सधैझैं बिउँझिएँ आज पनि म
देख्छु वरिपरि कोही चिच्याएको
खुसीको होइन, रोदनको आवाजमा
म यस्तो लोकमा छु कि,
जहाँ मै हुँ भन्नेको भोक सकिँदैन
अनि पीडितको चोट गनिसाध्य हुँदैन।
धर्तीमा जन्मिएको दिनदेखि सिकाइन्छ
आफ्नो अंग, रंग अनि वर्णको संरक्षण गर्न,
त्यो बेकार हुन्छ,
जब गिद्धहरु चल्मलाउन थाल्छन्
कुना कन्दरा चहार्दै,
ज्यान र इज्जतलाई लात हानेर
बिनामेसै खन्याउछन् आफ्ना इच्छा र चाहना
अहंकारले अनमत्त भएर,
तब, साथ सहयोग अनि आँटको अभावले
मन छट्पटिँदा
आफ्नै विचार र आवाजलाई शून्यतामा पाउँदा
वर्षौंदेखि सम्हालेको जवानी
कसैको एक सेकेन्डको आवेगले क्षत् विक्षत् पारिदिन्छ,
भरोसा र विश्वासले सुम्पेको जोवन घर न घाटको भइदिन्छ,
च्यात्तिएको शरीरको लाज
रगतको धाराले कहाँ ढाक्न सक्थ्यो र,
मुटुमा दन्केको आगोले
बहिरी संसार के जलाउन सक्थ्यो र,
भित्रभित्रै मरिसकेकी म
चितासम्म पुग्न पनि डर लाग्दैन
त्यहाँको आगोले मलाई अब के पोल्न सक्थ्यो भनेर।
आफ्नै घर बिगारेर अर्काको इज्जतमा
धावा बोल्नेहरु,
अफ्नै श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती, छोरी
अनि दिदीबहिनीमा आँखा लाउनेहरु,
त्यै नारीको कोखमा जन्मेर,
त्यै नारीको दूध चुसेर,
फेरि त्यै नारीको अस्मितामाथि खेलेर रमाउने राक्षसहरुले
सम्पूर्ण पुरुषजगतको नामलाई
बदनामको खाडलमा पारेर निर्लज्ज डुलिरहन्छन्,
न्यायको कुरा त के गर्नु, सर्वविदितै छ
आज बोल्यो आजैलाई मात्र, भोलि बोल्यो भोलिलाई मात्र
आनि आफ्नै इज्जतको डर,
कुहिरोको कागझैँ हराउँछ पीडितको बोली,
हुने खानेले मिच्ने अनि निहत्थालाई थिच्ने
खोक्रो राष्ट्रियता भुक्नेले नेतृत्वमा घात गरेर
सार्वभौम जनताको आशलाई लास पारेर
राम्रालाई छाडेर हाम्रा बचाउने घिनलाग्दो
लाजनीतिको खेल खेलिरहन्छन्।
छोरीको लागि बेहुलो हेर्दा,
गोरो छाला, चट्ट जीउडाल, मिलेको शरीरलाई
सुन्दरताको तराजुमा जोखेर नखोज्नु होला,
रंग गोरो होइन, मन गोरो भएको
रुपको सुन्दरता होइन, दिमागमा उदारता भएको
आँखामा हेरेर इच्छा, चाहना अंगाल्ने
र कुममा कुम जोडेर सँगसँगै पाइला चाल्ने
जीवनसाथी खोजिदिनु होला
ताकि सधैं उसको राम्रोको लागि म र
मेरो राम्रोको लागि ऊ हुन सकोस्।