हामीसँग नैतिकता रहेनछ
त्यसैले गरिबी मौलाउँदो रहेछ
कल्पनाको घोडा चढेपछि
नचढ्नेहरू पनि सगरमाथा पुग्दो रहेछ।
बुद्धको देशमा बुद्धिको अनिकाल भएपछि
आफैमा विवेकको हाहाकार हुँदो रहेछ
राष्ट्र निर्माताको शालिक ढालेपछि
यहाँ क्रान्ति पूरा भएको ठानिँदो रहेछ।
कृषकले मल नपाए पनि,
बजेटले आकार लिंदो रहेछ
छहरेको वेगमा बगेको नदी
सत्ताको दम्भमा बहकिँदो रहेछ।
ज्ञान र विवेकमा अडेको संस्कृति
विदेशी डिग्रीमा भड्किँदो रहेछ
वैज्ञानिक शिक्षा कोरा कागज बनेपछि
बुर्जुवा शिक्षा भरोसा बन्दो रहेछ।
बिरामी ल्याउन चलखेल गर्ने अस्पताल
कहिले त बिरामी देख्दै भाग्दो रहेछ
दुःखमा सहयात्रीको हात बढाउँदा
फुडबैंकलाई निरीह हुन्छु कि भन्ने डर लाग्दो रहेछ।
रक्षानमा फ्याकिएको गुर्जो पनि
सरकार निदाएपछि उठ्दो रहेछ
हिजोका घमाइला जूनहरू
आज ती पूर्णेको रातमा पनि छेकिँदो रहेछ।
स्वच्छतामा फुल स्टप र कमा छुटेपछि
भण्डारमा शाखा सन्तान रमाउँदो रहेछ
मौरीका घारमा अरिङ्गाल पसेपछि
कामदार ज्यामी विदेशीन बाध्य हुँदा रहेछ।
इमान्दारीता पिजन होलमा थन्केपछि
आज्ञाकारीता सुन झैँ आकाशिँदै जाँदो रहेछ
विचार केवल पद यात्रामा धुमिल हुँदै गएपछि
लिपुलेक र जंगे पिलर बेवारिसे बन्दो रहेछ।
स्वीजरल्याण्डको रोड म्याप भित्र
खाडीको पसिनामा समृद्धि देख्दो रहेछ
सत्ताको रापले विवेक हराउनेहरु!
धरहराबाट पनि महामारी नदेख्दो रहेछ।