देखिएन।
कालरात्री रहेसम्म यहाँ, साँचो इतिहास नि लेखिएन
काला दिन गए भन्छन्, खै त? कालो इतिहास मेटिएन।
रुप फेरियो महाशयको, तर व्यवहार चाहिँ कत्ति फेरिएन
अन्धकारकै भ्रम पो हो कि, काया पनि प्रष्ट देखिएन।
सबैको मुहार हँसिलो देख्ने, मृगतृष्णा कहिल्यै मेटिएन
धोका सधैँ पाइएकै हो उफ! यसपालि नि चेतिएन।
लुटेरा लुकेका महलहरु, खै त अझसम्म पनि घेरिएन
लालपूर्जामा अझैसम्म नि, नाम हाम्रो किन लेखिएन?
हिमालकै काखमा बसेँ, तर पनि तिर्खा भने मेटिएन
प्रवाह मै बग्दै रहें तर, किनार भने कहिल्यै भेटिएन ।
संसार हाँस्ने हाँसो हेर, आफ्नै अनुहारमा चैाहिँ देखिएन
दुखको बेसाहा खै किन हो? पर-पर कहिल्यै टेढिएन।