कुखुरी काँ
बासीभात खाँ
खोई मेरो बासीभात?
बिरालोले खायो...
तर हाम्रो घरको बिरालो यति भाग्यमानी थिएन कि उसले बासीभात खान पाओस्। किनकि, त्यो बासीभात हामी आफैँ भुटेर खान्थ्यौँ।
उसैपनि बासीभात खाएर पेट भरेपछि ऊ मुसा मार्न किन जान्थ्यो? जे होस् भातमा एउटा नशा पक्कै छ। त्यसैले त घरका मुसा, बिरालादेखि हामी सबै त्यसैको प्राप्तिको संघर्षमा थियौँ र छौँ।
जन्मेर ६ महिना कटेपछि अन्नप्राशन भनिएको भातप्राशनको दिन पहिलो पटक मुखमा परेको भातको लत यसरी बस्यो कि अब सायदै छुट्ला। बरु हाम्रो रक्सी, चुरोटको कुलत केहीगरी छुट्ला तर भातको त कुन्नी, मुस्किलै छ।
दिनभर अनेकथरी पेटै फुट्नेगरी खाएपनि तातो भात नखाएसम्म निन्द्रा आउँदैन। अरु खाना वास्तवमा सहायक खाना हुन् वा खाना नै होइनन्, त्यसैले होला व्रतको दिन फलफूल, जुस, रोटी पेटभर खाएर बसेपनि भात नखाएसम्म त्यसलाई केही नखाई नै व्रत बसेको मानिन्छ र भात खाएपछि मात्र व्रत तोडेको मानिन्छ।
भातको कच्चा पदार्थ चामल हो। चामल मोटा, मन्सुली, टाइचिन, बासमती, पोखरेली, मार्सी, च्याँख्ला, सेतो, खैरो, रातो जस्तोसुकै होस् अनि दाउरा, गुइँठा, भुस, ग्याँस, करेन्ट जेसुकैमा पकाइयोस्, पाकेपछि त्यो बन्ने भात नै हो।
पकाउने चामल हो, भात हैन। तर पनि हामी चामलले पकाउने भात नै हो भन्ने निश्चितप्रायः छौँ र ढुक्कका साथ सोध्छौँ, 'भात पाक्यो?'
भात हाम्रो लागि जति अपरिहार्य भएपनि यो आफैँमा पूर्ण आहरा भने हैन। यसलाई पूर्णता दिन तरकारी र भएसम्म दाल र अझ अचार पनि चाहिन्छ। अचम्म त के भने चाहे जतिसुकै उच्चकोटीको चामलको भात किन नहोस्, भातमात्र खाइँदैन।
अनि जति नै थरी र जेसुकैको तरकारी किन नहोस्, भातबिना तरकारीमात्र खाइँदैन। त्यसैले त दाल, भात, तरकारी, अचार जे-जे पकाए पनि पाक्यो, पाकेन जान्नको लागि सोधिने प्रश्न हो- भात पाक्यो?
ती सबै चिज खायो, खाएन जान्न सोधिने प्रश्न हो- भात खानु भो? भात पाक्यो, भन्नाले स्वभावतः बुझ्नुपर्यो कि तरकारी पनि पाक्यो र भात खायो भन्नाले स्वभावतः उसले तरकारी पनि खायो।
भात सबै खानाको प्रतिनिधि हो। यसैले त घरमा चाहे रोटी पाकोस् वा ढिँडो पाकोस्, ढिँडो खान आइजो वा रोटी खान आइजो भनी बोलाइँदैन। भात खान आइजो भनिन्छ।
कसैले राम्रो शुभेच्छा प्रकट गर्दा हामी प्रत्युत्तरमा तपाईंको मुखमा दूधभात वा घ्यूभात भन्छौँ। भात कसैले नकार्दैन भन्ने हामी ढुक्क छौँ।
हाम्रो जीवनमा भात यति अन्तरघुलित हुँदा पनि पकाउँदा भने यसलाई अलिकति हेला गरेको पाइन्छ। जस्तो कि यसको सहायक तरकारी पकाउँदा पाक्यो कि पाकेन, मिठो भयो कि भएन भनेर अलिकति झोल मुखमा हालेर अझ मासु भए त झोल हैन चौटै खाएर परीक्षण गरिन्छ। तर भात भने दुई औँलाले क्याच्च किचेर जाँचिन्छ, कसैले चाखेर परीक्षण गर्दैन।
भातको आर्थिक सामाजिक पाटो पनि छ। सबै वर्ग समुदायले खाने भातले समानता दर्शाए पनि यसको भौतिक आवरणले भात खानेको वर्ग करिब करिब निर्धारण गर्छ। सामान्यतया मोटो र छोटो भात खाने निम्न वर्ग, औसत लम्बाई र मोटाइको भात खाने मध्यम वर्ग अनि मसिनो र लामो अरुसँग नटाँसिने भात खाने उच्च वर्ग।
अपवादमा कहीँ कसैले भातलाई भुजा पनि भन्ने गरेको पाइन्छ, जसको एउटा विशेष फाइदा छ। त्यो हो, भात खानेलाई गाली गर्दा भाते वा भातमारा भनेर गाली गरिन्छ तर भातलाई भुजा भनेर खाँदा कसैले भुजे वा भुजामारा भनेर गाली गर्दैन।
जन्मनुअघि गर्भमै रहँदा हाम्रा लागि भनेर आमाले अलिकति बढी भात खाएर सुरु भएको भातसँगको हाम्रो सम्बन्ध मृत्युपर्यन्त कायमै रहन्छ।
जिन्दगीभर भातकै लागि दौडधुप र संघर्ष गरेर प्राण त्यागेका हाम्रा पितृलाई हामी वार्षिकरुपमा नियमित भात नै डल्लो पारेर पिण्ड चढाउँछौँ। ढिँडो डल्लो पारेर वा अरु केही खानेकुरा चढाउने हर्कत हामी गर्न सक्दैनौँ।
चटामरी, लाखमरी, योमरी जस्ता खानेकुराका नाम सुन्दा सानोमा लाग्थ्यो भोकमरी पनि कुनै खानेकुराको नाम हो। तर यो त केही पनि खान नपाउने दुःखद अभिशाप रहेछ।
भात नै मात्र खानेकुरा हो भन्ने मानक स्थापित हुँदा कतिपय अवस्थामा भोकमरी वास्तवमा भातमरी मात्र हो। भातको महिमा अपरम्पार हुँदाहुँदै पनि भातबाहेक अन्य स्थानीय उब्जनीलाई खानाको रुपमा अलि अलि ग्राह्यता दिँदै जाँदा भोकमरी त नभनौँ, भातमरी केही हदसम्म अन्त्य होला कि?