'भाइ, तिम्रो रामपुरमा नाम निस्क्या छ है, बधाई छ!' लगभग रातको दुई बजेतिर मलाई कल आएको थियो।
म कृषि विश्वविद्यालयबाट इन्ट्रान्स दिएर काठमाडौँ फर्कँदै थिएँ। नतिजा दुई बजेतिर आउने कुरा अग्रज दाइहरुबाट पहिले नै थाहा पाइसकेको थिएँ। हो रैछ। म खुसी हुँदै बसको सिटमा ढल्कँदै निदाउन थालेँ।
फेरि फोन बजिहाल्यो। मैले उठाएँ।
'भाइ, तिम्रो रामपुरमा नाम निस्क्यो है, बधाई छ। मलाई चिनेऊ? म चरिकोटको दाइ हो। यही पढ्छु। अब दाजुभाइसँगै बस्नुपर्छ।'
मैले सुनिरहेँ अनि 'हुन्छ' मात्र फर्काइरहेँ। मनमनै खुसी नि भएँ, बिरानो ठाउँमा आफ्नै दाजु! मख्ख परेँ।
म प्याकेजमा चितवन-काठमाडौँ गरेको हुनाले मेरा साथै रहेका साथीहरू पनि मलाई बधाई दिँदै थिएँ। म उनीहरुसँगै रम्दै थिएँ, फेरि फोन बज्यो।
उहीँ बोली एउटै वाचन। थप्दै भने- 'भाइ, तिम्रो दाइ राजेश हैन? म र उसले सँगै १२ पढ्या हो। ल आफ्नै भाइ रहेछ, सँगै बस्न पर्छ यता आएसी रामपुरमा।'
मैले ‘हस्’ मात्र फर्काएँ।
चर्को रुपमा विद्यार्थी संगठनका अग्रजबाट यसरी फोन आउने कुरा मैले विस्तारै थाहा पाउँदै गएँ। राजीतिक धुवाँ अचाक्ली नै हुँदो रहेछ। विद्यार्थी सहायताको लागि भनेर फोन गरिने रहेछ।
राति-दिउँसो जुनै समय, घण्टी बजेको बज्यै। भर्खरै प्लस टु पढेर आएका विचरा केटाकेटी हामी, वाक्कदिक्क हुने। अझ घरपरिवारका अन्य सदस्यहरुलाई पनि फोन आएको देखेर त छक्क पर्नु।
सयोगार्थ सँगसँगै सांगठनिक दायित्व भनौँ या राजनीतिक टकराब, उनीहरुको बाध्यता हुँदो रहेछ। एकजना दाइ त मलाई घरमै भेट्न आउने प्रस्ताव राख्दै थिए, मैले ठाडै नकार्देँ। अझ महिला साथीहरूलाई त झनै गाह्रो हुँदो हो। यसैउसै नभए धम्की समेत दिन पछिपर्दा रहेनछन् अग्रजहरु।
सबल पाटो के भने, हाम्रो नयाँ परिवेशमा हामीलाई सहयोग गर्न तछाडमछाड गर्दै सबै तम्सँदा रहेछन्। एउटा साथीको त भर्ना गर्ने पैसा नहुँदा त्यही संगठनका दाजुदिदीले आफै हालेर भर्ना गरेदिएका थिए, नत्र उसको भर्ना क्यान्सिल हुन सक्थ्यो।
विश्वविद्यालय छिरिसकेपछि पनि कस्तो विडम्बना, कुनै एउटा संगठन रोज्नै पर्ने। म स्वतन्त्र तवरले विद्यार्थी मात्र भएर बस्छु भन्न नपाइने। संगठनका आफ्नै मूल्य मान्यता होला, कम्तीमा मूल्यांकन गरेर निर्णय लिन त पाउनु पर्ने होनि। तर पनि जसले सहयोग गर्यो उसकै संगठनमा बस्न पर्ने रे!
जबर्जस्ती गर्न पाइन्छ? हेप्नी? भन्न पनि नसकिने हामी नयाँले। अझ गाह्रो त के भने नि, स्वतन्त्र ढंगले लाग्दा कसैबाट पनि न सहयोग पाइने न अवसर! अझ साथित्व भाव गराउन पनि सजिलो नहुँदो रैछ।
यो कस्तो ठाउँ हो जहाँ विचारको कदर हुँदैन, लोकतान्त्रिक विचारक इन्ट्रान्समा सहयोग गरेकै भरमा कम्युनिस्ट विचारकसँग मिल्न पर्ने? अनि कम्युनिस्ट लोकतान्त्रिक? मलाई बडो अजीव लागिरह्यो।
अब संगठनको कुरो गरौँ। मैले अब कुनै संगठनसँग हात मिलाएँ अनि संगठनको सदस्य पनि भएँ। म हिजोको जाबो कलिलो प्लस टु विज्ञान पढेर आएको मान्छे, न मलाई संगठनको नामै थाहा छन काम नै।
म अब त्यही पार्टीको माथिसम्मको नेतृत्वको गुणगान गाउने भैसकेछु। संगठनको पूरारुप थाहा नहुने म पार्टीको गुणगान बजाउन थालेँ। हरेक आफ्ना संगठनका गतिविधिलाई आँखा चिम्लेर ताली दिन थालेँ, सहर्ष स्वीकार्दै जान थालेँ।
म अब विद्यार्थी कम कार्यकर्ता ज्यादा हुँदै गएँ। माथि सरकारदेखि तल्लो लेभलसम्मको सकारात्मक या नकारात्मक कामलाई सपोर्ट गर्नु मेरो जिम्मेवारी हुँदै गयो। विपरीत संगठनको हुँ भने मैले जसरी नि विरोध गर्नुपर्ने कर्तव्य भएो।
मैले विद्यार्थीका गुण भुल्दै गएछु। मलाई राजनीति ज्यादा, पढाइ कम मनपर्न थाल्यो। खै! विश्वविद्यालयको वातावरण नै यस्तै भएर होकि? विद्यार्थी त भैगयो, शिक्षक, कर्मचारी जे-जति छन्, सबैले राजनीतिक खोल ओडेको प्रष्ट देख्दै गएँ।
मलाई भविष्यमा नेता बन्नु थिएन तर परिस्थितिले मलाई सानो-तिनो झोले नेता बनाइसकेको थियो। विचारमा कम, आसेपासेमा ज्यादा ध्यान दिन लागेछु। सांगठनिक गतिविधि पनि हुँदै गए। विस्तारै बाहिरी जनहरुसँग चिनजानी हुँदै गयो।
अग्रज वैचारिक रुपले मेलखाने नै भनौँ, उनीहरुसँग भेटघाट बाक्लिदै गयो। एकखाले सामाजिक संजालमा नि दिनै पर्ने, आफ्नो पक्षमा आएका समाचारहरु छाती फुलाउँदै शेयर गरिन्थ्यो। विपरीत आए कटाक्क्ष गरिन्थ्यो, सत्यतथ्यको मतलब लाग्दैन थियो।
मेरो नेतृत्वलाई कसैले नकारात्मकभन्दा मलाई नै दुख्ने भैसकेको थिएँ। बेलाबेला त मलाई मेरा पार्टीका नेतृत्व नै भगवान नै हुन् कि भन्ने नि लाग्थ्यो। उहाँको हरेक गतिविधि मन पर्ने, गलतलाई गलत भन्न नसक्ने खै कस्तो प्रेम बस्यो यो?
देशलाई नै असर पार्ने निर्णय भएपनि म अग्रपंक्तिमा त्यस्ता क्रियाकलापलाई बचाउन पुग्थेँ। कसैले विरोध गरेको खण्डमा आफूले सकेजति पेल्न खोज्थेँ चाहे त्यो सामाजिक संजालमा होस् या अन्य कतै। कतै-कतै मलाई झोलेको उपमा पनि दिन पछि पर्दैन थिए मान्छेहरु तर मलाई यसको कुनै परवाह थिएन।
एक दिनको कुरा, हाम्रै जिल्लामा अवस्थित आरएमसी हस्पिटलमा डाक्टरहरु र हामीसँगै आवद्ध भएका लोकल दाइहरुको लफडा परेछ। बिरामीको राम्रो स्याहारसुसार नभएको या यस्तै केही विषयलाई लिएर झडप परेछ।
डाक्टरहरु घाइते भएको कुरा मैले पनि थाहा पाएँ। हाम्रा दाजुहरुकै गल्ती भएकोले उनीहरुलाई प्रशासनले कारबाही गर्ने निर्णय गरेछ। त्यसको विरुद्धमा आन्दोलन गर्ने निर्णय भएछ।
हामीलाई पनि खबर आयो। हामी पनि दायाँबायाँ नसोची आन्दोलनमा होमिन गयौँ। खुबै धमाका मच्चाइयो, अन्तिममा अलि प्रष्ट बुज्दा गल्ती हाम्रै तिरको देखियो।
मैले सोचेँ, हाम्रो कुरै नबुझी जे पनि गर्ने प्रवृत्ति (झोले) यहाँ पनि दोहोरिएको रहेछ।यस्तो देख्दा मलाई पछि अलिकति लाज लागेर पनि आयो।
निश्चित स्वार्थपूर्तिका लागि अरुले हामीजस्ता युवालाई कसरी योजना ढंगबाट प्रयोग गर्दारहेछन् भन्ने कुरा प्रस्ट भएँ। व्यक्ति कसरी झोले बन्छ भन्ने शृंखला पनि प्रस्ट देखियो।
युवा जो भविष्यको कर्णधार आज कसरी गलत बाटोमा लगिरहेको छ, सही र गलत छुट्टाउनु कसरी चुकिरहेको छ भन्ने विविध पाटोलाई व्यक्तिले मूल्यांकन गरेर अघि बढ्न जरुरी देखियो।
आफ्नो आस्था हुन्छ, त्यसलाई कसरी सकारात्मक तरिकाले सिरोपर गर्ने, कसरी त्यसमा निखार ल्याउने तिर सोच्नु पर्छ युवाले। आफू कसरी प्रयोग भैरहेको कुरा बुझेर सही र गलत छुट्याउन सक्ने त युवा बन्नुपर्छ नि।
अन्धभक्तो को भैराछ र यसले भविष्यमा व्यक्ति मात्र हैन, देशलाई नै कस्तो असर पार्न सक्छ भन्ने कुरा अहिलेको युवाले बुझ्न आवश्यक छ।