‘नमस्कार सर!’
यो मानिस फेरि पनि नमस्कार गर्दै मेरो कोठाभित्र छिर्यो। मैले नमस्कारको बदलामा झर्को मान्दै प्रश्न तेर्साएँ, 'तपाईंलाई कतिपल्ट भनिसकेँ कि तपाईंको काम मबाट हुनै सक्दैन भनेर, त्यो जग्गा तपाईंको नाममा सार्न मिल्दैन।'
मैले बस्नुस् नभनिकनै रामशरण थापा मेरो सामुन्नेको कुर्सीमा बस्दै ब्याग खोतल्न थाल्यो। मैले त्यतातिर त्यति वास्ता नदेखाइकन आफ्नो काम गर्न थालेँ।
लगातार २ हप्ता भयो यो मानिस यहाँ आएर मेरो टाउको खान थालेको। उबेला सरकारी जग्गा मिचेर बिल्डिङ ठड्यायो, अहिले त्यो जग्गा छाड्नै मान्दैन। भन्छ, 'मैले सबै कुरा मिलाईसकेँऽ मात्र तपाईंको दुई वटा सिग्नेचर भए पुग्छ...।'
भर्खर छ महिना जतिमात्र भएको थियो यहाँ सरुवा भएर आएको। पहिले यो ठाउँभन्दा केही विकट ठाउँमा सेवा गरेर आएको थिएँ। पहिलेको कार्यालय हेरेर त यो कार्यालय स्वर्ग नै हो मेरो लागि। सबै सुबिधा र बन्दोबस्तले भरिपूर्ण। राम्रो काम र इमान्दारीताले गर्दा नै यहाँ सेवा गर्ने मौका पाएको थिएँ।
केहीपछि यो मानिसले आफ्नो ब्यागबाट त्यही फाइल निकाल्यो र सगँसँगै टेबलमा एक, दुई गर्दै दुई वटा नोटका बिटाहरु निकालेर पछार्दै भन्यो, 'सर, एउटा सिग्नेचरको एक लाख, के छ विचार?'
मलाई निकै डर लाग्न थाल्यो यो मानिसदेखि र रिस पनि उठ्यो। तर केही गर्नुको साटो मैले सम्हालिदैँ भनेँ, 'तपाईं जानुहुन्छ कि पुलिसलाई बोलाउँ?'
'नजिस्कनुस् न सर, ल! त्यसो भए एउटा सिग्नेचरको दुई लाख, अब त मान्नुस्!' फेरि त्यस्तै दुईवटा नोटका बण्डलहरु झिकेर तेर्साउँदै भन्यो।
के गरौँ? लुसुक्क लिउँ? या मार हपारेर भगाउँ? एउटा सिग्नेचरको दुई लाख रे! वर्षौंको मेहनत र कसरत खर्च लाग्ने रकम म मात्र दुई सिग्नेचरको मद्धतले कमाउन गइरहेको थिएँ।
बुढीले घरमा पनि जहिल्यै गाली गर्छे- ' के तलब बोकेर ल्याएको यो? मैले कसरी घर खर्च पुर्याउने? छोराको फिस तिर्ने कि खान लाउन धान्ने? एउटा सानो मंगलशुत्र लगाउँ भनेको पनि जुग बितिसक्यो।
मंगलशुत्रको त कुरै छाडौँ एउटा सानो टप समेत किन्दिएको होइन। यसरी त हुँदैन हौ बुढो, केही गर्नै पर्यो? सँगै काम गरेकाहरुले काठमाडौँमा तीन/चार तलाको बिल्डिङ ठड्याइसके, तपाईं भने भुइँको भुइँमा नै!'
कतिपल्ट त रिसको झोकमा अनेकथरी गाली गरेँ र पिटेँ पनि सुभद्रालाई तर के गर्नु? जति गाली गरेपनि पिटे नै पनि उनको मुख कहिल्यै शान्त भएको होइन। कम्तीमा पनि महिनाको एकदिन त रिसाएर मलाई कराएकै हुन्छे, के तलब बोकेर ल्याएको यो?’
एक मनले त सोच्यो पनि सुटुक्क कोचौँ कि क्या हो ब्यागमा, अनि बुढीलाई पछि भनेजस्तै र भनेजत्रैको मंगलशुत्र किन्दिउँ, त्यो पनि उनकै अघि र रोजाइमा।
तर अर्को मनले भन्न थाल्यो, ‘होइन यस्तो काम गर्नु ठिक होइन। यो मान्छेले चार लाख खर्च गरेर चार करोडको फाइदा लिन खोज्दैछ। सरकारको जग्गा हडपेर। त्यो जग्गा सरकारी हो, सरकारको रोहवरको।’
म दुई मनको द्वन्दमा नै पिल्सिन थालेँ। पहिलो मनले फेरि भन्न थाल्यो, ‘लिन त लि? एकपल्टको लागि मात्र, जाबो दश/पन्ध्र सेकेण्डको काम त होनि। त्यसपछि यस्तो काम कहिल्यै नगर्लास्।’
पहिलो मनलाई हकार्दै अर्को मनले भन्यो, ‘आज तेरो इज्जत छ त केवल इमान्दारीले गर्दा, सोझोपनले गर्दा। भोलि समाजमा घुस लिएको भन्ने छिसिक्क कसैको कानमा पर्यो भने त्यो काम प्रतिको इमानदारीले बढाएको नाक, सँच्चापनले उचोँ बनाएको छाती कसरी पलभरमै गिर्नेछन्?
भूकम्पले ठूला-ठूला बिल्डिङ केही सेकेण्डमा नै लडाए जस्तो। जाबो पन्ध्र सेकेण्डको काम भनेर हात नहाल्? त्यो पन्ध्र सेकेण्डले तेरो पन्ध्र वर्षदेखि जोगाइरहेको इज्जत माटोमा मिल्नेछ। त्यसैले तँ यो पैसा कदापि नस्वीकार?’
म दुवै मनको कुरामा नै रुमल्लिरहेको थिएँ। एक्कासी बीचमा रामशरणले चुट्की बजाउँदै भन्यो, ‘के हो हाकिम सर? निकै बेर सोच्नुभयो त? लिने हो त? केवल दुई वटा मात्र साइन, चार लाखमा।’
मैले टेबलमा त्यसै पडिरहेको चार लाख मध्य दुई लाखको बिटो एक/एक वटा हातमा उठाएँ र रिसले दुवै बिटो एकैपल्ट त्यसको मुखमा पर्नेगरी हुत्याउँदै कराएँ, ‘गइहाल् तँ यहाँबाट? मलाई घुस दिन खोज्छस्?
साला चोर पापले कमाएको पैसा ममा खन्याउन आउँछस्? गइहाल् मेरो अफिसबाट। अब पनि यो काम लिएर आइस् भने तँ घरमा होइनस् सिधैँ खोरमा पुग्नेछस्, साला।’
म यसरी चिच्याएँ कि म चिच्चाएको सुन्ने बित्तिकै उप-सचिव तथा अन्य दर्जाका कर्मचारीहरु एकैपल्ट भित्र छिर्न आए। मैले ठूलै स्वरमा गार्डलाई अर्डर दिँदै भनेँ, ‘रमेश, लैजा यो बेवकुफलाई बाहिर र आइन्दा यहाँ छिर्न दिने होइन। बुझिस्?’
रमेश बुझेँ भन्ने सांकेतिक भाषामा टाउको हल्लाउदैँ त्यो मान्छेको नजिक जादैँ भन्यो, ‘ हिँड्नुस् बाहिर।’
रामशरण केही निहुरिएर भर्खरमात्र मैले फ्याँकेको पैसा टिप्दै र मलाई राता-राता आँखा पारेर हेर्दै धम्कीको लवजमा भन्न थाल्यो, ‘ठिक छ सर, ठिक छ। मैले कस्ता कस्ता गाह्रो काम त सजिलै निप्टाएको छु भने यो त सामान्य। तर जति पनि काम निप्टाएको थिएँ योभन्दा साना या ठूला, यतिको बेइज्जत भोग्नुपरेको थिएन मैले। यो बेइजतको ब्याज सहित तपाईंलाई चाँडै तिर्नेछु, छाड् मलाई?’ गार्डको हात पन्छाउँदै आफ्नो पैसा ब्यागमा कोचेर बाहिरियो।
यो बाहिरिने बेलामा मैले पनि भनेँ, ‘ हेर्छु तेरो फुइँ म पनि। मन सफा छ भने तँ जस्तो कोइलाले कसैको हत्केलामा छिसिक्क कालो दाग लगाउन सक्दैन।'
यतिपछि सबैजना आ-आफ्नो काममा लाग्न थाले। मेरो यो कामको पछिसम्म पनि चर्चा चलिरह्यो। सबै कर्मचारीहरुले मेरो बयान गर्न थाले। जुन बयान मेरो लागि मैले पाउने तलब र त्यो चार लाख घुसभन्दा पनि ठूलो थियो।
तर घरमा सुभद्राले यो कुरा सुनिसकेपछि निकै रिसाइन् र पछुतो पनि मान्न थालिन्, मैले घुस नलिएकोमा। ‘सुटुक्क लिएको भए तपाईंको के जान्थ्यो र?’ रुँदै भन्न थालिन्, ‘हेर, मैले सुनको मगंलशुत्र त लगाउन पाउँथे नि। कस्तो लोग्ने परेछ मलाई त? सरकारी कर्मचारी भनेर मात्र के गर्नू! तलब प्राइभेटमा काम गर्ने पिउनको जस्तो भएपछि।’
मैले कति सम्झाउने प्रयास गरेको थिएँ सुभद्रालाई यस्तो घुस् लिने काम गर्नु राम्रो होइन भनेर तर उल्टै उनले मलाई सम्झाउने हेतुले झकार्थिन्, ‘एकपल्ट लिएर त मरिदैँन थियो होला नि?’
यसरी केही दिन, हप्ता हुँदै महिना पनि बित्दै गयो र यो कुरा पनि दिनसँगै बिलाउँदै जान थाल्यो। मेरो तलब पनि बढ्यो। संचयकोषको पैसा झिकेर नै भएपनि सुभद्रालाई एकतोलाको सानो सुनको मगंलशुत्र पनि बनाइदिएँ।
तर घुस भन्ने चिज मैले कहिल्यै पनि लिइनँ र म भएसम्म यो मालपोत कार्यालयमा घुसको ‘घ’ शब्द पनि हुल्न दिन्न सोच्दै एकचित्त भई आफ्नो काममा नै केन्द्रित हुदैँ थिएँ।
तर समयको परिबन्ध भनौँ या मेरो भाग्यको खेल भनौँ। आज म यही काण्डले गर्दा जेलभित्र कोचिएको छु। एक कलंकको टीका निधारमा लगाएर... ‘घुसियाको।’
एकदिन म आफ्नो कुर्सीमा बसेर धापासीको नक्सा हेर्दै थिएँ। एकजना अपरिचित व्यक्ति मेरो ओठामा छिर्यो। करिब २५/२६ वर्षे अल्लारे प्रकारको केटो हातमा एउटा सानो कालो ब्याग पनि बोकेको थियो। एउटा काम थियो भन्दै पसेको थियो मेरो कोठामा।
सानो ब्याग केही खोतले जस्तो गरेर हेर्यो र कामको मुख्य फाइलनै तल ल फर्ममा बिर्सेछु भनेर दोडँदै गयो। तर आफूसगँ भएको ह्याण्ड ब्याग आफू बसेको कुर्सीमै छाडेर गयो। केही महत्वपूर्ण वस्तु होला ठानेर मैले पिउनलाई बोलाएर उक्त ब्याग सुरक्षित राख्न लगाएँ र आफ्नो काममा लागिरहेँ।
तर सोच्दै नसोचेको र चिताउँदै नचिताएको कुरा, बिना अनुमति लगालग केही मानिसहरु मेरो कोठामा छिरे र सबैभन्दा अघि उभिएको मानिसले एउटा कार्ड म तर्फ तेर्साउँदै भन्यो, ‘हामी अख्तियारबाट आएका हौँ। भर्खरैमात्र प्राप्त सूचना अनुसार तपाईंले चालिस हजार रुपैयाँ घुस लिनु भएको छ रे।’
‘घुस’ शब्द सुन्ने बित्तिकै म छाँगाबाट खसे जस्तो भएँ तर अहँ! डराइन। डराउनुपर्ने काम नै के गरेको थिएँ र मैले? केही सहज हुदैँ भने, ‘तपाईंहरुलाई गलत इन्फर्मेसन मिल्यो जस्तो छ, मैले त्यस्तो केही लिएको छैन।’
‘त्यो त एकैछिनमा थाहा हुन्छ, लिनु भएको हो, होइन भन्ने कुरा। हामीलाई सर्च गर्न दिनुस्? हामी सर्च वारेण्ट सहित आएका छौँ।’ एउटा सेतो पेपर मतर्फ तेर्साउँदै एउटाले भन्यो।
‘गर्नुस् गर्नुस्?,’ मैले निर्धक्कसाथ भनेँ।
एउटाले मेरो पूरा जिउ छामछुम पार्न थाल्यो। मेरो पर्स पनि चेक गर्यो तर छ सय रुपैयाँभन्दा बढी पाउन सकेन। तब पिउन आएर मलाई हेर्दै भन्न थाल्यो, ‘सर त्यो अघिको ब्याग के गर्ने र?’
पिउनको कुरा सकिएको मात्र के थियो तब एउटा अख्तियारबाट आएको मानिस चिच्यायो, ‘कुन ब्याग? लिएर आउ यहीँ हेरौँ हामी पनि?’
केही बेरमै पिउनले ब्याग लिएर आयो। उक्त ब्याग अघिल्तिर बस्नेले अर्कोलाई खोल्न लगायो। जसबाट एउटा रबरले बाधिँएको सानो नोटको बिटो निस्कयो। यसपल्ट मात्र मेरो मुटु जोडजोडले धड्कन थाल्यो र सायद मुख पनि केही रापिँन थाल्यो।
डरायो भने त झन् शंका गर्छन् भन्ने सोची उनीहरुले केही भन्नु अघि नै भनेँ, ‘यो ब्याग त केही क्षण अघिमात्र एउटा २५/२६ वर्ष जत्तिको केटोले छाडेर गएको हो। हराउला भनेर मात्र मैले पिउनलाई राख्न दिएको हुँ, नपत्याए सोध्नुस् पिउनलाई? मलाई त थाहा पनि थिएन की यो ब्यागमा यत्रो पैसा छ भन्ने कुरा।’
मेरो कुरा सकिएकै थिएन, त्यहाँ उपस्थित सबैजना गलल्ल गति नै छाडेर हाँस्न थाले। उनीहरुलाई लागेछ कि मैले कुरा बनाएर गर्दैछु। मैले सबलाई ठूलो स्वरमा भनेँ, ‘चुप लाग्नोस्?’ र फेरि आफ्नो कुरा राख्न थालेँ, ‘नपत्याए तल ल फर्ममा हिँड्नुस्? त्यो केटो फाइल बिर्सें भनेर ल फर्म गएको छ।’
यसपछि ब्याग र पैसा बोक्नेले भन्यो, ‘कुन ल फर्म?’
‘त्यो त मलाई थाहा छैन तर म त्यो मानिसलाई राम्ररी नै चिन्दछु,’ मैले भनेँ।
यसरी हामी सबले घण्टौँ लगाएर प्रायःजसो ल फर्म चहार्यौं तर अहँ! त्यो केटोको अत्तोपत्तो पाएनौँ। अब घुस लिए नलिएको निश्चित गर्न पैसा बोकेको मानिसले थुक लगाइ लगाइ उक्त पैसा गन्न थाल्यो।
ठ्याक्कै यिनीहरुले भनेजस्तै त्यहाँ चालिस वटा हजारका नोटहरु नै थिए जुन मेरो थिएन, कदापि पनि थिएन। मलाई फसाउनको लागि मात्र थियो।
‘हो, मैले नै लिएको हुँ यो पैसा। निकै नै खाँचो परेर लिएको हुँ,’ यसरी सबैसामु मैले यो कुरा स्वीकारेँ।
बच्ने उपाय केही नपाएपछि र म निर्दोष छु भनेर देखाउनको लागि कुनै सबुत नपाएपछि मैले नचाहँदा नचाहँदै घुस लिएको हुँ भनेँ। उनीहरुले मलाई कबुलियतनामामा हस्ताक्षर गर्न लगाए र त्यही पत्रकार सम्मेलन गरी मेरो धज्जी पनि उडाए।
नखाएको विष ममा लाग्न पुग्यो। बिहान घरबाट निस्कदाँ सुभद्रालाई छिट्टै आँउछु भनेर आएको थिएँ तर म घर पुग्नै नपाई सिधैँ जेलमा कोचिन पुगेँ। मलाई रुन त तब मन लाग्यो जब मेरा आफ्ना कर्मचारीहरुले समेत मेरो बारेमा एक शब्द पनि कुरा गरेका थिएनन्। आशा त थियो उनीहरुले केही भनिदिनेछन्, तर कोही केही नबोलेपछि मैले घुस लिएको हुँ भनेँ।
सब कर्मचारीको आँखामा आँखा जुधाएर हेरेँ, केही त बोलिदेऊ तिमीहरुको सर सोझो छ भनेर भन्दै। तर अहँ! कसैको मुखबाट एक शब्द समेत छुटेन। उनीहरुले यति पनि सोच्न सकेनन् कि ४/४ लाखमा नबिक्ने मानिस जम्मा चालिस वटा हजारमा बिक्न सक्दैनन् भनेर।
यो खबर सुनेपछि सुभद्रा निकै घण्टासम्म रोइन् रे! म जेल परेपछिको केही दिनमानै रामशरण थापा मलाई भेट्न आयो। कसैले नसुन्ने गरी मेरो कान नजिक आएर भन्यो, ‘सर, तपाईंले मेरो मुखमा मेरै पैसाको बिटोले हिर्काउनु भएको थियो नि? हो यो सबै परिणाम त्यही बिटोको ब्याज हो सर ब्याज। मैले त तिर्छु भनेकै थिएँ त्यो बेला।
केही ढिला त अवश्य भयो तर त्यसको सट्टामा स्याज पनि त चुक्ता गरेँ नि मैले। हा...हा...हा...। एउटा खुसीको कुरा, नयाँ सचिवले मेरो काममा साइनहरु गर्दिसक्नु भयो। त्यो पनि एउटा हस्ताक्षरको जम्मा बीस वटा हजारमा।’
यसको कुरामा यसपल्ट मैले केही भन्न र प्रतिकृया जनाउन सकिनँ। भन्न र गाली गर्न त सकेँ, मनमनै त्यो पनि नयाँ सचिव भनाउँदोलाई।
‘साला, कुकुर घुसिया।’
घुसीया त म पो कहलिएको छु त। तर बाहिरी दुनियाँको लागि। मेरो मनमा र सुभद्राको नजरमा त म निर्दोष नै हुँ।
सुभद्रा जेलमा दिनहुँ आएर निकैबेर रुने गर्छे र आए पिच्छे नै भन्ने गर्छे, ‘यो तपाईंले के गर्नु भयो? किन घुस लिएको भन्नुभयो? म, मान्दिनँ तपाईंले यस्तो काम गर्नुहुन्छ भनेर। ४/४ लाखमा नगल्ने तपाईंको मन जाबो चालिसवटा हजारमा गल्यो भन्दा म कसरी पत्याउँ?
भन्नुस् न तपाईंले घुस लिएको होइन भनेर?’ तर म उनलाई केवल एउटा मात्र जवाफ दिएर फर्काउने गर्छु, ‘सबै समयको खेल हो सुभद्रा... समयको खेल!'