प्रकृति उजाड र उदास लाग्यो। आनी छोइङ्ग डोल्माको गीतले भनेजस्तै- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।
सायद चैत मासको आँधी हुरी जस्तै मनमा तुफान चलेर होला।
साउदी अरबको चरा खस्ने गर्मी। दिनभरि काममा मन लागेन। नजर घरी आकाशतिर जान्थ्यो, घरी घडीतिर। एक हुल चराहरू दक्षिणको बाटो लागे। सोचेँ, यतैबाट होला मेरो घरदेश जाने बाटो।
मुटुको ढुकढुक बढ्यो। छाती हप्प फूल्यो। माउ हराएको बच्चाजस्तै भएँ, विवश र बेसहारा। सेकेन्ड-सेकेन्ड मिनेट-मिनेट गनेर ड्युटी सकेँ।
कोठामा पुगेँ। तातोले टाउको फुट्ला जस्तै भयो। एसी चलाएँ। फ्रिजबाट एक बोतल चिसो पानी झिकेँ। घटघट पानी पिएँ। के शितल हुन्थ्यो र?
यो पिरतीले तातेको छाती पानीले सेलाउँछ र!
सर्जकले मलाई नै लक्षित गरेर सिर्जना गरेजस्तो लाग्यो। पानी पिएर फलामको खाट माथि पल्टिएँ। दुई तले घर बनाउने सपना देखेर आएको म। यही फलामको दुई तले खाटमा आफ्ना सपना खोजिरहेँ।
म भित्रको म भुलेँ। बैँसको बेलामा कसले वेद पढ्छ र भनेजस्तै तनावको बेलामा सबै कुरा बिर्सिँदो रहेछ। म आफ्नो कर्तव्य र जिम्मेवारीबाट पूरै विचलित भएँ।
सत्ताइस वर्षिय रहरलाग्दो जवानी शिथिल भयो। शरीर थकित र लखतरान थियो। मेरो मन र दिमागबीच मानसिक द्वन्द्व केही समय अगाडिदेखि नै चलिरहेको थियो। आज दिमागलाई मनले जित्यो। म विवेक शून्य भएँ। आँखाबाट बगेका आँसुमा चिप्लिए शून्यतामा विलय भएछु।
उसैको नाममा किनेको सल निकाल्दै प्रदीपको रोदनको एक शेर सम्झेँ,
प्रेमिकाको मफलर पासो बन्न सक्छ
आमाले पछ्यौरीले यस्तो पाप गर्न सक्दैन्।
ल्यापटप खोलेर एउटा इमेल लेखेँ।
प्यारी राधिका,
यो इमेल मैले किवोर्डमा औँलाले हैन, तिम्रै यादमा बगिरहेका आँसुले लेख्दै छु। सानैदेखि मेरो डक्टर बन्ने चाहना र सपना थियो। सामाजिक, पारिवारिक, आर्थिक, राजनीतिक समस्याका कारण झोलामा प्रथम श्रेणीको प्रमाणपत्र बोकेर खाडी पसेको कुरा मैले तिमीलाई सुरुमै भनेको थिएँ। त्यसैले त म डक्टर बन्नको लागि सधैँ सहयोग र प्रेरणा दिन्थेँ।
नेपालमा बन्द भएको जहाजको ढोका साउदी पुगेपछि मात्रै खुल्यो। जस्तो कि तिम्रो प्रेममा अन्धो भएको म तिमीले धोका दिएपछि मात्रै झस्किन पुगेथेँ।
यहाँ मेरा आफ्नै बाध्यता थियो। हुन त मेरो काम रियाद नजिकै थियो। तर दुःखको आयतन राजधानीभन्दा निकै फराकिला भए। शुक्रबार एकदिन बिदा हुन्थ्यो। अरू सबै दिन मेसिन सरह काम गर्नुपर्थ्यो।
यहाँबाट निस्कने कुनै सम्भावना थिएन। कि जेल जानुपर्थ्यो कि परलोक। त्यसकारण जवानी र राहदानी धितो राखेर तीन वर्ष बिताउनुको विकल्प थिएन।
बोल्ने साथीहरू भएनन्। मेरा दुःखमा दुख्ने मन र रुने एकजोर आँखा थिएन। यहाँका मान्छेहरूसँग बोल्न भाषा जान्दैन थिएँ। चुपचाप लागेर काममा ध्यान दिनु मेरो अन्तिम विकल्प र बाध्यता थियो। कहिलेकाहीँ मन भुलाउन टिकटक र फेसबुक मेरा साहरा हुन्थे।
दुःखको सागरबीच खुसी छिटा बोकेर तिमी मसँग ठोक्किन आइपुग्यौ। तिमीले मलाई देखेकी पनि रहिछौ। बालकुमारी कलेजमा प्लस टु पढ्दा तिमी मेरो क्लासमेट थियौ भन्ने कुरा तिमीले भनेपछि थाहा पाएँ।
कलेज र जागिरको समय एउटै भएकाले म कहिलेकाहीँ मात्रै कलेज जान्थेँ। तिमीले मलाई त्यही बेलामा देखेको हुनुपर्छ।
त्यसपछिको समयमा मसँग बोल्दा तिमी निकै रमाउँथ्थौ। जेठको खडेरीमा पानी पर्दाको किसान रमाएजस्तै। आमाले चारो खोजेर ल्याउँदा पखेटा नपलाएका बच्चाहरू रमाएजस्तै। मिठामिठा गफ गर्थ्यौ। म त तिम्रो गफमा हराउन पुगेछु त्रिवेणीमा काली गण्डकी हराएजस्तै।
नियमित कुराकानीले होला मलाई तिम्रो बानी परिसकेछ। यो बानी र नियमित कुराकानी कुनै आकर्षण र नियमितता होइन, यो त प्रेम हो भनेर तिमीले नै व्याख्या गर्यौ। मैले सहमति जनाएँ।
तिमी मेरो पहिलो प्रेम थियौ। तिमी मेरो लागि एउटी प्रेमिका मात्रै थिइनौ। मेरो आदर्श, प्रेरणा र सम्पूर्ण नारीहरूप्रति दृष्टिकोण निर्धारण गर्ने बिम्ब थियौ।
मलाई बेग्लै किसिमको अनुभूति भयो। बढ्दो जवानी र महिलासँगको सामीप्यता स्वीकार नगर्ने हाम्रो सामाजिक संस्कृतिले गर्दा नारीसँग टाढा रहेको मान्छे म तिम्रो सामीप्यतामा पूर्ण रूपले समाहित भएँ। बादलमा धुलोको कण समाहित भएजस्तै।
हावासँगै समुन्द्रको बाफ हराएजस्तै म पूर्ण रूपले तिमीमा नै हराउन पुगेँ। हरेक पटक आफ्नै मृत्युको कामना गरिरहने मान्छे म भगवानसँग लामो आयुको प्रार्थना गर्न थालेँ। तिमीलाई भेटेपछि बेग्लै उर्जा मिल्थ्यो। निभ्न लागेको बत्तीमा तेल थपेजस्तै।
काम सकिने वित्तिकै भिडिओ कलमा तिमीलाई हेर्न पाउँछु भन्ने हुटहुटी चल्थ्यो। त्यसकारण काम चाँडै सकियोस् जस्तो लाग्थ्यो। तिमीसँग नबोलेको पल मेरो सबै शक्ति सकिन्थे।
मुटुको धड्कन कहाँ पुग्थ्यो कहाँ? एकैछिनमा शिथिल हुन्थेँ। छातीमा ज्वालामुखी उत्पन्न हुन्थ्यो। आफूलाई जिउँदो लाससँग तुलना गर्थेँ। दिनपनि औँसीको रातजस्तै लाग्थ्यो।
तिम्रो नाम तिमीजस्तै प्रिय र सुन्दर लाग्थ्यो। तिमीमा संसार जित्ने क्षमता र शक्ति देख्थेँ। तिमी भित्र मेरो दुनियाँ थियो। प्रेम, त्याग, समर्पण सबै थिए। कामबाट बचेको थोरै समय तिमीलाई म्यासेज गर्थेँ।
तिमी एकैछिनमा रिप्लाई गर्थ्यौ। अघि असामान्य लागेका कुरा फेरि सामान्य लाग्थे। मुटु पहिलाकै ठाउँमा फर्किन्थ्यो। तिम्रो प्रेमले मेरो दुनियाँ बेग्लै भएको थियो।
तिमीप्रति मेरो दृष्टिकोण अलि फरक थियो। मैले तिमीलाई सम्मान र उच्च आदार दिएर राखेको थिएँ। ज्यान र दिमागले भ्याएसम्मको कुरा दिएँ। तिम्रो स्थान मेरो जीन्दगीमा एउटी प्रेमिकाको भन्दा निकै माथि थियो।
एउटा प्रेरणाको स्रोत र आदर्श पात्र। त्यसैले होला तिम्रो शरीरको स्पर्श नगरीकन स्वच्छ र पवित्र हार्दिकताका साथ हृदयमा राखेथेँ।
तिमीप्रति मेरो प्रेम कति विशाल र हार्दिकता थियो तिमीले कल्पना पनि गर्न सक्दिनैँ। यी सबै कुरा हरेक पटक तिम्रो यादमा धड्किन मेरो मुटुलाई मात्रै थाहा छ।
सक्छौ भने मेरो परदेशी जीवनलाई माफ गरिदेऊ। म एक निमेष पनि तिमीलाई नसम्झी बस्न सक्दैनथेँ। मेरो लागि समयको पर्खाइ तिमीसँग बोल्नका लागि मात्रै हुन्थ्यो। शुक्रबारको पर्खाइ तिमीलाई मन भरुन्जेल हेर्न। दुई वर्षको पखाई तिमीसँग भेट्नको लागि मात्रै थियो।
परदेशको कठिनपूर्ण जीवन मानवता नभएको सहरमा सकेन्ड सेकेन्ड किन तिम्रै मायाको अभावमा तड्पिन्थेँ। आफैँलाई थाहा छैन।
सुरुआती दिनमा तिमीले मलाई धेरै माया गर्थ्यौ। म जान्दिनँ त्यो प्रेम थियो कि अभिनय? तर मैले सधैँभरि माया नै हो भन्ने सम्झेँ।
कुरा भएको एक वर्ष बितेको हुँदो हो। त्यसपछि तिमीमा एकाएक परिवर्तन आयो। तिमी बेलाबेलामा झर्किन्थ्यौँ, रिसाउँथ्यौँ। मैले केही भनेँ भने फोन काटेर मोबाइल अफ गरिदिन्थ्यौँ।
पहिला राम्रा र आदर्श लाग्ने कुराहरू अब तिमीलाई बकमफुसे र निरर्थक लाग्न थालेका थिए। तिमी बोल्ने भन्दा पनि नबोल्ने बाहना धेरै खोज्न थालेकी थियौ।
झगडामा पनि प्रेम हुन्छ। छोरी मान्छे हो, अलि अलि लजालुपन र जिद्दीपन हुन्छ, यो पनि प्रेम नै हो भनेर तिम्रो हरेक क्रियाकलाप प्रेमपूर्वक स्वीकार गर्थेँ। तिम्रा हरेक गल्तीहरूमा पनि म आफैँले माफी माग्थेँ, आखिर मेरो सुख तिमीलाई आफूभन्दा उच्च स्थानमा राखेर तिम्रो खुसी हेर्नु नै त थियो नि।
च्याटमा पनि तिमी निकै कम बोल्न थाल्यौ। भिडिओ कल त हप्ता र महिना दिनमा हुन थाले। प्रेम र सम्झनाका स्टीकर घटायौ।
व्यस्त छु भनेर फोन काट्न थाल्यौ। तिम्रो बोलीमा मिठास हरायो, रसबरी जस्तो लाग्ने बोली रस नपसेको सुन्तलाका केस्रा जस्तो लाग्न थाल्यो। तिमी कुनै समस्यामा हौली भनेर डिस्टर्ब गर्न उचित ठानिनँ।
सुरुसुरुमा एकछिन पनि मेसेज नगरी बस्न नसक्ने तिमी मेसेज सिन गरेर छोडिदिन्थ्यौ। त्यसपछि तिम्रो कल उठन् छाडे। कुनै समस्यामा छौ कि भनेर सोध्दा मौन जवाफ दिन्थ्यौ, मैले के बुझ्नु?
मैले तिमीलाई उच्च स्थानमा राखेर सधैँ सकारात्मक मात्रै सोचिरहेँ। तर तिमीले एकाएक म्यासेन्जरमा सेट भएको लभ इमोजी हटायौँ। निक नेममा लेखेको प्यारो मान्छे (माइ लभ) हटायौ।
मलाई लाग्यो, तिमी मलाई साँच्चै इग्नोर गर्न थालेछौ। त्यसपछि इग्नोर भएको फिल भयो। म अत्तालिन थालेँ, मेलामा अभिभावक हराएर अलपत्र परेको बच्चा जस्तै। एउटी आमाले नवजात शिशु गुमाउनुजस्तै।
साउदीको तातोभन्दा तिम्रो यादले पोल्न थाल्यो। तिम्रो फोन र मेसेन्जरको टिङ आवाजको यति धेरै प्रतीक्षा गरेँ, परीक्षा दिएर बसेको विद्यार्थीले नतिजा पर्खेजस्तै। प्रतीक्षामा कति पटक मेरा ओछ्यान भिजे। कति पटक सिरान त्यसको हिसाब छैन।
तिमी कहिलेकाहीँ आफैँले म्यासेज गरेर केटाहरूले आफूलाई प्रपोज गरेको, बिहेको प्रस्ताव आएको, कफीको लागि अफर गरेको कुरा लेख्थ्यौ। मेरो मुटु तातो तेलमा उफ्रिएको जिउँदो माछा जस्तो हुन्थ्यो। सुकेको रुखजस्तो भएर तिम्रो जिन्दगीको हरियालीपूर्ण कथा सुन्न विवश हुन्थेँ।
प्रेमको शक्ति निकै बलियो हुँदो रहेछ। प्रेमले संसार जित्ने शक्ति पनि दिँदो रहेछ भने एकजना बिना बाँच्न नसक्ने गरी निरीह पनि बनाउँदो रहेछ।
यो इमेल पढेर तिमीलाई लाग्न सक्छ म तिमीलाई डिस्टर्ब गर्दैछु। तर सत्य कुरा, संसार छोड्ने बेलामा कसैले पनि झुट बोल्दैन।
दुई वर्षदेखि फस्टाएको प्रेमको मुना किन भाँच्ने निर्णय गर्यौ तिमीलाई नै थाहा होला? मैले त तिमीले रोपेको प्रेमको बिरुवालाई हुर्काउने, बढाउने र संरक्षण गर्ने काम मात्र गरेँ।
मबाट तिमीले के चाहन्छ्यौ भन्दा तिमीले भनेकी थियौ- निश्वार्थ माया र निरन्तरको साथ। थाहै छैन तिमीलाई कति निस्वार्थ माया गरेँ। तर तिमीले मलाई छोड्ने निर्णय गर्दा पनि तिम्रै साथ दिएर निरन्तर साथ पाउने तिम्रो अपेक्षा पूरा गरेँ भन्ने मैले बुझेको छु।
तिमीले मेरो स्वतन्त्रता हरायो भनेर मलाई जुन म्यासेज गर्यौ, त्यसपछि म पूरै बीचलित भएँ। मैले कुन ठाउँमा गरेँ तिम्रो खुसी र स्वतन्त्रताको हस्तक्षेप आजसम्म बुझेको छैन।
तिमीले कल्पना पनि गर्न सक्दिनौँ, तिमीलाई कुन हदसम्म मन पराएँ। कुन हदसम्म आफ्नो मानेँ। कति धेरै प्रेम सम्मान गरेँ। तिम्रो व्यक्तिगत जीवनको उच्च सम्मान गर्दै कसरी तिमीमा समर्पित भएँ।
एकछिनपछि कुरा गर्छु है भनेर रातभरि अनलाइन हुँदा पनि अर्को बिहान गुडमर्निङको जवाफ नदिने मान्छे तिमी। मन लागे बोल्ने, मन नलागे नबोल्ने। केही सोधे रिसाउने, थर्काउने गरेपनि मेरो मनले तिमीलाई कहिल्यै पनि अनावश्यक शंका गरेन।
तिम्रो व्यक्तित्व र चरित्रमाथि कहिल्यै प्रश्न उठाएन। तिमीलाई गर्ने मायामा कहिल्यै कमी गरेन। तिमीले आफ्नो स्वतन्त्रतको बहस कसरी गर्न सक्यौ अचम्ममा परेको छु।
अत्यासलाग्दो ड्युटी सकेर रातिको अलिकति फुर्सदको समयमा एकछिन बोल्न खोज्दा सम्पूर्ण रूपले नियन्त्रणमा राख्न खोजेको र आफ्नो अनुकूलतामा प्रयोग गर्न खोजेको आरोप कसरी लगाउन सक्यौ!
तिमीले आर्थिक समस्या देखाएपछि मैले गरेको सहयोगमा तिम्रो आत्मनिर्भर र स्वाभिमानमा चोट पुग्यो भनेर मैले कसरी महशुस गर्न सकूँ?
प्रेममा रोमान्स हुनु सामान्य हो। तिम्रै सहयोगमा र इच्छामा भएको त्यही भावनात्मक रोमान्सलाई तिमी हिंसा सम्झन्छौ भने मलाई माफ गर।
'म्यासेज र कहिलेकाहीँको कल र भिडिओ कल बाहेक हामीबीच अरू के नै छ र? सजिलै बिर्सिहालिन्छ नि' भनेर तिमीले कसरी भन्न सक्यौ? के प्रेम अघेँनाको वरिपरि लागेको कालो, बिहान रातो माटोले लिपेर मेटाएजस्तै सजिलै मेटिन्छ र?
के हरेक दिन सँगै कफी खानु, सँगै डेटिङ र जानु र इन्द्रियहरूलाई सन्तुष्ट पार्दै शारीरिक तिप्ति लिनु मात्रै प्रेम हो र?
म त सधैँ आफैँले आफैँलाई बिर्सेर तिमीमा आफूलाई पाउनु र शारीरिक कामबासनाले मुक्त भएर भावनात्मक रूपले तिमीमा सामाहित हुनु र उच्च आदर सम्मान, समर्पणलाई नै प्रेम सम्झन्थेँ।
यदि मेरो त्यो बुझाई र त्यही अनुसारको व्यवहार गलत थियो भने मलाई माफ गर प्रिय, अलबिदा!
इमेल सेन्ड गर्न खोजेँ तर सकिनँ। मानसिक द्वन्द्वमा हराएँ र अन्त्यमा एउटा स्टाटस लेखेँ।
म आफ्नो खुसीले मर्दैछु। कृपया मेरो मृत्युको कारण खोजेर कसैमाथि आरोप नलगाउनुहोला!
सृष्टि शर्मा इनकमिङ कल। झसंग भएँ। यो समयमा सृष्टिको फोन कसरी उठाउनु? ऊ मेरो क्लासमेट थिई। स्कुलको पढाइ सकिएपछि हामी बीचमा खास संवाद भएको याद छैन, एकअर्काको पोष्टमा गरेको लाइक कमेन्टभन्दा।
तीन, चार पटक त उसले गरेको फोन उठाइनँ। अन्त्यमा मेसेज गरेर फोन उठाउन आग्रह गरेपछि फोन उठाएँ।
'के भयो तपाईंलाई, फेसबुकमा के लेख्नु भएको? छिटो डिलिट गर्नुस्।'
ऊ त रुन पो थाली। अलमलमा परेँ। के उत्तर दिनु? उसको प्रश्नको भरपर्दो जवाफ म आफैसँग थिएन।
मूर्ति जस्तो भएँ। छातीमा हिउँको डल्ला जमे जस्तो लाग्यो। एकछिन अवाक भएँ र स्टाटस डिलिट गरेँ। ऊ रोइरहेकी थिई। अघिसम्म आफूलाई सम्झाउन नसक्ने मान्छे म उसलाई सम्झाउन थालेँ। आफूले आत्महत्या गर्न खोज्नुको कारण र प्रेममा आएको विचलनको बारेमा सबै कुरा सृष्टिलाई सुनाएँ।
सृष्टिले भनी, 'तपाईं त एउटा दुर्घटनाबाट जोगिनु भएको छ। किन मन सानो बनाउनु हुन्छ? खुसी हुनुस्, एउटा स्वार्थी सम्बन्ध टुटेर गयो। मनदेखि माया गर्नेले कहिल्यै छोडेर जाँदैनन्। जो गए ती आफ्ना थिएनन्।
प्रेमले आफ्नो नभएको मान्छेलाई संसारको कुनै पनि कुराले आफ्नो बनाउन सकिँदैन। साँचो प्रेम गर्नलाई मुटु निकै बलियो हुनुपर्छ।
प्रेमी अथवा प्रेमिकाको उपस्थिति एकअर्कालाई भारी नलाग्नु र टाढा हुँदा अभाव महशुस नहुनु नै प्रेम हो। भौतिक शरीर टाढा भएपनि एकअर्कालाई सम्झेर रमाइलो लाग्नु, शक्ति र उर्जा मिल्नु नै प्रेम हो।
सँच्चा प्रेमले त मुक्ति दिन्छ। किन-किन तपाईंको प्रेमिकाको तपाईंप्रति कुनै स्वार्थ थियो जस्तो लाग्यो। तपाईंको कुरा सुन्दा सृष्टिले भनी मैले आँसु पुछ्दै सुनिरहेँ।
तपाईंको कुरा सुन्दा लाग्यो। उसले गरेको प्रेम आकर्षण र व्यवसाय हो, आज गर्यो भोलि सकिन्छ। प्रेमलाई मुक्ति र शक्तिको हिसाबमा लिनुपर्छ जहाँ सच्चा प्रेम हुन्छ, त्यहाँ इश्वरको बास हुन्छ।
अचेलको युवापुस्ता प्रेमलाई कब्जा गरेर आफू मालिक भएर अरूलाई दासी बनाउन खोज्छन्। त्यसकारण धेरैको प्रेम सफल हुँदैन। अचेलको प्रेमले मान्छेलाई बन्दी बनाएको देख्छु। युवाहरूले ती युवतीलाई सच्चा प्रेम गर्छन्। जसले आफ्नो देश र माटोलाई हृदयले प्रेम गरेका हुन्छन्।
र अर्को कुरा, यो बम्ह्राण्ड तपाईंको हो। आफ्नो संसार रुने, हाँस्ने, माया गर्ने अधिकार तपाईंको मात्रै हुन्छ। आफूलाई बलियो बनाउनुस्। ऊ गएपछि ऊभन्दा राम्रो मान्छे तपाईंको जिन्दगीमा आउन सक्छ। प्रतीक्षा गर्नुस् र आफूलाई कहिल्यै एक्लो नसम्झनुस्।
प्रेम गर्नका लागि पनि प्रेम गरेको मान्छे प्रेमको योग्य हुनुपर्छ। तपाईंले गरेको प्रेम उसले पनि महशुस गर्नुपर्छ। एकअर्काको निजी पेशा र जिन्दगीलाई बुझ्ने हुनुपर्छ। प्रेमको योग्य नभएको मान्छेले छोडेर गयो भनेर किन मर्नु खोज्नुहुन्छ?
के उसलाई पाउनु मात्र तपाईंको अन्तिम लक्ष्य हो र? तपाईंका अरू कुनै सपना छैनन्? उसका कुरा निकै मार्मिक थिए।'
म नतमस्तक भएर सुनेँ। उसले भन्दै गई।
'जन्म र मृत्यु मात्रै अन्तिम सत्य हो। अरू सबै भ्रम। वास्तविकता कसैलाई पनि थाहा छैन। जसले बलिया तर्क र धारणा प्रस्तुत गर्छन्, त्यही कुरालाई सत्य मानेर मान्छेहरू भ्रममा बाँचिरहेका छन्। सत्य के हो कसैलाई थाहा छैन। सत्यका नाममा लगाइएका जलप कति प्रतिशत वास्तविक हुन्। लगाउनेलाई नै थाहा छैन।
हरेक मान्छे एक्लो मलामी हो। आफूभित्र एक्लै हाँस्नु छ, एक्लै रुनु छ, एक्लै जिउनु छ। समस्याको पहाड एक्लै झेल्नु छ। एकदिन महाशून्यमा हराउनु छ। आफैँसँग हार्नु छ भने बाटोमा भेटिने र छुटिने मान्छेसँग किन गुनासो गर्नु?'
वास्तविकता जे भएपनि सृष्टिका कुरा यथार्थ थिए। उसको तर्क र जवाफ सुनेपछि मेरो आत्महत्या गर्ने विचार आगोमा घ्यू पग्लिए जस्तै पग्लियो।
दुःखको बेलामा कसैको एक बोली पनि अमृत समान हुँदो रहेछ। सम्झेँ, राधिकालाई आफ्नो बनाउने चाहना राख्नु सिंगो चन्द्रमालाई खल्तीमा हालेर संसार भ्रमण गर्ने कल्पना गर्नु जस्तै हो। म यो भ्रमबाट निस्कनुपर्छ।
मनमा विचारको बाढी चल्यो। राधिकाले मृत्युको मुखमा पुर्याएर छोडी। सृष्टिले मृत्युको मुखबाट खोसेर ल्याई। के सृष्टिले पनि मलाई प्रेम गर्छे होला त?
त्यसपछिका राधिकासँग खासै कुरा भएन। ऊ घरी ब्लक गर्थी, घरी अनब्लक। मनमा मायाको महासागर थियो। आफैँमा बाफ बनेर आफैँमा हराउने निधो गरेँ।
सृष्टिसँग नियमित कुरा हुन थाल्यो। ऊ आरआर क्याम्पसबाट नेपाली साहित्यमा एमए गर्दै रहिछे। उसको सोच चिन्तन र दृष्टिकोण निकै फरक लाग्थ्यो। पूर्वीय पाश्चात्य साहित्यको चिन्तन। प्रेम र दर्शनको गज्जबसँग व्याख्या गर्थी।
ऊसँग बोल्दा लाग्थ्यो म विश्वविद्यालयको नेपाली साहित्यको कुनै क्लासमा छु। राजनीति र समसामायिक विषयमा पनि उसको निकै झुकाव र ज्ञान थियो। ऊ मेरो मार्गनिर्देशक जस्तै बनी। म सानो-सानो निर्णय पनि उसैलाई सोधेर गर्थेँ।
ऊ फेसबुकको स्टाटस पनि आम केटीहरूको भन्दा निकै फरक धारको लेख्थी। व्यवहारिकता, हार्दिकता, सरलता, शिष्टता, तार्किकता उसका अरू गुण थिए।
हामी म्यासेन्जर कलबाट भिडिओ कलमा पुग्यौँ। कुरा गर्दा ऊ निकै इनोसेन्ट लाग्थी। मैले अनुमान गर्थेँ। सृष्टिमा मानवीयता र प्रेम भरिपूर्ण छ।
रातभरि उसका कुरा सुनिरहुँ जस्तो लाग्थ्यो। लामोलामो संवाद पनि निकै छोटो लाग्थे। सेकेन्ड सुई घन्टा सुई जस्तो भइदिए हुन्थ्यो जस्तो आभाष हुन्थ्यो।
ऊ मेरो खाना खाने, सुत्ने, काम गर्ने सबै समयको ख्याल राख्थी। मेरो मुहार मलिन भएको दिन निकै दुःखी हुन्थी। उसको आँखाबाट असिनाका दानाजस्ता आँसु बगेको म सहजै देख्थेँ। ऊ कुरा लुकाउन निकै बहाना बनाउथी।
सुत्ने बेलामा मलाई उसलाई निकै गाह्रो हुन्थ्यो। समयमा सुत्नु भन्थी, म मान्दैन थिएँ। अटेरी बालक जस्तो अभिनय गरिदिन्थेँ। सृष्टि पनि मलाई सुताउन आफू निदाएको नाटक गर्थी। तर हरेक पटक नाटकमा असफल हुन्थी।
मेरो दुःख र संघर्ष बुझ्थी। कहिलेकाहीँ कुनै समस्या परेको छ भनेर सोध्दा हरेक किसिमले म भरिपूर्ण छु भनेर जवाफ दिन्थी।
मेरो विगतसँग उसलाई कुनै गुनासो थिएन। भन्थी, मान्छे जानी नजानी कहिलेकाहीँ गलत मान्छेसँग ठोकिन्छ। उसको विगतसँग कुनै सरोकार राख्नु हुँदैन। विगतको कुराले सुन्दर वर्तमान किन ध्वस्त बनाउनु?
जिन्दगी चलाउन सम्पन्नताभन्दा बढी व्यवहारिकता चाहिन्छ भन्थी। एकअर्काको अस्तित्व स्वीकार्ने गर्ने, प्रेम गर्ने र इमान्दार केटा सधैँ आफ्ना प्राथमिकता पर्ने कुरा सुनाउथी। केटाको पढाइसँग उसलाई कुनै सरोकार थिएन। सबै इमान्दारीताप्रति निकै जोड दिन्थी।
नेपालको पछिल्लो समयको नारीवादप्रति सृष्टिलाई वितृष्णा थियो। नारीले पनि पुरुष सरह समान शिक्षा, हक, अवसर र स्वतन्त्रता पाउनुपर्छ भन्ने उसको मान्यता थियो। डलरवादी नारीवादलाई उग्र नारीवादको संज्ञा दिन्थी।
उसलाई नारीले पुरुषसँग स-साना कुरामा विद्रोह गरेको राम्रो लाग्दैनथ्यो। पुरुष नै नारी स्वतन्त्रताका लागि प्रमुख बाधक हुन् भन्ने कुरा ऊ मान्दैनथी। एकअर्काको अस्तित्व स्वीकार गरेर मात्र समानता आउन सक्ने कुरामा जोड दिन्थी।
प्रेममा सबै कुरा जायज हुने उसको धारणा थियो। यौनलाई प्रकृतिसँग तुलना गर्थी। श्रीमानले आफ्नी श्रीमतीसँग गरेको शारीरिक सम्पर्क हिंसा होइन एक अर्कोको आवश्यकता हो भनेर व्याख्या गर्थी। तर विवाहको नाममा प्रेमहीन सम्बन्ध बाँचिरहेकाहरूले गर्दा नै प्रेममा हिंसा हुन्छ भन्ने गरेको र प्रेममा कहिल्यै हिंसा नहुने र हिंसाको महशुस हुने ठाउँमा कहिल्यै प्रेम नभएको ऊ बताउँथी।
सृष्टिले कुरा हुन थालेको निकैपछि भनी, उसले मलाई स्कुल पढ्दादेखि नै मन पराएको कुरा। म त छक्क परेँ। नारी सहनशीलताको खानी र पृथ्वी भनेको कुरा साँच्चै हो रहेछ।
राधिकाले दिएको चोटमा सृष्टि मल्हम लगाउन आइपुगेकी थिई। प्रेम र विछोडको पीडाले विक्षिप्त भएर कसैको साथ खोजिरहेको बेलामा सृष्टिबाट आएको त्यो हार्दिक प्रेमको प्रस्ताव म कसरी अस्वीकार गर्न सक्थेँ र?
त्यतिबेलासम्म राधिकाले मलाई छोडेको एक वर्ष हुन लागिसकेको थियो। तर उसले मलाई किन छोडी, के कारणले छोडी मलाई थाहा थिएन। मेरो मनमा ऊप्रति माया अझै पनि उत्तिकै थियो। तर पुनः मिलनको लागि राधिकाले सबै ढोकाहरू बन्द गरिसकेकी थिई।
यस्तो अवस्थामा उसैलाई सम्झेर विगतमै अल्झेर बसिरहनु पनि त सम्भव थिएन। मलाई बेलाबेला मेरो अतितले झस्का दिन्थ्यो, त्यो कुरा म सृष्टिलाई सुनाउँथेँ। ऊ मायालु पाराले घाउमा मल्हम लगाउने प्रयास गर्थी।
मेरो विगत र हालको मानसिकता सबै बुझेर हो या अन्तरआत्मादेखि नै हो। सम्बन्धमा बसेपछि सृष्टि झनै प्रेमिल हुँदै गएकी थिई। राधिकाले धोका दिएपछि आफ्नै बुबा, दाजु भाइ वा परिवारका सदस्यबाट बलात्कृत एउटा नारीमा पुरुषहरूप्रति जुन भावना उत्पन्न हुन्छ।
महिलाप्रति मेरो धारणा पनि त्यस्तै थियो। तर सृष्टिको हार्दिकता र प्रेमले म फेरि आफ्नो आदर्शमा फर्किएको थिएँ।
ऊ हाम्रो अनुकूल समय मिलाएर अनलाइन आउँथी। मेरो पीडा र खुसी दुवैको भाषा बुझ्थी। परदेशमा विचलित नभई बस्न सम्झाइरहन्थी। तपाईंको म छु भनी आभास दिलाउँथी। जति मानसिक लगानी मैले राधिकामाथि गरेँ। सृष्टिले उत्तिनै लगानी म माथि गरी।
मलाई राधिकासँगको प्रेममा जुन फिलिङ, उत्साह र आदर्श थियो, ठ्याक्कै त्यही कुरा सृष्टिले आफूमा भएको मलाई सुनाउँथी र व्यवहारमा देखाउँथी। अब म कसरी भनुँ सृष्टिले मलाई गरेको प्रेम साँचो होइन भनेर।
हाम्रो प्रेम सम्बन्ध सुमधुर नै चलिरहेको थियो। तर मैले राधिकालाई जति प्रेम गरेको थिएँ, त्यति सृष्टिलाई गर्न सकिनँ। मलाई त्यही कुराले कता-कता हिनताबोध भइरहेको थियो।
प्रेम गर्छु भनेर नहुने रहेछ। यो त भित्री मनबाट नै आउनुपर्ने रहेछ। कता-कता लाग्थ्यो, के म पनि राधिकाले मलाई गरेजस्तै सृष्टिलाई धोका त दिँदै छैन? म सृष्टिसँगको सम्बन्ध सुमधुर र जीवन्त बनाउन चाहान्थेँ। तर बेलाबेलामा राधिकाको कारण मानसिक द्वन्द्वमा गुज्रिरहेको थिएँ।
अचानक एकदिन राधिकाले मेसेज गरी। 'खुबै आदर्शका कुरा गर्थ्यौ त, कति छिटै प्रेममा परिसकेछौ' भनेर आरोप लगाई।
मैले हार्दिकताका साथ भनेँ, 'हाम्रो विगतलाई एउटा समझदारीका रूपमा अन्त्य गरौँ। म तिमीलाई जिन्दगीभरि एउटा धोकेवाज केटीको रूपमा हेर्न चाहान्नँ। तिमीप्रतिको सम्मान अझै पनि उत्तिकै छ। मलाई तिमीले त्यतिखेर किन धोका दिएकी थियौ?'
जब मैले यो कुरा सोधेँ राधिकाले एक वर्ष अघि नै सकिएको कुरा निकालेर तिमी म माथि मानसिक हिंसा गरिरहेका छौ भन्ने आरोप लगाई।
म फेरि दोधारमा परेँ। के राधिका र सृष्टि दुवैलाई प्रेमको नाममा हिंसा गरिरहेको छु त? के म कसैलाई पनि प्रेम गर्न लायक छैन र?
के एउटा प्रेमीलाई आफ्नो प्रेम कसरी टुक्रियो भनेर बुझ्न पाउने अधिकार पनि छैन र? के म जिन्दगीभरि यही कन्फ्युजनमा बाँचिरहनु पर्ने हो र?
एक साँझ मेरो लगौटिया साथी अतीतले साउदी अरबबाट फोन गरेर आफ्नो प्रेम कहानी सुनायो।