विक्रम संवत् २०६५ सालको त्यो दिन झमझम झरी परिरहेको थियो। म एकजना साथीसँग सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालयमा थिएँ। त्यस्तैमा अपरिचित मोबाइल नम्बरबाट फोन आयो, उठाएँ। आवाज स्पष्ट थिएन।
‘जीवनको अन्त्यमा हजुरको आवाज एक पटक भनेपनि सुनौँ भनेर फोन गरेकी। जान अन्जानमा कुनै गल्ती गरेकी भएँ माफ पाउँ। भगवानले चाहे अब अर्को जुनीमा भेट होला, बाई बाई।’
फोन नाटकीय ढंगमा टुंगियो। मेरो शरीर, मन सबै चिसो भएर आयो।
फोनमा भएको कुराकानीको विषयले परिचित व्यक्ति जस्तो लागेपनि आवाज कसको हो ठ्याक्कै चिन्न सकेको थिइनँ। हुलाक कार्यालयको टिनको छाना झरीले बजिरहेको थियो। यही हल्लाले होला सायद स्वर ठम्याउन गाह्रो भएको।
मसँग त्यसो भन्ने को होला भनेर सरसर्ती केही अनुहारहरु सम्झिएँ। त्यस्तै भन्नुपर्ने त कोही थिएनन्। आवाजको आधारमा एकजना किशोरीको हुन सक्नेमा शंका लाग्यो र साथीलाई तुरुन्तै जाउँ भने।
‘यस्तो झरीमा!’- साथीले नाक खुम्च्यायो।
‘आकाशै खसेपनि जानुपर्छ कुमार,’ मैले जोड दिएँ।
सायद मेरो अनुहारको भाव देखेर हो कि कुमारले नाईंनास्ती गरेन। झरीले चुर्लुम्म डुबाएको काठमाडौँको सडकमा साथीले बाइक कुँदायो, अत्यन्त तीव्र गतिमा।
किशोरीको घरमा पुग्यौँ, धन्न मूलढोका लगाइएको रहेनछ। उसको कोठाको ढोका ढक्ढकाएँ, भित्रबाट लगाइएको थियो। केही प्रयासमा पनि ढोका नखुलेपछि बरन्डातर्फ गएर झ्यालबाट भित्र चिहाएँ। सोफा नजिकको भुइँमा ऊ सर्लक्क पल्टिएकी थिई।
अब मेरो हंशले ठाउँ छोडिसकेको थियो। ढोका फोर्ने कुरा भयो। साथीको दुई लातले नै ढोका खुल्यो। हलचल नगरी पल्टिएकी उसको मुखबाट फिँज आइरहेको थियो।
शरीर जीवित थियो वा मृत मैले अनुमान लगाउन सकिनँ। साथीलाई तत्काल ट्याक्सी लिएर आउन भनेँ। म पनि किशोरीलाई बोकेर उसको पछिपछि बाटोमा निस्किएँ।
मेरो शरीर दुब्लो पातलो थियो, तौल ५४ केजी। कहिल्यै पनि मलाई आफ्नो शारिरीक बलमा विश्वास थिएन। तर त्यतिखेर भने मझन्डै ५० केजीको त्यो किशोरी शरीर बोकेर काठमाडौँ सामाखुसीको भित्री सडकमा कुँदिरहेको थिएँ।
एकछिनमा साथी ट्याक्सी लिएर आइपुग्यो र हामी ठमेलस्थित मनमोहन अस्तपाल पुग्यौँ। ‘पोइजनिङ हो, तपाईहरु बाहिर बस्दिनुस्’ भनेर इमर्जेन्सी कक्षमा डाक्टरहरु आफ्नो काममा लागिहाले।
हामी बाहिरै पर्खिरह्यौँ। झन्डै चालीस मिनेटपछि किशोरीको होस आएको खबर आयो, तर हामी भित्र जान पाएनौँ। त्यसको झन्डै बीस मिनेटमा हामीलाई भित्र बोलाइयो।
जब साथी र म भित्र पुग्यौँ, उसले मलाई अँगालोमा बेरी र रुँदै भनी- ‘म मर्न चाहन्छु, प्लिज मलाई मर्न दिनुस।’
इमर्जेन्सी कक्षको क्युविकल पर्दा हटाइसकिएको थियो। त्यहाँ भएका डाक्टर, नर्स तथा अन्य बिरामीका आँखाहरु हामीतर्फ केन्द्रित थिए। ऊ भने बेपरवाह के-के के-के बोलीरहेकी थिई। उसको अँगालो झन् कसिलो बनेको थियो।
म असमञ्जसमा थिएँ, कुमार अन्तै कतै टोलाइरहेको थियो। हामी तमासाको पात्र बनेका थियौँ र मलाई त्यो क्षण ज्यादै बोझिलो लागेको थियो।
उसको जीवन खतरामुक्त छ भने डाक्टरले। त्यो नै सबैभन्दा खुसीको कुरा थियो। जे भएपनि ऊ बाँची। उसलाई वार्डमा सारियो। त्यतिबेला ती किशोरीकी आमा भाइलाई लिएर केही दिनको लागि काठमाडौँ बाहिर जानुभएको रहेछ। बुबा वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो।
आमालाई खबर गर्नको लागि उसँग सोधेँ। ‘मामु एक/दुई दिनमा आइहाल्नु हुन्छ, त्यतिबेलासम्म हामी पनि ‘डिस्चार्ज’ भएर घर गइहाल्छौँ,’ उसको तर्क।
तर मैले उसकी आमालाई फोन गरेँ। के भनौँ के भनौँ भयो। मनमा के आयो कुन्नी- ‘ग्रीष्मालाई ‘फुड पोइजनिङ’ भएको रहेछ। अस्तपाल ल्याएका छौँ, अहिले ठिक छ, भनेँ। उहाँले सकेसम्म छिटो आउने प्रयास गर्छु भन्नुभयो।
मलाई भने त्यो भोलि कहिले आउला जस्तो भइरह्यो।
कथाको सुरुआत यस्तो थियो।
काठमाडौँमा भाडाको कोठामा बस्दा, घरबेटीको परिवारसँग राम्रो सम्बन्ध थियो। एउटै परिवारको सदस्य जसरी बसेका थियौँ। चाडबाडमा सँगै खाने, कहिलेकाहीँ सँगै घुम्न जाने पनि गर्थ्यौं। यसै क्रममा उहाँका आफन्तहरुसँग पनि चिनजान बढ्यो।
घरबेटी दिदीको तीन जना दिदी-बहिनी हुनुहुन्थ्यो। उहाँहरुको घरपनि नजिक नजिकै थियो। समयक्रममा सबैजनासँग मेरो चिनजान भयो, घरमा आउजाउ पनि हुन थाल्यो। दिदीहरुका छोराछोरीहरुको जन्मदिनको अवसरमा हुने भेटघाटले परिचयलाई घनिष्ठ बनायो, पारस्परिक आत्मीयता बढायो।
दिदीहरुमध्ये कान्छी दिदीकी छोरी अलि सानै थिइन्, त्यस्तै बाह्र, तेह्रकी। उमेरजन्य चञ्चलता थियो। चोकतिर घुम्न जाऔँ न भनिरहन्थिन्। चट्पटे, पानीपुरी र ठेलामा बेच्न राख्ने मःम आदिमा खुब रुची थियो। साँझको समयमा म पनि कहिलेकाहीँ उनीसँग चोकतिर घुम्न निस्कन्थेँ।
उमेर सानै भएपनि कुरा ठूला-ठूला गर्थिन्, बडो परिपक्व मान्छेले जस्तो। कुराकानीमा कहिलेकाहीँ ‘शास्त्रमा यस्तो छ रे’ भन्ने।
'तिमी त हजुरआमा जस्तै कुरा गर्छौ,' म कहिलेकाहीँ जिस्काउने गर्थेँ।
‘अब म सानो छु त? मेरो मामुको त चौध वर्षमै बिहे भएको, म पनि त तेह्र वर्ष पुगेँ,’ यस्तै यस्तै भन्ने गर्थिन्।
उनको विद्यालय बिदाको कुनै दिन, काठमाडौंको वसन्तपुर घुम्न गएका थियौँ। उनको पेन्टिङमा खुब रुची थियो। एसएलसी सकिएपछि थान्का पेन्टिङ सिक्छु भन्थिन्।
वसन्तपुरतिरका पसलहरुमा राखिएका पेन्टिङहरु खुब चासोका हेर्दै घुमेर धेरै समय बितायौँ। दरबार स्क्वायर सेरोफेरोमा हिँडिरहेका थियौँ, अचानक ऊ मेरो पछिल्तिर आएर कसैसँग छेलिने प्रयास गरी।
‘किन के भयो र?’ मैले सोधेँ।
‘मेरा साथीहरु’- ऊ विस्तारै फुस्फुसाई।
‘अनि साथीहरु देख्दैमा लुक्नुपर्छ त?’
‘त्यही पनि तिनीहरुले देखिसके।’
‘जाऊ न त कुरा गर एकछिन।’
‘भैहाल्यो, अब तिनीहरु गैसके’ एकछिन रोकिएर फेरि भनी- ‘तिनीहरुले अब के-के सोचे होलान्!’
मैले उसले भन्न खोजेकी कुरो बुझेँ। त्यतिबेला म २५ वर्षजतिको थिएँ, ऊ झन्डै बाह्र/तेह्रकी बालिका।
‘सँगै हिँड्दैमा कसैले केही सोच्ने प्रश्नै आउँदैन।’ मेरो मनमा यस्तै केही आएको थियो। उसले मेरो दाहिने पाखुरा चपक्क समाएर आवाज लाडे पारेर भनी- ‘ज-जसले जे-जे सोचे पनि सोचोस!’
सायद यो उसको बालिकाबाट किशोरी अवस्थामा संक्रमण हुँदै गर्दाको मनोभाव थियो।
ऊ प्रायः कोठामा आइराख्थी। कहिले ‘म्याथ’ सिकाइदिनुस् भन्थी, कहिले स्कुलको ‘प्रोजेक्ट वर्क’मा सहयोग चाहियो भन्थी। पानीपुरी र चट्पटे खान चोकतिर जाने कुरा त भैहाल्यो। कुनै कुनै दिन सिनेमा हेर्न पनि जान्थ्यौँ। उसका कुराकानी अनौठा हुन्थे, कहिले बच्चाको जस्तो, भने कहिले ठूलो मान्छेको जस्तो।
यसरी नै दिनहरु बिते, वर्षहरु बिते। उसले एसएलसी पास गरी। बुझ्नको लागि कलेजहरु हेर्न जाँदा ऊसँग म पनि हुन्थेँ। उसको बाबा वर्षको एकपटक बिदामा आउनु हुन्थ्यो र एक महिना जति घरमा बसेर फर्कनु हुन्थ्यो।
पढाइ सम्बन्धी यस्ता काममा सहयोग गर्न उहाँले नै मलाई भन्नु भएको थियो। मैले नै सिफारिस गरेको क्याम्पसमा ऊ एघार कक्षामा भर्ना भई।
घरतिर मेरो बिहेको कुरा चल्न थालेको थियो। आफन्तहरुबाट ‘केटी हेर्न’ जाने प्रस्ताव आउन थालेका थिए। मैले घरबेटी दिदीसँग पनि यसबारे कुरा गरेको थिएँ। उहाँले मलाई कुनै आफन्त केटी देखाउन लैजानु भएको थियो। त्यो कुरा उहाँका दिदी बहिनीको घरमा थाहा नहुने कुरै भएन।
उहाँहरुका छोराछोरीहरु बिहेको प्रसंग ल्याउँदै मलाई जिस्क्याउन थालेका थिए। केटी हेरेर फर्केको केही दिनमा उसले मलाई ‘केटी कस्तो लाग्यो त?’ भनेर सोधेकी थिई।
मैले एकदम मनपर्यो भनेर भनेँ। त्यतिखेर उसले खुब झपार्ने शैलीमा भनेकी थिई-‘नगर्नुस् त्योसँग बिहे, मान्छे नक्कली छ, प्र्याक्टिकल पनि छैन, मैले नचिनेको मान्छे हो र त्यो?’
‘किन नि? मलाई त केटी खुब मन पर्यो,’ म थोरै जिस्किन खोजेँ।
‘राम्री हुँदैमा अनुहार चाटेर जीवन कट्दैन क्यारे! जाना जान दुःखको सागरमा हाम्फाल्न खोज्नेलाई के भन्ने?’ यतिखेर पनि उसले आफ्नो हजुरआमा शैली देखाएकी थिई।
केटी हेर्न गएपनि ऊसँग मेरो बिहेको कुरो चलेन। केटीले अध्ययनको लागि विदेश जाने तयारी गरेको बताएकी थिई। त्यसो त त्यो शिष्ट अस्वीकृति पनि हुनसक्थ्यो।
देशमा पहिलो संविधानसभाको चुनावको माहौल थियो। म चुनावको लागि गाउँ गएको थिएँ। चुनाव सकिएर काठमाडौँ फर्किने तयारी गर्दैगर्दा मेरी दिदीले ‘केटी हेर्न’ जाने प्रस्ताव गर्नुभयो गाउँतिरै। म दिदीको घरतिर लागेँ र त्यतैबाट प्रस्तावित केटीको घरतर्फ गयौँ।
सामान्य कुराकानी भएपछि हाम्रो बिहे हुने निश्चित भयो। कामकुरो छिटो उम्काउने भनेर एकदुई दिनमा नै ‘इन्गेजमेन्ट’ गर्ने र त्यसको एक हप्तामा नै बिहे गर्ने छिनोफानो गरियो। बिहे काठमाडौँबाट नै सामान्य किसिमले गर्ने सम्झौता पनि भयो।
यसरी संविधानसभाको चुनावको लागि भनेर गाउँ गएको म बिहेको लागि ‘इन्गेजमेन्ट’समेत सकेर काठमाडौँ फर्किएँ।
सामान्य ढंगले बिहे गर्ने भनेपनि अलिअलि किनमेल गर्ने, आफन्त तथा साथीभाइलाई निम्ता गर्ने आदि काममा व्यस्त भएँ। यस काममा घरबेटी दिदी र उहाँका बहिनीहरुको परिवारले पनि पूरै सहयोग गर्नुभयो।
बिहेको दुईदिन अघि ग्रीष्मा मेरोमा आई। धेरै कुरा गरी, बिहेपछि यस्तो अल्लारे पाराले चल्दैन भनी। कमाइ र बचतको सन्तुलनदेखि बच्चाको तयारीसम्म योजना बनाएर गर्नुपर्छ भनी।
एकातर्फ, उसको परिपक्व कुरा सुनेर अचम्म लागेको थियो भने अर्कोतर्फ उमेर अनुसार नसुहाउँदो कुरा सुनेर हाँसो पनि लागिरहेको थियो। तर मुस्किलैले हाँसो नियन्त्रण गरी उसका कुराहरु सुनिरहेँ।
‘मेरो बिहेमा के लुगा लगाउँछौ, ग्रीष्मा?’
‘जे लाए पनि, बेहुलीभन्दा तीन गुणा राम्री भएर आउँछु, बेहुलोलाई पछुतो लागोस्’ उसले आँखा झिम्काउँदै उत्तर दिई।
बिहेको कार्यक्रम बालाजु पार्कमा तोकिएको थियो। मेरो तर्फबाट निम्तालु त्यस्तै ३०/३५ जना मात्रै थिए। निम्तालु सबैजसो आएपनि मैले त्यहाँ ग्रीष्मालाई देखिनँ। उसको आमालाई सोधेँ।
‘खै, औँसी पूर्णे लागेको होकि, के हो? बिहानैदेखि एक शब्द नबोली बसेकी छे।’
बिहेमा मात्र होइन, त्यसपछिको भोजको कार्यक्रममा पनि ऊ आइन। मैले एकाध पटक फोन सम्पर्क गर्न प्रयास गरेँ तर जहिल्यै उसको मोबाइल अफ हुन्थ्यो। उसको ममी अनि उहाँका दिदी बहिनीको परिवार सबैलाई थाहा भयो कि, ग्रीष्मा मेरो बिहेमा आइन र मसँग बोल्न पनि छाडी।
बिहेको झन्डै एक महिनापछि मलाई ग्रीष्माको मोबाइलबाट फोन आयो, उठाएँ।
‘म हजुरको घर बाहिर आएको छु, एकछिन तल आउनु न।’
म झरेँ। उसले ‘आई एम सरी’ लेखिएको कार्ड दिई। मैले माथि नै जाउँ न भने। एकछिन अनकनाए पनि ऊ आई। मैले नवविवाहिता सम्झनासँग परिचय गराएँ। समय मिलेको बेला आउन मान नखोज है, पनि भनेँ।
त्यसपछिका दिनहरुमा ऊ लगातार जस्तै आइरही। त्यतिखेर सम्झना स्नातकोत्तर पढ्दै थिइन, पढाइ बिहान हुन्थ्यो। ग्रीष्माको पनि बिहान नै।
दुवैजनाको घर फर्कने समय एउटै भएकाले पनि भेटघाट सहज भयो होला। ती दिनतिर उनीहरु सँगै खाना खाने र घण्टौँसम्म कुरा गरेर बस्थे। के कुरा हुन्थ्यो भनेर मैले कहिल्यै सोधिनँ।
कहिलेकाहीँ भने म पनि कुराकानीमा सामेल हुन्थेँ। असारको पहिलो हप्ताको कुनै दिन थियो, प्रेम विछोड र आत्महत्या बारे कुरा चलेको थियो।
‘प्रेममा असफल भएँ भनेर आत्महत्या गर्ने काँतरहरुलाई त मेरो सामान्य सहानुभूति पनि हुँदैन’- ग्रीष्माको तर्क थियो।
कुराकानीपछि कुमार र म पोस्टअफिस तर्फ गयौँ। ग्रीष्मा आफ्नै घरतिर गई। हामी पोस्टअफिस पुग्दा झमझम पानी पर्न थाल्यो। र त्यहीबेला अपरिचित नम्बरबाट आएको फोन ग्रीष्माको रहेछ।
उसको अस्पतालको बसाइ केही दिन लम्बिने भयो। मर्नको लागि खाएकी ‘मेटासिड’ नामक विषले मार्न नभ्याए पनि उसको शरीर धेरै गलाइसकेछ। तर त्यो विषबाट ऊ खतरामुक्त भइसकेकी थिई र उसको मामु पनि आइसक्नु भएको थियो।
त्यस्तैमा दुई जना नर्स त्यहाँ आए र उसको ‘प्रेग्नेन्सी टेस्ट’ गर्नुपर्ने कुरा गरे। ‘कुरा के हो? के गर्ने हँ?’- उसको ममीको आवाज रिसले कामेको थियो। तर ऊ केही बोलिन।
आएका दुईमध्ये एक नर्स भने मलाई एकोहोरो हेरिरहेकी थिइन्। ग्रीष्मालाई अस्पताल लगेको दिनदेखि नै त्यहाँका केही नर्सहरु मलाई हेरेर कानेखुसी गर्थे। त्यतिखेर पनि मलाई हेरिरहने नर्सको कानैमा अर्की नर्सले केही फस्फुसाई।
मलाई फेरि दिक्क लाग्यो। त्यस्तैमा पहिली नर्सले मतर्फ हेर्दै भनिन्- ‘ज्वाइँसाब होइन?' नमस्ते आदानप्रदान भयो।
‘म सम्झनाको भाउजू, उता ठूलो बुबातिरको के’- उहाँले आफ्नो परिचय दिनुभयो। बिहेको दिनमा मात्र देखेकाले हुनसक्छ, मलाई अनुहार खासै परिचित लागेन।
भाउजूलाई अस्पतालमा भेटेर मलाई झन् तनाव भयो। ग्रीष्माको यो दुर्घटनाबारे सम्झनालाई भनेको थिइनँ। अब भने मलाई आकाश खसेर थिचेको जस्तो भैसकेको थियो।
जतिखेर ग्रीष्माको कोठाबाट उसको झन्डै-झन्डै मृत शरीर बोकेर सडकमा कुदिरहेको थिएँ, त्यतिखेर आफू एउटा भयानक दुर्घटनाको ‘ट्रयाप’मा परिसकेको जस्तो लागेको थियो।
त्यतिखेर मनमा यस्तो आएको थियो- ‘यदि यो केटी मरी भने, त्यसको दोष पूराका पूरा ममाथि पर्ने निश्चित जस्तै छ। मेरो बिहे लगत्तै ग्रीष्मामसँग बोल्न छाडेकी उसको परिवार तथा आफन्त सबैलाई थाहा छ। उसले अन्तिमपटक मलाई नै फोन गरेकी थिई।
उसको बन्द कोठा फोरेर भित्र छिर्ने पनि म, अनि यतिखेर उसको झन्डै मृत शरीर बोकेर म नै कुदिरहेको छु भने शंकाको घेराबाट म बाहिर पर्ने कुरै आउँदैन्। मेरो जिन्दगी त डुब्यो, डुब्यो।
बिहे गरेको दुई महिना पनि भएको छैन्, यस्तो के आइलाग्यो? परिबन्ध भनेको सायद यसैलाई भन्छन् क्यारे। हे भगवान! म निर्दोष छु।’
भगवानको अस्तित्वप्रति विश्वास गर्न छाडेको झन्डै बाह्र वर्षपछि म त्यतिखेर भगवान पुकार्दै थिएँ।
अब ऊ त ठिक भई, तर यो सब हल्ला मेरो ससुरालीतिर पनि फैलने भयो भनेर मलाई तनाव भयो। धन्न ‘प्रेग्नेन्सी टेस्ट’को नतिजा नेगेटिभ आयो। उसकी ममीले लामो सास फेर्नु भयो।
हामी सबैले राहत महशुस गर्यौं। एकछिन घर जान्छु, बाबुहरु बस्दै गर्नु है भनेर ममी निस्कनु भयो। मलाई भने यी सब घटनाको पछाडि को छ भन्ने कुराले भित्रैबाट सताउन थालेको थियो।
केही बेरमा उसले मोबाइल हेर्दै भनी- तल विवेक आएको छ रे!
‘को हो नि यो विवेक भन्ने जन्तु?’- कुमार बोल्यो। यो नाम मलाई पनि नौलो थियो।
‘त्यही गधाले त हो नि, मलाई हजुरको बिहेमा पनि जान नदिएको’ उसले अझै थपी, ‘खाली किचकिच गरिरहन्छ। रिलेसनशिपमा हुँदैमा उसले जे भने पनि मान्नु पर्ने? कहिलेकाहीँ त अति गर्छ।’
‘अनि अस्तिको ‘मेटासिड’को स्पोन्सर पनि ऊ नै हो?’ मैले सोधेँ।
‘क्लासमा पनि कोसँग बस्, कोसँग नबस् भनेर किचकिच गरिराथ्यो। त्यो दिन बिहानैदेखि झगडा परिराथ्यो। विष खा’र मर भन्यो, मैले पनि रिस उठेर खाइदिएँ। यो एक वर्षमा मैले कति टर्चर सहेँ, भनी साध्य छैन’ उसको आँखा आँसुले भरियो।
घटनामा त्यो नामको प्रवेशसँगै ऊसँग खुब रिस उठ्यो। त्यति नै बेला अधवैंशे महिला र एक किशोर हामी बसेको ‘क्याबिन’मा आइपुगे। जब त्यो किशोर नै विवेक भएको थाहा भयो। कुमारले यति कसेर उसलाई झाप्पु हान्यो कि, ऊ ढुन्मुनिँदै बरन्डासम्म हुत्तियो।
‘तपाईंको यो पशु छोराले गर्दा मेरो साथी अकारण जेलमा सड्नु पर्ने अवस्था आएको थियो। यो तीन दिन हामीले कम टेन्सनमा बितायौँ’- कुमारले उसकी आमातिर हेर्दै भन्यो।
उहाँ केही बोल्नु भएन। किन हो कुन्नी, ग्रीष्माको आमा पनि फर्केर आउनु भएको रहेछ। सबै कुरा नसुनेपनि उहाँले रहस्य बुझ्नु भयो।
त्यसपछि उहाँले कस्तो महशुस गर्नुभयो कुन्नी, मलाई भने ठूलो समस्याबाट मुक्त भएझैँ लाग्यो।