लालपूर्जा कतै बन्धकी राखेर
एक मानो सग्लो पेटको
सपना सजाउँदै
जब दोकाँधे झोला भिर्नेहरू
लामबद्ध थिए इमिग्रेसनमा
तुच्छ वचनले
घोच्दै भनेथे
निलो कोट लाउनेहरूले
'ए कुल्लीहरू !
एउटा लाइन बस्न जान्दैनौ?' भनेर।
घर देशको याद गर्दै
जब हातमा सावेल र गैंती लिएर
६० डिग्रीको घाममा
युद्ध गर्दै थिए रेगिस्तानमा
तुच्छ वचनले
घोच्दै भनेथे
सेतो हेलमेट लाउनेहरूले
'ए कुल्लीहरू !
एउटा सावेल चलाउन सक्दैनौ?' भनेर।
कहिले घामले डसी रह्यो माथिबाट
कहिले तिखो वचनको छुरीले
न्रिशंस घोची दियो छातीमा
तर गुनासो गर्न जानेन।
जब घर देशमा भवितव्य पर्यो
मुटु झस्कियो पहिला उनीहरूकै
अनि बिर्सी दियो
निलो कोट लाउनेहरूको दुर्वचन
बिर्सी दियो
सेतो हेलमेट लाउनेहरूको हुर्मत।
पसिनाले भिजेका हातहरू पुछ्दै
जब खल्ती टकटक्याएर
जुटाउँदै थिए मद्दत
उनीहरू आफैंले आफैंलाई
भन्दै थिए
'ए साथीहरू !
सहयोग गर्नु के हाम्रो कर्तव्य होइन र?'