सुटुक्क
बाले सर्वस्व सुम्पिदिए
बाले वर्चस्व सुम्पिदिए
आँसुले किनिदिए
सुकिला तन्ना विछ्यौना
आफ्नो हड्डीभन्दा
दह्रा पलङ पल्ला
अहँ! पुगेन,
दाइजोका घोषणा
बामाथि परेड खेलिरहे
मेरा बाले सहिरहे,
हिर्काइरह्यो
उसको हठले,
चर्काइरह्यो
छोरी पाउनुको पीडाले
मेरा बा गल्नु गले
कर्तव्य बोक्दा बोक्दै
धर्मराए
आखिर कन्यादानमा दिए
मुटु थाम्दै थुप्रै दिए
समाजलाई ताल्चा लाए
हो, त्यही दिन हो
अमानवीय द्वारहरु खुलेका
बडारेर फाल्ने धुलोसँग
खुसी साटिएका
मानवताका कुवाँहरु सुकेका
बा यिनलाई कहिले पुगेन
सम्झौताका ओतहरुले
मेरो सास छेक्नै सकेन
सबैले सबैलाई बोल्न दिए
खाली मेरो मुख थुने
परिवार जोड्न सिकाए
माइतीको ढोका थुने
बा, आज
मलाई मृत सागरमा
सोच उमार्ने आँट जागेको छ
मलाई खोट देखाउने
जाँगर चलेको छ
हो बा,
तिम्रो देखासिकीको खोट
तिम्रो विवशताको खोट
प्रविष्ट होस् अब हिसाबहरु
अनि थर्किनेछन् परम्पराहरु
जब समाजकै विरुद्ध
एक्यवद्ध हुन्छन् समाजहरु
किन बा?
आज चुप लाग भनेनौ नि?
मलाई सुन्दै त छौ नि?
सायद अब बुझिसक्यौ
समाजलाई मात्र
चुप लगाउनु छ
समाजलाई मात्र सुनाउनु छ
युद्धको बिगुल फुक्नु छ
जुन युद्ध अब दाइजो
प्रथा विरुद्ध
हरेक बाले लड्ने छन्
हरेक छोरीका लागि
अब बा बहिनीका लागि
तिमीले अक्षय सर्त राख है
सौदाको विरुद्ध
निःसर्त सम्मानको सर्त
निःस्वार्थ प्रेमको सर्त
अखण्ड जीवनको सर्त
सौदा गर्दिनँ भन है
बरु छोरी दिन्न भन है।