महामारीको भय नहट्दै
बाढीले बस्तीहरु डुबायो रे
घर परिवार विचल्ली पारेको
खबरले सबैलाई रुवायो रे।
राति सँगै सुतेका परिवार
अहिले छन् रे कता-कता
कोहीको त शव भेटिएछ
कोही छन् रे अझै बेपत्ता।
कति बालबच्चा, जहान त
बने अरे असहाय, टुहुरा
कति मिठो सपना थिए होलान्
भए एकाएक जीवन अधुरा।
कतिको त घरमै बाढी पसी
सुकुम्बासी बनायो रे
भन्छन् कोही प्रकृति रिसाएर
भएभरको रिस खनायो रे।
प्राकृतिक प्रकोप मात्रै नभई
केही छन् हाम्रा दोस पनि
अन्धाधुन्ध प्रकृति मास्नेको
खुल्नुपर्छ अब होस पनि।
चामे डुब्यो, मेलम्ची डुब्यो
अरु पनि डुब्ने हुन् कि
लौन बेलैमा सोचौं
जोखिमबाट बचाउन सकिन्छ कि?