सागरभित्र
लुकी बसेको रहर
सुस्तरी जागेर आँउछ पूर्णिमाको रातमा
र ज्वारभाटाहरू उर्लिन्छन्
चाँदको हवस मेटाउन।
बीजभित्र
लुकी बसेको रहर
सुस्तरी टुसाउँछ अंकुरणमा
र निस्कन्छ जरा समाएर
प्रकृतिमा बैंस जगाउन।
पालुवाभित्र
लुकी बसेको रहर
सुस्तरी निस्कन्छ कोपिलामा
र फक्रिन्छ फूल
सौन्दर्य प्रेम भजाउन।
पहराभित्र
लुकी बसेको रहर
सुस्तरी मूल फुट्छ वर्षायाममा
र बग्छ झरना
प्यासीको तिर्खा मेटाउन।
पंक्षीभित्र
लुकी बसेको रहर
सुस्तरी आउँछ बासन्ती उभारमा
र देखिन्छ प्रणयोत्सव
श्रृष्टि चक्र चलाउन।
रगतभित्र
लुकी बसेको रहर
सुस्तरी बग्छ नातामा
र सम्बन्धको धुलो मैलो पखाल्छ
प्रेम, वात्सल्य र ममता सजाउन।
मनभित्र
लुकी बसेको रहर
सुस्तरी ओर्लिन्छ सृजनामा
र ताते ताते गर्दै बामे सर्छ
क्षितिज पारीको शुभ्र शान्त ज्योति देखाउन।