हिजो उन्माद चढेको बेला
उसले गमला फुटाएको छ,
तिनै टुटेका फुटेका गमला
छिमेकीको माटाले टालेको छ।
सूर्य निभाई उज्यालो खोज्न
सलेदो बत्ती बालेको छ।
विदेशी बिरालाको दर्शन पाउन
धान खुवाइ मुसा पालेको छ!
हिजो, उम्लेर पोखिएको बेला
आफ्ना फूल उखेलेर फालेको छ,
आफ्ना तिनै गमला सजाउन
छिमेकको झार रोप्न थालेको छ।
अरूभन्दा धेरै काम देखाउन
अनलाइन उद्घाटन थालेको छ।
जग्गामा छिमेकीलाई रम्न दिएर
फोटो चाहिँ आफ्नै किताबमा हालेको छ।
हिजो दिमाग सड्केका बेला
कलमीको लहर चलाएको छ
नमिल्ने जातका हाँगाहरू जोड्दा
अङ्गुरमा काँडा पलाएको छ
मिल्ने जातको बोक्रो र हाँगो त
नजिक पर्न समेत डराएको छ।
लटरम्म फल्ने वृक्षमा त आज
जताततै ऐजेरू पलाएको छ,
स्थानीय जातका बिउपोल मासेर
छिमेकीको सिफारिस मौलाएको छ,
हिजो के बोलेँ भन्ने हेक्का नै छैन उसलाई
एक हिसाबले ऊ अब बौलाएको छ।
हिजो उन्मत्त मात्तिएको साँढे
सिङ भाँचेर ठुटो पो पारेको छ,
हिजो पाएको ताज सुनौलो
एकाएक भुइँमातिर झारेको छ
तासको महल त्यो बन्न नपाउँदै
आफ्नै सासले बाङ्गिएको छ
नक्कली अकबर नक्कली राष्ट्रवाद
आज एकाएक नाङ्गिएको छ।
यो त सद्ये छ भन्थे सबैले
आज सर्वत्र उदाङ्गिएको छ।