दिनभरि टाढा हुन्छु
मेहनत गर्छु पसिना बगाउँछु
अनि रोजीरोटी कमाउछु
जब बेलुकी घर पुग्छु
तिम्रो हँसिलो मुहारको स्वागतले
आफूलाई भाग्यमानी ठान्दछु
मालिकको त्यो मकान
अनि दिनभरको थकान
अरु कष्ट सारा क्षणमा बिर्सन्छु
जब म तिम्रो समीपमा आउँदछु।
तिमीले गर्ने स्नेह र प्रेमको कदर गर्दै
तिमीलाई धन्यवाद टक्र्याउँदछु
प्रिय दुई चार पैसा अझै जोगाउँछु
अनि ती तृष्णालाई वर्तमानमा आंगाल्छु।
भविष्यमा जन्मिने बच्चाको नामाकरण
गर्दै बितेका कयौँ रात
कोरा कागजमा वर्णमाला सिकाउन
तम्सेका यी मेरा हात।
एक सिरानी दुई शिर
नगर है तिमी पिर
अलिकति तिमी निदाऊ अलिकति म निदाउँछु
आधा सपना तिमी बुन, आधा सपना म बुन्छु
छ यही बास हाम्रो यही हो सानो संसार
दुःखसुख यही काट्नुछ दुनियाँको नियम अनुसार
छोपिएका छन् शिर माथिका छाना
टालिएका छन् माटाका भित्ता टाँसेर अखबारका पाना
काँधमा छ साहुको ऋणको भार
मजदुरी गरी जहान पालिन्छ, तैपनि सपना छन् हजार
मेहनत गरी अझै जोगाउनुछ
फाटेको हृदय फेरि सिउनुछ
घरको छाना अझै टाल्नुछ
बेमौसमी वर्षातबाट फेरि जोगिनुछ
अनि सपनाको रङ्गमन्च सजाउनुछ।
यस्तै पो रहेछ मजदुरीको जीवनको यात्रा
जसोतसो दिन काट्दैछु हेरेर यो लोकको जात्रा।
एक सिरानी दुई शिर
नगर है तिमी पिर
अलिकति तिमी निदाऊ अलिकति म निदाउछु
आधा सपना तिमी बुन आधा सपना म बुन्छु
एक सिरानी दुई शिर।