हरेक आमा-बुबाका सन्तानहरुको
स्मृति हुन्थ्यो मानसपटलमा
नेपाल आमाको छोरो भएको थिएँ म
त्यो रातसम्म
जुन रात
मेरा हातमा हतकडीहरु लागेका थिए
खुट्टामा ठिंगुराहरु ठोकिएका थिए
अनि
मुख बन्द गरिएको थियो।
जब मेरा हातहरुबाट हतकडी चुँडिए
खुट्टाहरुबाट ठिंगुराहरु फुटालिए
मुखको बुझो झिकियो
त्यसपछि त म
जहाँ जान पनि सक्थेँ
जे गर्न पनि पाउँथेँ
मेरा हातमा अटाइ नअटाई
कलमहरु राख्न पाएकै थिएँ
साथीहरुलाई चिन्न छोडिसकेछु मैले
सबै बिराना हुँदै गएछन्
म बिरानो हुँदै गएछु
बिरानै बिरानाहरुबीच
अस्तित्वको खोजीमा
तछाड मछाड गर्न थालिएछ।
मैले चाहेको अस्तित्व
उसले कुल्चिदिन्छ भने
उसले चाहेको अस्तित्व
मैले कुल्चनै परेपछि
फेरि रात पर्न आँटिसकेछ
डाँडाबाट घाम ओराली लागिसकेछ
तारा जूनको छेक छँदै छैन।
औंसीको अध्यारो रात झैं
कहालीलाग्दो आभास भएपछि
म झसंग भएछु
अस्तित्व कता हो कता
हराइसकेको थियो
बाहिर शून्यतालाई चिर्दै
एकतमासाले
साप्सु बगिरहेको थियो
साप्सुले आफ्नो बगिसकेको अस्तित्व
खोजिरहेको थियो।
बाहिर शून्यतालाई चिर्दै
एकतमासाले
साप्सु बगिरहेको थियो
साप्सुले आफ्नो बगिसकेको अस्तित्व
खोजीरहेको थियो।