उपत्यकाको मुटुभित्र ठड्याइएको स्तम्भ
जहाँ अटल विश्वासका खातहरु हुन्थे
पाँच रुपँयामै अवलोकन गर्न पाउने
त्यहाँका वीरताका विम्बहरूसँगै
विश्वास गर्न लायक थियो मेरो धरहरा ।
परिश्रमी पाखुरीको कलात्मक सृजना थियो
जहाँ स्वाभिमानले हरेक छातिहरु चौँडा हुन्थे
गर्विलो इतिहास जीवन्त हुन्थ्यो
यद्यपि वृद्ध अस्तित्व बचाउन नसकेर
डङ्ग्रङ्ङ ढलिगएको म
धरमरिँदै उठिरहेछु ।
यहीबेला सलाई मागेर घर जलाउनेहरु देखिन्छन् मेरो उचाइबाट
भोकले छट्पटिएका बस्ती
सडकभरि विछ्याएका आशाका थालहरु
जिउँदै जलेका मनहरु
भूकम्पको नृत्यले मत्त भएर ढलेका घरहरु
महामारीले आफन्त गुमाएका वैरागी मनहरु
सप्पै सप्पै म देखिरहेछु ।
यहाँबाट हत्यारा देखिन्छ
न्यायलय देखिन्छ
निसाफ आँखामा कालो पट्टी बाँधेर खुलेआम हिँड्छ
सुनको गजुरले सजिएका मन्दिरभित्र
समृद्धिका वरदानहरू
योजनाका फाइलभित्र कुर्सीमा टाँसिएर बस्छन् ।
त्यसैले प्रिय धरहरा
ढलेर उठ्नुको दृष्टान्त बनिदेऊ
तिम्रो उचाइ जत्रै आवाज उचाल्न
जन जनमा प्रोत्साहन भरिदेऊ
कपटका घोषणापत्र छर्नेहरूलाई मुलुकको अस्तित्व सिकाइदेऊ ।
यत्तिखेर अक्सिजन लेभल घट्तै गरेको म भूईँमान्छे
त्यो मानव लहरमा भरोसाको बतास फेरेर उठ्न चाहन्छु !