ए कलम !
प्राण-प्रिय कलम !
तँलाई अब उजुरी लेख्ने हक छैन !
तेरो बन्धकी जीवनको धरौटी राख्ने गहक छैन
हो रे ! तँलाई सपना देख्ने हक छैन !
प्रिय कलम !
अध्ययनशील ज्ञानको बत्ति तँ
आमा र मेरो श्री-सम्पत्ति तँ
आमाको अतृप्त सपनाको मल्हम !
आत्माको संतृप्त बिपनाको कदम, तँ !
सिन्को नभाँच्ने ठूssला चल्तीका
‘ठूssला’ मान्छेका ‘ठूssला’ खल्तीका
‘गयल’ र ‘सुखसयल’ कलमसामू
तँ सिन्को जत्तिको नि छैनस् !
पापको स्तुति प्रस्तुतिसामू
तँ झिल्को जत्तिको नि भैनस् !
मेरो कायल कलम ! मलम बिनाको घायल कलम !
माटो बेच्नेलाई माइक दिएर
खोपडीमा खिया लागेकाको खल्ती भरिदिने
यी धमिला पानीका थोपाका बम !
छिनमा बरफ र छिनमा बाफ खोक्ने कलम
पलपल झुलाउने बहीमा ‘सही’ ठोक्ने कलम
अनि बिक्ने र बंग्याउने, टिक्ने र नंग्याउने
‘विराजमान’ कलमको भिडमा
मेरो कलम ! तेरो ‘हिजो आज भोलि’ मा फरक छैन
अहँ ! तँजस्तालाई सपना देख्ने हक छैन !
प्राण-प्रिय कलम !
आधा दर्जन क्रान्तिले तँलाई सुनेनन्
सपनाहरुले अस्तित्वलाई चिनेनन्
या अस्तित्वले सपनालाई गनेनन् !
आफ्नै खुट्टा आफैं समातेर
आफैंलाई कति पछार्छस्? पछारेर के नै लछार्छस्?
अब उफ्रेर कति मुन्टो बजार्छस्?
व्यासको भूमिमै खुलेआम तँलाई
चिथोर्दै, कोपर्दै, लतार्दै झारिएछ !
लुट, झुट, गुट र बुटमुनि
तेरो पिलन्धरे ढाड पिटिक्क पारिएछ !
माथिको तोकले ‘कु’ गर्दा गल्ने ठाउँमा
शताब्दीको भोकले ‘फू’ गर्दा ढल्ने तेरो आकृति !
धन र खुँडाले मनमा मुढा पेल्ने शहरमा
ज्ञानले विवेक उज्याउँने तेरो कृति !
छानोदेखि छायाँसम्म चोटिएको
तालुदेखि पैतालासम्म घोटिएको
नाता, कृपा र पैसाको तराजुमा पुरै फेल, तँलाई कसले गनोस्?
तेरो को साख्खे बनोस् ?
कोट र कोटा, भोट र फोटा कहीं नअट्ने
तेरा सपनालाई किन कसैले कठै भनोस्?
सपना त कुलीन कुर्सीहरुको पेवा हो
उजुरी त अप्ठ्यारा फर्सीहरुको मेवा हो
कुलिनसामू तँ मलिन दलिनको चमक छैन
तिकडम नजान्ने तँ बबुरोको केही चहक छैन
अहँ ! तेरो सपना देख्ने हक छैन!
पुज्य गुरू ! अब यो अधमरो ‘कलम’ लाई
धनभन्दा ठूलो भनी नचढाईदिनू!
तरबारभन्दा बलियो भनी नपढाईदिनू!
धनसित धर्म साटेको देखेनौं?
कुर्सीमा माटोको मर्म फाटेको देखेनौं?
कलम चलाउने मेरा हात
हात चलाउने मेरो शरीर
शरीर बचाउने मेरो नजिर
त्यही तरबारले रक्ताम्मे काटेको देखेनौं?
कैद हुनपर्नेले सलाम पाउँदा
आधा दर्जन क्रान्तिले ढाँटेको देखेनौं?
देखेर के गर्नु ? लेखेर के गर्नु?
लेख्ने कलमहरु फाटेको देखेनौ ?
भोको पेटले भकभकी उम्लेको मनले बग्रेल्ती आँशु बाटेको देखेनौं?
खै यसको चित्कार कसले सुन्छ ?
दुधको साक्षी बिरालोले यसैलाई ठुंग्छ
मन्चमा कहीं मुटु छचल्किने कसी, आँशु झल्किने मसी
या मास्टरको चक छैन
गुरु ! कलमलाई सपना देख्ने हक छैन !
ए कलम ! मेरी आमा र रिमालकी आमा जस्तै
सुत्न नदिने सपना देख्ने तँ
अहिले ब्युँझै हुँदा नै सुत्दा देखिने सपनाझैं तर्सिन्छस्
भुट्भुटिन्छस्, तर खै कहाँ बर्सिन्छस् ?
न तँ सुत्न सक्छस्, न सपना सुत्न सक्छ !!
तेरा झट्केलाहरुलाई
यो घरका निर्माता बाउको नाम लिन शर्म हुन्छ रे !
‘एक’ बनाउनेको औंला काटेर शालिक ढाल्दा धर्म हुन्छ रे !
बस् ! खट्किने टर्रा खोलेसामू
झुम्मिएका झट्केला झोलेसामू
निर्वश्त्र बम्कने ख्वामितले भाषण कसे पनि
तँ माथिको आकाश खसे पनि
तँ मर्नुहुन्न; मर्दैनस्, उठ्!
चोला बदलेर
झुसिल्किरे लार्भा सकिएर
प्युपा फुटेर पुतली बनेझैं
कायापलट भै स्वच्छन्द उड्ने
नयाँ पुतली काया जन्मिनु!
प्रिय कलम ! मेरो माया सम्झिनू!
पूरा जिन्दगी प्युपाको कुकुनभित्र नअल्झिनू
पुतलीका एम्बुसमा नबल्झिनू!
नत्र अहँ ! तरबारको लहरमा तेरो गहक छैन
कलम ! तँलाई सपना देख्ने हक छैन !
डा. धर्मागत भट्टराई पेडियाट्रिक इम्युनोलोजिष्ट (डक्टरेट अफ मेडिसिन, पेडियाट्रिक इम्युनोलोजी एन्ड र्यूमाटोलोजी) हुन्।