तिम्रो सिङ्गो उपस्थिति
मेरो सिङ्गो आयु थियो
तिम्रो उचाइ देखेर
मैले आफ्नो पुड्काइ थाहा पाएँ
तिम्रो अग्लाइले मलाई बग्न सिकायो
तिमी पग्लिएर बनेको गहिराइले
मलाई डुब्न सिकायो
फरक यति हो
तिमी परको हिमाल हौ
म वरको नदी।
थाहा छैन तिमीले कहिल्यै बुझ्यौ वा बुझेनौं। सायद बुझेनौं वा कहिल्यै बुझ्ने छैनौ, यो म जान्दिनँ। तर यो कविता तिम्रो लागि थियो।
हिमालको बिम्बमा तिमी थियौ, नदीको बिम्बमा म थिएँ। तिम्रो उचाइ मेरो अस्तित्व बन्यो, म तिम्रो अस्तित्वमा बाचेँ। कहिलेकाही लाग्छ म बिम्बमा बाचें। तिमीलाई लाग्ला बिम्बमा बाच्न सजिलो छ। छैन भन्न म सक्दिनँ, छ भन्ने मसँग साहस छैन।
तिमीलाई लाग्ला म कवि भएँ र एक लहडी कविझैँ कवित्वमा बोल्दैछु। तिमीलाई लाग्नु ठिकै हो तर म कवि होइन, म त प्रेमी हुँ।
हुन त कवि र प्रेमी हुनुको भिन्नता मलाई थाहा छैन। मैले जे लेखें कवि भएर होइन, प्रेमी भएर लेखें। आज आएर महशुस हुन्छ प्रेममा बाच्नु कवित्वमा बाच्नु रहेछ। सायद तिमी पनि प्रेम नभएर कविता पो थियौ कि?
तिमी एक मौन कविता बन्यौ, मैले त्यो मौनतालाई नै प्रेम गरें। मौनतालाई प्रेम गर्नु एकतर्फबाट हेर्दा तिम्लाई होइन, मेरो आफ्नै प्रतिबिम्बको तिमीलाई प्रेम गर्नु रहेछ।
हुन सक्छ मैले तिमीमा आफूलाई नै भेटेँ। तिमी एक सादा क्यानभाष थियौ, तिम्रो अभिव्यक्ति शून्यतामा थियो। लाग्छ मैले त्यही शून्यतालाई नै प्रेम गरें। केही नहुनुलाई सबथोक हुनु र सबथोक हुनुलाई केही नहुनु ठानें।
तिमीलाई लाग्न सक्छ यो कुनै पग्ली लहडीको अभिव्यक्ति हो। सायद अस्तित्वमा रहेको सबैभन्दा बकमफूसे र बकवास अभिव्यक्ति प्रेमको अभिव्यक्ति नै हो। मैले त्यही गरें।
हुन त मैले तिमीलाई प्रेम गर्छु कहिल्यै भनिनँ। मलाई लाग्यो नदीले हिमाललाई प्रेम गर्छु भन्नु अस्तित्वको नियतीलाई अस्वीकार गर्नु हो। मैले स्वीकार गरिनँ। लाग्यो, म तिमीलाई प्रेमको अभिव्यक्ति नगरेरै पनि तिमीसँगै छु।
तिम्रो उचाइमा मैले आफ्नो गहिराइ नापेँ, मैले तिम्रो अस्तित्वलाई आफ्नै ठानेर स्वीकार गरेँ। स्वीकारोक्तिका यतिका वर्षहरुमा हलचलहरु आए, तिमी पग्लियौ, म बगें। हाम्रा यात्राहरुमा दूरीहरु बढे।
हुन त हामी एउटै बिन्दुका रेखाहरु कहिल्यै थिएनौँ। हामी त दुई बिन्दुबाट आफ्नै यात्रामा निस्केका दुई समानान्तर रेखाहरु थियौँ। देख्नेहरुले हाम्रो यात्रालाई नदीका दुई किनारा ठाने जो कहिल्यै एउटै गन्तब्यमा पुग्दैनन्।
मैले पनि त्यही ठानेँ। त्यसैले मैले आफ्नो नियतीलाई सहर्ष स्वीकार गरेँ। तिम्रो यात्रालाई कतै दोबाटोमा छुटेको मेरो आफ्नै यात्रा ठानेर परबाट हेरिराखेँ।
यात्राको आफ्नै गन्तब्य हुँदो रहेछ। जस्तो कि प्रेमको। प्रेम र यात्रालाई एउटै वृत्तमा राखेर हेर्ने हो भने हामीलाई यी बीचको समानता पक्कै महशुस हुन्छ। यात्राको झैँ प्रेमले पनि हरेक समय नयाँ सहयात्री भेट्छ।
तर हरेक सहयात्रीसँग बिताएको समय हरक्षण नदीमा बग्ने पानीको झैँ हिजोको जस्तो हुँदैन। सायद प्रेममा पनि त्यही हो। यात्रामा झैँ सायद प्रेममा पनि एकको बदला अर्को हुन सक्दैन।
मैले भनिसकेँ, अब हामी दूरीका हिसाबले एक लामो खाडलको अन्तरमा छौँ। अब चाहेरै पनि त्यो खाडल पुर्न गाह्रो छ। एक बिन्दुमा तिमी छौ, अर्को बिन्दुमा म छु। मैले तिम्रो लागि लेखेको कविता झैँ अब तिम्रो अस्तित्वमा म नभेटिन पनि सक्छु।
हुन त गहिराइले उचाइको अस्तित्वलाई स्वीकार्न सजिलो थिएन न उचाइले गहिराइको। साँच्चै भन्दा एकले अर्काको अस्तित्वको कुरा गर्नु एक क्षितिजले अर्को क्षितिजलाई आफ्नै ठान्नु जस्तै हो। अब म त्यही अडानमा बसिरहन पनि सक्दिनँ।
तिम्रो उपस्थितिलाई आफ्नै आयु ठानेर मैले तिमी बिनाको आफूलाई नर्कान खोजेको पनि रहेछु। नर्कानु एउटा कुरा तर हकिकत अरु केही बन्दो रहेछ। भन्छन् नि, समयको वृत्तमा हामी कोही अट्न सक्दैनौं। आज त्यस्तै लाग्दै छ।
हेर्दाहेर्दै मैले तिमी बिनाको आफूलाई स्वीकार्न थालिसकेको छु। थाहा छैन समयको यो सत्यतालाई स्वीकार्नुलाई प्रेमको शास्त्रले कसरी परिभाषित गर्छ, सायद सँच्चा प्रेम पो मान्दैन कि तर म यसलाई यात्रा मान्छु। किनाराको यात्रा।
जसमा रहने डोबहरु किनारामा जस्तै अजम्बरी नबन्न सक्छन्। न म तिमीलाई अजम्बरी बनाउन चाहन्छु न आफूलाई न हाम्रो प्रेमलाई नै।
मलाई लाग्छ सधैँ बगिरहने नदी, सधैँ फुलिरहने फूल र हावाजस्तै मैले तिमीलाई आफ्नो ठान्नु वा प्रेम गर्नु मानव अस्तित्व कुनै अनौठो भुल होइन। यो त हिजो पनि थियो र भोलि पनि रहिरहने छ। बस् तिमी र म रहने छैनौ।
मैले तिमीलाई प्रेम गर्छु पनि भन्न सक्थें तर मलाई लाग्यो, प्रेम गर्छु भन्नु र प्रेमलाई अनुभूत गर्नु दुई भिन्न क्रिया रहेछ। मैले प्रेमको अनुभूत त गरेँ, तर तिमीलाई नै गरेँ म भन्न सक्दिनँ।
सायद तिमीलाई आफ्नै प्रतिबिम्ब ठानेँ र आफैलाई प्रेम गरेँ। आज समयको यो अनौठो अन्तरालपछि म तिमीलाई भुल्न पनि सक्थें। अथवा तिमीलाई एउटा नमिठो सपना ठानेर गाली पनि दिन सक्थें तर म त्यो गर्न सक्दिनँ।
तिमी म भित्रको एउटा त्यस्तो यात्रा हौ जसलाई सम्झिनु मात्र पनि मेरो लागि आफैले पुनारावर्ती गर्न मिल्ने एउटा प्रेमिल यात्रा हो। अब त बिसर्नको लागि हजारौँ र सम्झनको लागि थोरै चिजहरु मात्र छन् मसँग। सदाझैँ किनाराको यात्रा रोजेको छु, कस्तो? डोबहरुलाई सोध।