म,
आकाश ओढेर पूरै रात बिताउँछु
धर्ती बिछ्याएर खाट बनाउँछु
बुद्धका जोडी पैँतालाका डोबमाथि
शिरलाई सिरानी बनाएर
जब तिमी सुत्छौ अनि म निदाउँछु।
मसँग मेरो एउटा अर्को परिचय पनि छ
देशले नचिनेको देशप्रेमी
कलमले नचिनेको पागल कवि
म माटोमा कविता लेख्छु
र बाटोलाई सुनाउँछु।
ईश्वर आफै मर्यो कि मारियो होला?
कवि आफै जन्म्यो कि जन्माइयो होला?
मैले त कविता
आमाको कोखमा छँदादेखि नै
लेख्न थालेको हुँ
तर, मैले लेख्ने कविताले मलाई चिन्दैन
उसले त केवल
देशलाई चिन्छ
देशप्रेमीलाई चिन्छ
देशद्रोहीलाई- चिन्छ
मैले लेख्ने कविताले मलाई चिन्दैन।
तिमी केवल
नक्सामा देश देख्छौ
तिमी केवल
झन्डामा देश देख्छौ
तिमीले देखेको देश
केवल नक्सा र झन्डामा छ
मैले खोजेको देश
तिमी देख्दैनौ
जुन तिम्रै हृदयको कुनामा छ।
नसोध, मलाई मेरो- जात
नसोध, मलाई मेरो- औकात
म आफू हराएर आफै खोज्न हिँडेको
मैले लेखेको कविताले पनि नचिनेको
म आफ्नै देशमा देश खोज्न हिँडेको
बेनाम, बेखबर कवि हुँ।
यदि कसैले मलाई फेला पार्यो भने
नजिकैको प्रहरी कार्यालय वा
कुनै ठेगानामा सम्पर्क नगर्नू होला।
मलाई भेट्नेहरुले
म मलाई नै बुझाउनू होला।
किनकि यो
म (देश) हराएको सूचना हो।