झ्वाप्प निभ्यो, आशाको किरण।
घरको लौरी, पट्ट भाँचियो।
हिजोसम्म असङ्ख्य सपनाहरूको पछि दौडिरहेको ऊ
आज एकाएक टक्क रोकियो।
अह, थकित भएर विश्राम लिन होइन
ऊ त देशान्तरको यात्राभन्दा पर
दूर क्षितिजभन्दा माथि
कुनै अलौकिक शक्तिसँग गाँसिन
चिम्म आँखा चिम्लियो र हरायो।
प्रतारित थियो जिन्दगीसँग,
अजङ्गका लक्ष्य र चुनौतीका भारीले
झकझकाउँथ्यो उसलाई
कतिपल्ट गल्यो, रोयो र फेरि हिँड्यो
साहसिलो र अविस्मरणीय जीवनकथा लेख्न।
थुप्रै हारपछि केही सफलताका पानाहरू कोर्यो।
सुख र दुःखबीच ऊ लम्किरह्यो।
तर आज ऊ पूर्णरूपले थाक्यो र मौन भयो;
अन्ततः चित्तप्रशम हासिल गर्यो।
कर्कश उसका छिमेकीहरू,
खैचाँतानि गर्ने अंशियारहरू,
वर्षौंसम्म नबोली बस्ने आफन्तहरू,
आज कालले कप्लक्क निलेको उसको शरीरअघि
कारुणिक श्रद्धाञ्जलीका पोका फुकाउँदै छन्,
ऊ धिरललीत भएको बखान गर्दैछन्,
निष्ठुरी प्रियसी अश्रु धारावर्षण गर्दैछिन्।
वृद्धाश्रममा शरणार्थी बनाउने छोरो बिलासी बाँसको शय्या तयार गर्दैछ।
आत्मारूपी मृत शरीर यो देखेर खिसिक्क हाँस्यो!
कठै जिन्दगी! बाचुन्जेल नाटक, मरेपछि अर्को नाटक!
तर ऊ आज यी परवश्यकता भन्दा टाढा जाँदैछ।
एक मुस्लो आगोमा समर्पित भई
कर्णालीको छालसँगै कता बग्यो कता
भवाकाशका धुँवाको मुश्लो मात्रै देखियो।
ऊ हेर्दाहेर्दै शून्यमा शून्यसरी बिलायो।