'ओइ, मेरो स्कुल त बिदा दियो यार! तेरो के भयो?' खुसीले फोनमा कराउँदै सतिसको साथीले भन्यो।
'हो? पर्खी है म पनि फोने गरेर स्कुलमा सोध्छु।'
सतिसले चाँढो चाँढो हतारिँदै स्कुलमा फोन लगायो।
'गुड मर्निङ, श्री शान्ति निकेत स्कुल,' स्कुलको पालेदाइले फोन उठाएर भने।
'हेलो दाइ, आज स्कुल बिदा छ?' सतिसले खुसी हुँदै सोध्यो।
अलि इरिटेट हुँदै पालेदाइले 'एसेम्ब्ली सुरु हुन आँट्यो, चुप लागेर स्कुल आउने' भनेर फोन ढ्याप्प राखिदिए।
'ओइ हाम्रो त बिदा दिएन' निराश हुँदै सतिसले आफ्नो साथीलाई भन्यो।
'ह्या आज न जा, घरमा भनिदेन पानी परेको कारणले क्लासमा सब पानी भरियो, त्यही भएर आज स्कुलले छुट्टी दियो। ममीलाई के थहा हुन्छ र!' सतिसको साथीले आइडिया दियो।
यस्तो आइडिया जुन साथीले दिन्छ, बुझ्नु कि सबैभन्दा हरामी साथी हो त्यो भनेर। तर यस्तो साथी भएन भने जिन्दगीमा यादहरु हुँदैनन्।
'ल' भनेर सतिसले भन्यो।
'ल तँ खाना खाएर बल्छी लिएर आइज, माछा मार्न जानुपर्छ' अलि विस्तारै कसैले सुन्लान् कि भनेर सतिसको साथीले विस्तारै बोल्यो।
'ल' भनेर सतिसले फोने राख्यो।
'ममी, आज पानी परेको कारणले क्लासमा सब पानी भरियो रे, त्यही भएर स्कुलले छुट्टी दियो' सतिसले साथीको आइडिया कपी पेस्ट गर्दै आफ्नो ममीलाई फटट भन्यो।
'अलिकति पानी पर्यो, स्कुल बिदा दिइहाल्नु पर्ने कस्तो स्कुल हो!' सतिसको ममीले रिसाउँदै कराउनु भयो।
'म हेडमास्टर हो र? मैले बिदा दिएको हो र?' सतिसले आफ्नो ममीलाई जित्न खोज्यो।
'ममी खाना पस्किदिनु न' सतिसले कराउँदै भन्यो।
भात खाइसकेपछि सतिस बल्छी लुकाउँदै आफ्नो साथीकहाँ गयो।
दुवै जना पोखरीमा छाता ओढ्दै माछा मार्दै थिए। तब पछाडिबाट कसैले 'सतिस, सतिस' भन्दै बोलायो। सतिसले कसले बोलाएछ भन्दै पछाडि फर्कियो।
एकछिन सतिसको सास तलको तल, माथिको माथि अड्कियो। सतिसको क्लास-टिचर सतिसलाई बोलाउँदै हुनुहुँदो रहेछ।
सतिस केही नसोची त्यहाँबाट भाग्यो।
'ल बुढोले देख्यो, अब म मरेँ। भोलि मलाई मार्छ त्यसले। अस्ती एउटालाई उखुले हानेको थियो' सतिसले डराउँदै उस्को साथीलाई भन्यो।
'म घर जान्छु यार, घरमै बस्छु बरु दिनभरि' भन्दै सतिस घर गयो।
'हा हा हा... नतर्सी न, केही हुँदैन! भोलि भन्देन सर म त कोही किड्न्यापर आयो कि भनेर भागेको, हजुरलाई चिन्नै गाह्रो भयो भनेर।'
'तेरो कुरा बेक्कारमा मानेको! स्कुल नै गएको भए हुने रैछ' सतिसले रिसाउँदै भन्यो।
त्यो रात सतिस डराएर सुत्न सकेन। भोलिको दशा के होला, त्यो सोचेर सुत्नै सकेन।
हे भगवान! भोलि मलाई बचाउनुस्, म अब कहिले स्कुल बंक गर्दिनँ। म राम्ररी पढ्छु। हे भगवान! प्लिज!' सतिस भगवानसँग सम्झौता गर्न थाल्यो।
भोलि बिहानै उठेर सतिस पढ्न थाल्यो। घरमा सबै छक्क। के भएछ यसलाई भनेर।
खाना खाएर सतिस स्कुल गयो। सतिसको मनमा धेरै कुरा चलिरहेका थिए। घन्टी बज्यो। सतिस क्लासमा गयो, पाइला पाइलामा सतिसलाई डर लागिरहेको थियो।
बेन्चमा बस्यो। क्लास-टिचर आउनु भयो। सतिसले क्लासटिचरलाई हेर्यो। क्लास-टिचरले सतिसलाई हेर्नु भयो र भन्नु भयो 'हिजो तिमी आएको थेएनौ, म तिम्रो नयाँ क्लास-टिचर।