पुराना नाम सबै फेर्दै जाऊ
अनि नयाँ नाम राख्दै जाऊ
जसरी हिजोको बाघखोर
आज बागबजार भएको छ
काउलाखर्क कीर्तिपुर कहलिएको छ!
(आइ) एनजिओहरूले राखेका नाम पो नाम त
तिमी त नयाँ नामै राख्न नजान्ने कस्ता हौ गाँठे
नयाँ नाम राखे पो क्रान्तिकारी छलाङ मारिन्छ रे
जड सूत्रवादी होइन, परिवर्तनकारी पो भइन्छ रे!
त्यसैले गाउँबस्तीका नाम फेर
मठमन्दिरका नाम फेर
धर्म संस्कृतिका नाम फेर
पाटी पौवाका नाम फेर
बाटो गोरेटोका नाम फेर
पार्क उद्यानका नाम फेर
मूर्ति शिलालेखका नाम फेर
दरबार सहरका नाम फेर
हाइवे एयरपोर्टका नाम फेर
ऐतिहासिक धरोहरका नाम फेर
रणाशासनका नाम फेर
राजाका पालाका नाम फेर
पुराना थोत्रा नाम मात्र कति जप्छौ
बाह्यजनले जे-जे चाहन्छन्
त्यसै अनुसारका नाम फेर।
जात अनि नातागोताका नाम फेर
बाआमाका नाम फेर
बाजेबराजुका नाम फेर
के भो र आफ्नै नाम नि फेर्न चाहे फेर
मिरालाई म्यारी अनि हरिलाई ह्यारी भन
अनि आफू जन्मेको ठाउँ नै फेर
नत्र तिमलाई गाउँले गवाँर पो भन्छन् हौ गाँठे!
बालाई कति बा मात्रै भन्छौ ड्याडी भन या त ड्याड
आमालाई मम अनि काकालाई अंकल भन
मामा फुपालाई नि अंकल भनी बोलाउने गरे पो
काका-मामा-फुपालाई एकै दर्जा दिन सकिन्छ त
पुरानै नामले पुकारे त पाखे पो भइन्छ त गाँठे
असभ्य अनपढ अनि गाउँले पो भइन्छ त हौ!
त्यसैले अब देशको मुहार फेर्नलाई उठ
गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशका नाम फेर्नलाई उठ
नयाँ नयाँ नाम राख्नलाई उठ
मौलिक नाम मेटाउनलाई उठ
पुराना नाम परिवर्तन गर्नलाई उठ
ऐतिहासिक नामको निसाना बन्नलाई उठ
सक्छौ भने नेपालकै नाम फेर्नलाई जुट!
(लेखक कैलाली बहुमुखी क्याम्पस, धनगढीका सह-प्राध्यापक हुन्।)