जीवनको गोरेटोमा अनायासै भनौं
या भनौं मर्जी थियो भावीको
थाहा छैन मलाई
कहीँ कतै भेट भयो हाम्रो
तर जे होस्,
मिले थियो मलाई
आफ्नोपनको आभास हाम्रो भेट पश्चात
तिम्रो दु:खमा हुन्थे म आहत भित्रैबाट
तिम्रो खुसीले मिल्थ्यो मलाई अलौकिक सुख
लाग्थ्यो यो हाम्रो सम्बन्ध हो जुनी जुनीको
तर संयोग कस्तो यो
जीवनको गोरेटोमा
आज तिमी कहाँ म कहाँ
सायद समयको खेल हो
या हो मेरो भाग्यको नियति
माफ गर मलाई
सकिनँ म तिम्रा चालहरूमा हिँड्न
कदममा कदम मिलाई
व्यस्त तिम्रो जीवन हो कि मेरो
खुट्याउनै गाह्रो भयो मलाई
तर जे होस्,
भुल्न सक्ने छैन मैले
तिम्रो त्यो मन्द मुस्कान सहितको सामिप्यता
अनि मायालु स्पर्श
जुनेली रातको शितलतामा
सधैं हुन्छ आभास तिम्रो चोखो मायाको
वर्षा यामको झरीले
दिलाउँछ याद तिम्रो मायालु स्पर्शको
बिहानीपखको पारिलो घामले
सम्झाउँछ मलाई तिम्रो मायालु हेराइको
लाग्छ छैनौ तिमी मदेखि टाढा
सायद यही नै हो मिठो अनुभूति
साँचो अनि चोखो मायाको
सपनीमा सधैं आई तिमी
चियाई जस्केलाबाट जिस्क्याउछौ मलाई
मात्र यो सपना हो, भ्रम हो मेरो
थाहा छ मलाई
जो हुन सक्दैन कहिले पूरा
जो हुन सक्दैन कहिले पूरा।