आधुनिक प्रविधिको विकास र यसले संसारलाई पारेको अद्वितीय प्रभावबाट हामी नेपाली पनि टाढा रहने कुरै भएन। डिजिटल युगको सुरुआत र यसमा आम जनताको पहुँचले सूचना सम्प्रेषणमा ठूलो योगदान दिँदै आएको छ।
अझ हालको कोभिड-१९ महामारीको विषम् परिस्थितिमा आधुनिक प्रविधि एक भरपर्दो साथी भएको छ। निषेधाज्ञा र लकडाउनले सबै काम, व्यवसाय, कार्यालय बन्द प्रायः छन् र हामी सबैलाई समय कसरी बिताउने भन्ने समस्याको पहिलो विकल्प नै हातको स्मार्टफोन भएको छ।
अधिकाशंको बिहान सुरु हुन्छ मोबाइलको अर्लामबाट। उठ्नासाथ देश विदेशका खबर हेर्नै पर्यो। दिनभर हाम्रो समय मोबाइलकै वरिपरि घुम्छ र दिन सकिन्छ। हामी दिनभर निगुर मुन्टि 'न' हुन्छौं तर भर्चुअल दुनियाँमा भने आफूलाई राम्रो 'म' देखाउन हाम्रो हरमग्धुर प्रयास रहन्छ।
मुख्यत: सहरी र अर्ध सहरी क्षेत्रमा यो प्रवृत्ति केन्द्रित छ। यदि मोबाइल र कृषि पेसालाई तुलना गर्ने हो भने के-कस्ता समानता तथा अन्तर आउलान् त, त्यसलाई हेरौं है त। यो एक व्यङ्ग्यात्मक विश्लेषण मात्र हो।
कृषि कर्मका प्रमुख पक्ष हुन्- खेत वा मेलो, हली, बाली, खेताला, आदि। लकडाउनको यो समयमा प्रत्येक मानिसले कम्प्युटरजन्य साधनमा बिताएको समयलाई खेतीसँग तुलना गरे कस्तो होला त? वर्तमानमा हर कोही कसरी आधुनिक हली भएका छन् त?
कृषि कर्म गर्न सर्वप्रथम त खेत वा मेलो नै चाहियो। लकडाउनको यो समयमा हाम्रा खेतबारी भएका छन्- मोबाइल, ल्यापटप, ट्याब्लेट, आइप्याड, स्मार्ट फोन, भिडिओ गेम जस्ता कम्प्युटर जन्य सामाग्री।
खेतमा हामी उब्जनी लगाउन खन्ने, जोत्ने, हिल्याउने, लिडुल्को लाउने, आली भित्ता तास्ने, डल्ला फोड्ने आदि काम गर्छौं। केही समयको स्याहारसुसार र हेरचाहपछि खेतबारीमा अन्न उब्जनी हुन्छ। फसलको रुपमा धान बाली, कोदो फापर, मास, गहुँ आदि भित्र्याइन्छ।
अचेल हामी हाम्रा आधुनिक खेतमा/अनलाइनमा समाचार पढ्ने, सामाजिक सन्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि) चलाउने, कसैलाई कल/भिडिओ कल गर्ने, युट्युबमा भिडिओ हेर्ने, गेम खेल्ने, फोटो/भिडिओ खिच्ने, टिकटक बनाउने जस्ता सबै कामका लागि मोबाइल अनिवार्य बनेको छ।
फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम, टिकटक आदिमा हुने आफ्ना आइडीको स्याहारसुसार र हेरचाह गरेपछि पाएका लाइक्स, कमेन्ट्स, सेयर, भ्युज, सब्स्क्राइब्सहरु हाम्रा उत्पादन भएका छन्। अपलोड र डाउनडोड नियमित कार्य भएका छन्।
अन्नबालीले भोक मेट्छ र हामीलाई स्वास्थ, तन्दुरुस्त राख्छ। लाइक्स, कमेन्ट्स र भर्चुअल वाहवाहीले हाम्रो आत्मसम्मान, आत्मसन्तुष्टि र प्रतिष्ठा बढाएको प्रत्याभूति दिएकै छ नि हैन?
पहिले पहिले मान्छेहरु कमाएको वा चोरेको सम्पत्ति, पैसा वा गहना माटोमुनि कसैले देख्न नसक्ने गरी लुकाउँथे रे जसलाई कल्याण धन भनिन्छ। नबिर्सियोस् भनेर त्यस्तो कल्याण धन भएको ठाउँमा केही चिनो लगाएर राख्ने चलन हुन्थ्यो। मेहनतको प्रतिफलको हेरचाह हरघढी हुनु स्वभाविक भैहाल्यो।
आधुनिक युगमा मानिस आफ्नो फोन एकछिन नभेटिँदा वा हराउँदा कति आत्तिन्छ! सम्भवत संसारकै सबैभन्दा बहुमूल्य वस्तु हराएजस्तो हुन्छ।
आफ्नो गोप्य तथ्यांकको खुलासा हुने डर, सुरक्षित राखिएका अभिलेखहरु हराउने चिन्ता, आफ्नो सर्च हिस्ट्री, ब्राउज भएका वेबसाइट्स, स्कृनसट्स आदिको गोपनियता जोगाउनु जमिनमुनि गाढिएका धनसम्पतिको सुरक्षाभन्दा कहाँ कम संवेदनशील र महत्त्वपूर्ण छन् र!
यही कारणले मानिसहरु मोबाइल हराउँदा चिन्तित हुने गरेको अध्ययनले पनि देखाएको छ। बेलायतमा गरिएको एक अध्ययन अनुसार मोबाइल हराउने ६६ प्रतिशतलाई नोमोफोविया अर्थात् सेलफोन नहुँदा लाग्ने त्रासबाट पीडित भएको पाइएको थियो। इज्जतको सुरक्षा कवच भनेकै मोबाइलको सुरक्षा भएको छ।
हामी हली अनि मोबाइल खेत। जोताइ गोरुबाट होस् वा ट्याक्टरबाट, हाम्रो उदेश्य धेरैभन्दा धेरै मेलो भ्याउनु हो। धेरै कन्टेन्टमा आँखा पुर्याउनु हो। समय काट्ने बिल्कुलै काइदाको माध्यम भएको छ हाम्रो आधुनिक मेलो।
गोरु घँस्याए (जोत्नुभन्दा पहिले घाँस-खोले दिने काम) धेरै मेलो जोत्छ। मोबाइल धेरै चार्ज गरे, धेरै बेरसम्म चल्छ। साथै हलोले राम्रोसँग जोतेन भने फाली भुत्ते भएको बुझिन्छ र त्यसलाई फेरिन्छ। हाम्रा आधुनिक फाली अर्थात् आँखा कमजोर भए- चस्मा लगाइन्छ, पावर फेरिन्छ। दुवैको उदेश्य धेरैभन्दा धेरै मेलो भ्याउनु नै त हो।
खेतबारीमा काम गर्नु शारीरिक कार्य हो भने मोबाइल चलाउने काम मानसिक रुपमा धेरै र शारीरिक रुपमा कम। शारीरिक काम गरेपछि थाकिन्छ। सकिए नि हुन्थ्यो जस्तो लाग्छ। मोबाइल चलाउने काम भने कहिले नसकिए नि हुन्थ्यो जस्तो लाग्छ। यो त एकप्रकारको नसा भएको छ।
वास्तविक खेतीले आधारभूत आवश्यकतालाई महत्त्व दिन्थ्यो, आधुनिक खेतीले देखावटी, बनावटी र झुटको व्यापारलाई महत्त्व दिएको देखिन्छ। वास्तविक मेलो, खेत अचल हुन्छ, एक ठाउँमा अवस्थित हुन्छ, भौगोलिक बनावटको हुन्छ।
मोबाइल चाहे अनुसार बोकेर हिँड्न सकिन्छ। यस्तो सरल र सहज खेती प्रणालीले प्रख्याती पाउने नै भयो। मोबाइल जन्य मेलोको प्राविधिक बनावट हुन्छ र प्रविधि फेरिरहन्छ। प्राविधिक सीप सिकिराख्नु पर्छ। पैसा खर्च भइराख्छ। तर पनि हाम्रो आशक्ति यतै बढी छ। दिन प्रतिदिन अचम्मको झुकाव छ।
वास्तविक मेलो दिनमा मात्रै सञ्चालन हुन्थ्यो, अहिलेको मेलो दिनरात, बिहान बेलुका, खाँदा बस्दा, हिड्दा, शौच गर्दा जहाँ पनि चलाउन मिल्छ। यो बरदान साबित भएको कुरा यसरी प्रमाणित हुन्छ।
खाद्यान्नको आयात त हाम्रो नियति नै बनेको छ तर आश्चर्यको कुरा त पछिल्लो ८ महिनामा लगभग २५ अर्बको त फोन मात्र आयात भएको देखिन्छ। कृषक त हामी नामका मात्रै रहेछौं। परनिर्भर हली मात्रै रहेछौं, खाद्यान्नमा होस् वा प्रविधिमा।
कृषि पेसामा आवद्ध जनसंख्या हेर्ने हो भने कुल जनसंख्याको ६०.४% आवद्धता देखिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्यांकअनुसार नेपालमा ८७% बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। तथ्यांकले आधुनिक किसान/ हलीको संख्या बढेको र बढ्दै गरेको देखाउँछ।
कोरोना कालमा सबै शैक्षिक संस्था बन्द भएकाले तीमध्ये धेरैले बैकल्पिक शिक्षा प्रणालीको प्रयोग गर्दै अनलाइन शिक्षाको विधिमा प्रयोग बढेपछि यो खेतीमा हलीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। हली त उत्पादन भएका भएकै छन्- फसल कस्तो हुने हो कम्तीमा एक दशक पर्खिनु पर्ला।
हामी वास्तविक खेती छोडेर, आधुनिक खेतीमा आकर्षित भएका छौं। आधुनिक खेती (मोबाइलको) बाट केही मान्छेले जीविकोपार्जन गर्न सफल भएपनि धेरैजसोले पुरानो खेती (वास्तविक कृषि) लाई बिर्सिएका र नयाँ शैलीलाई पनि अंगीकार गर्न असमर्थ भएका कारण अन्नपातका लागि छिमेकीमा हात पसार्ने बेला आएको छ।
कृषि र प्रविधि फरक विषय हुन्, आर्थिक विकासका आधारभूत पक्षहरु हुन् तर हाम्रो झुकाब जसरी उत्पादनबाट उपभोगतिर बढी रहेको छ, यसले भोकमरी र खाद्यान्नजन्य गरिबी मात्रै हैन, प्रविधिजन्य दुर्बलताहरु पनि खडा गरेको देखिन्छ।
नेता र सरकार आफ्नै दुनो सोझ्याउनमा उद्धत छन्, जनता व्यस्त आफ्नै खेतीपातीमा- लाइक्स, कमेन्ट् र भ्युज फलाउन।