१. बाटो
देशको रक्षार्थ सिपाही भएका उपल्ला घरे ठूले
नयाँ नेपाल बनाउँछु भन्दै
समृद्ध नेपाल बनाउँछु भन्दै
क्रान्तिको झोला बोकेर हिँड्ने
तल्लाघरे साने
हाँडेभिरमा पड्किएको बमको छर्रा लागेर
दुबैजना एकैपटक घाइते हुँदा
उपचारको लागि
एकैपटक अस्पताल पुर्याइएपछि
नर्सका कोमल हातहरूले
सलाइन चढाइएपछि
पट्टी बाँधेर औषधि चलाइएपछि
फरक उद्देस्य बोकेका ठूले र साने
एउटै औषधिले एकैपटक निको भएपछि
उनीहरूलाई लाग्यो
बम र औषधिका न कुनै शत्रु हुँदा रहेछन्
न कुनै मित्रहरु नै ।
गर्भवती श्रीमती छाडेर
भविष्य खोज्न परदेशिएका कार्की दाइ
घरमा छोरी जन्मिएको खबर पाए या पाएनन् कुन्नि
तर बर्षौ बितिसक्दा पनि घर फर्केर आएनन्
समयसँगै हुर्किएकी छोरीले
घरछेवैमा फुलेको गोदावरीको दुई थुङ्गा फूल मध्ये
एक थुङ्गा फूल टिपेर
‘बाबा छित्तै घल फल्केल आउनू है’ भन्दै
मन्दिरमा चढाएको भोलिपल्टै
छेउघरकी साइँली आमाले
एउटै सुगन्ध दिने
गोदावरीको अर्को थुङ्गा फूल
भरखरै आँगनीमा ल्याएर राखिएको
काठको बाकसभित्रका कार्की दाइमाथि चढाउँदै गर्दा
उनलाई लाग्यो
भविष्य खोज्न परदेशिने कार्की दाइहरू
घरदेशिने बाटो भनेको
काठको बाकस पो रहेछ ।
अस्पतालबाट सिटामोल किनेर
लौरो टेक्दै फुर्तिका साथ
घर फर्किदै गरेका
नब्बे बर्षे हजुरबाले
भरखर विष सेवन गरेपछि
उपचारका लागि अस्पताल लगिँदै गरेको
एमबिबिएस पढ्दै गरेको
चौबिस बर्षिय नाति
बीच बाटोमा भेटेपछि
उनलाई लाग्यो
कमजोर हातहरूले बनाएका बाटाभन्दा
कमजोर मनहरूले बनाएका बाटाहरू
दर्दनाक पो हुँदारहेछन् !
२. छाता !
शरदको समय
घरहरु मात्र होइन प्रकृति पनि
रङ्गिन भएका छन्
तर म भने
शिशिर यामको बूढो रुख झैं
रङविहिन मन बोकेर
साँझको पेट भर्न
आफ्नै झुपडीमा
काजी बाको नाउँको रङ पोतिरहेको छु ।
सयकडा दसको ब्याजमा
सत्र बेते भैंसी
सपना फुलाउन
गोठ पसेको भोलिपल्टै
कुम्भकर्णको चीर निद्रामा परेपछि
आफ्नो नाउँको यही झुपडी
काजी बालाई सुम्पिएदेखि
घाम फुलेर नझरेसम्म
शीत फुलेर नओइलाएसम्म
मेरा एकजोर अँनिदा आँखाहरू
पिरको कुवामा डुबेका छन् ।
अभावले घुम्रिएको कपाल
असमानताले ठोकिएको निधार
शोषणले कलेटिएको अनुहार
विभेदले कोतरिएको मुटु
संस्कारले कुप्राएको ढाड
भोकले सुकेको पेट
र
दुःखले चिरिएका एकजोर पैताला
कतै बिसाउने ठाउँ नपाएपछि
हिँड्दैहिँड्दै आज
हजुरको महलको गेट अगाडि
आइपुगेको छु
साँझ झमक्कै भएछ
पुग्नुछ टाढा
पानी परिरहेको छ त्यसैले
कमरेड !
एउटा छाता
सापटी दिनुहोस् न !
३. पराई !
परी कस्तो हुन्छ ?
जव बच्चाहरू प्रश्न गर्छन्
म तिमीलाई सम्झन्छु
कहाँ जादैछौ ? मीठो मान्छेले सोधेपछि
नभनूँ पनि कसरी ?
म जहाँ पुगे पनि
मेरो गन्तव्य भनेको तिमी नै हौ ।
तिमीसँग भेट भएको यही बाटो मनपर्छ
अचेल मलाई तिमीसम्म पुग्ने
यही बाटोको कथा मन पर्छ ।
मभित्र एक चिज कमी छ
त्यो तिमी हौ !
तिमीलाई मभित्र अटाउँ भनेर
तिम्रो नाम चटपट त कहिले चकलेट राखेँ
तिमीलाई मनपर्छ भन्ने सुनेकै भरमा
म सवथोक भैदिएँ !
आँखामा राख्नेहरू दिलमा सजाएपछि
मनमा पहिरो जानूको विकल्प रहेनछ
मन भत्किएपछि एउटा गीत बन्यो
मलाई यही गीत मनपर्छ
अचेल मलाई यही गीत जन्माउने कथा मन पर्छ ।
आँखामा बसेकाहरू
ओझेल परेपछि हराउँछन्
मनमा बसेकाहरू
ओझेल परेपछि मात्र उदाउँछन्
तिमी त मेरो दिलको मान्छे
तिमी छुटिएपछि नै
मेरो प्रेमको उदय भएको हो
अब त सपनामा मात्र हाम्रो भेट हुने निश्चित भएको छ
झुटो नै किन नहोस्
तिमीलाई देख्ने सपना मनपर्छ
अचेल मलाई तिमी आउने सपनाको बाटो मनपर्छ ।
भूकम्प जस्तै तिमी
पसेर मभित्र मलाई नै भत्कायौ
मलाई भत्काउन गरेका एकएक प्रयासहरू
जगमा राखी
प्रेमको घर बनाएको छु,
मैले बनाएको प्रेमको घर
माग्छौ भने दिन तयार छु
तर विन्ति छ नमाग
किनकि मेरो प्रेमको घर नै तिमी हौ
मलाई प्रेमको यो घर मनपर्छ
अचेल मलाई प्रेमको घर बन्दाको यही कथा मनपर्छ ।
सबै राम्राले मन छुँदैनन्
मन छुने सबै राम्रा हुँदैनन्
मनले माया र हृदयले प्रेम गरेको तिमीलाई
कागतको फूल लेखेर
तिम्रो मन छुन नसक्नु
आफ्नै कमजोरी ठानेको छु
ओ प्रियसी !
सिक्काका दुई पाटा जस्तै हामी
सँगै भएरपनि सँगै नहुने
अचेल मलाई
यही सिक्काको कथा मन पर्छ ।
धारो भेटेपछि
जसरी गाग्री भरिन्छ
तिमीसँग भेटभएपछि
त्यसरी नै म भरिन शुरु गरेको हुँ
अकस्मात् धारो सुकेपछि
गाग्री अधुरै रह्यो
मबाट तिमी छुटेको दिनदेखि
म पनि अधुरै रहेँ
र त्यही दिनदेखि
जहाँ तिमीले छोडेर गएकी थियौ
त्यहीँ उभिएर
मेरो जिन्दगीमा
तिमीले कुच्चिएका पैतालाका डोबहरू
नियाल्दै
अन्तिमपटक सोध्न मन छ तिमीलाई
फूलमान्छे !
तिम्रो आफ्नोसँग त्यस्तो के थिएन ?
जो मसँग भेट्यौ !