भोलेनाथ शंकर आज गजक्क परेर आसनमा बसेका थिए। न त गम्भीर ध्यान मुद्रामा थिए न त हाँस्य। उनका निधारमा देखिने मुजा नाखुसी भएको देखिने अनुहारको पहिचान बनेको थियो। यस नयाँ ठाउँमा आए पछि उनको गतिविधि र चालचलन भने फेरिएको थियो। अरू त अरू नन्दीसमेत नजिक जान डराउन थालेको थियो।
विगत केही दशकदेखि कैलाश पहिले जस्तो थिएन। शिवरात्रीको लगत्तै पछि लाग्ने न्याना घाम अलि चर्का हुन थालेका थिए। शंकरले ध्यान गर्ने स्थान, कुमार, गणेश र नन्दी पुत्रहरू लुकामारी खेल्ने स्थान विस्तारै पग्लन थालेका थिए। गर्मी याम शुरूआत हुनासाथ वरफ पग्लेर शिवधाम ओसिलो हुन थालेको थियो। कतैबाट खबर टिपेर ल्याएर नारदले भनेका थिए केही वर्ष पछि त यो सवै हिमालको हिउँ नै सकिन्छ रे। सातै लोकमा यस्तो हुदैछ रे।
शंकरले त्यति बेलै निर्णय गरेका थिए अब एउटा समर प्यालेस त खोज्नैपर्ने भयो। सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर कसैलाई थाहा नदिई प्लान बी बनाउनु पर्यो। तर ठाउँ खोज्ने पो कसरी। छोरा छोरी बच्चै छन्। केही जान्दैनन् बरू आफैँ स्थान खोज्न पो हिँड्नु पर्यो। यहीँ सोचेर शंकरजी लागे पूर्वतर्फ। कैलाशको बाटो दक्षिणपूर्वहुँदै हिमालको मुनि एउटा सुख्खा उपत्यकामा आइपुगे। साधारण मानिसको भेषमा हिँडेका उनलाई कसैले चिन्नेकुरा भएन। केही समय त्यतै बसे। जनसाधारणको गतिविधि हेरे।
कैलाशबाट हिँड्ने बेला विष्णु पनि गोप्य रूपमा आफ्ना लागि नयाँ स्थान खोज्न हिँडेका छन भन्ने सुनेका थिए। सधै सधै पानीमा सुत्नुपर्ने भएकोले अलि ओभानो र सुख्खा ठाँउ तिर जाने भनि विष्णु लागेका थिए। आफ्नो लोकको हिउँ पग्लन थालेकाले शंकर पनि नयाँ स्थान खोज्न त्यहीँ आइपुगे। स्वर्गमा भोले शंकर र विष्णु रूप फेरेर नयाँ धाम खोज्न पृथ्वीमा गएको ब्रह्मालाई मात्र थाहा थियो। आम मानिस भएर पृथ्वीमा आउनुपर्ने भएकोले आफ्नो सबै शक्ति ब्रह्मालाई बुझाएर यता लागेका थिए।
यसरी आफ्ना लागि स्थान खोज्ने क्रममा दुई जना अचानक सिद्धनगर भनिने स्थानमा भेट भए। अब वाध्यतावस् आफ्नो उद्देश्य अर्कालाई सुनाउनैपर्ने भयो। सकभर दुबैलाई मिल्ने स्थानमा धाम खोज्ने कुरामा दुबै सहमत भए। विष्णुको चाहना थियो मलाई पानी नभएको सुख्खा स्थान मात्र चाहियो। त्यो नभए पानी सोस्ने वालुवै वालुवा भएको स्थान चाहियो। दिनरात पानी पानी, वाक्क भएँ। उठ्ता पानी, सुत्दा पानी। म अब त्यहाँ बस्नै सक्दिनँ। एक दुई तीन सक्दिनँ। शंकरको भनाई रह्यो मेरा त नन्दी, भृङ्गीगण जाति थुप्रै छन्। वालुवै वालुवा हुने स्थानमा तिनले के खान्छन्? के गर्छन्। बरू भस्मे जंगल भएको ठाउँ छानौं। त्यहाँ जंङ्गली जनावर पनि हुन्छन्। ठाउँको खाँचो पनि हुँदैन। यहाँ भन्दा ४० योजन पश्चिमतर्फ एउटा त्यस्तो ठाँउ मैले देखेको छु। त्यतै जाऔँ। हाम्रो स्थान पनि त्यहीँ खडा गरौं। त्यहाँका मान्छे सरल छन्। हाम्रो दोस्रो धाम त्यतै खडा गरौं।
विष्णुलाई चित्त बुझ्ने कुरा भएन। एक त सुख्खाटार त्यसै राम्रो। सकभर पानी नहुने स्थानमा बस्ने मन बनाएर उहिल्यै आन्तरिक व्यवस्थापन गरि सकेको स्थान। वालुवा भएको नगरमा करेसाबारी पनि ब्यवस्थित भइसकेको दोस्रो महत्वपूर्ण वैकल्पिक स्थान। अब यी सन्काहाले कताको जंगलमा पो लाने भए। चलाख विष्णुले भोलेनाथ शंकरलाई प्रेमपूर्वक अनुरोध गरे प्रभो तपाईँ यतै सिद्ध डाँडोमा सबैले मान्ने भइ बस्नुहोस्।
तपाईँको स्थान पनि त्यतै निर्माण गरौंला। विश्वकर्मालाई भनेर चाँडै दरबार पनि बनाऔंला। मेरो पनि ससानो दरवार तल सुख्खाटारमा छदैँछ। आठा पाँचा बीच बीचमा भेटौंला। म पनि सँधै यहॉ बस्ने हैन। छ महिना उता वालुवानगरमा पनि बस्नै पर्छ। त्यो पनि मेरो लागि उत्तिकै प्यारो छ। यसो भए उताको भस्मे जंगल देखि यो सिद्धडाँडा सम्मै हाम्रो स्थान हुनेछ।
शंकरको रोषको कारण यहीँ थियो। वैकल्पिक स्थान खडा गर्ने कार्यमा विष्णुले भाँजो हालिरहेका थिए। खुरापात गरिरहेका थिए। आफ्नो आवेश शान्त गर्न ध्यान मुद्रामा बसे। ध्यानको क्रममा देखे दक्षिणतर्फको ठूलो होहल्ला छ। शहरमा चौडा बाटो, विशाल भवनहरु निर्माण भइरहेका छन्। त्यताका मान्छे उत्तरतर्फ हेर्दै हातले इशारा गरिरहेका छन्। ठूला ठूला यन्त्र पनि चलिरहेका छन्। थुप्रै मान्छे छन्। अब भने शंकरको तेस्रो नेत्र खुल्यो। यस पछि त के चाहियो र ? तुरून्त नन्दी, भृङ्गी र गणेश बोलाए। गोप्य मन्त्रणा शुरू भयो। हेर विष्णुले जालझेल गर्दैछन्। सिद्धडाँडामा हाम्रो समर दरवार भनेर बनाउने अनि मुनिबाट तिम्रा बाहन मुसा लगेर दूलो बनाइदिने।
कुनै दिन भित्रभित्रै छेडेको पहाडमाथि बस्दा थचक्क भयो भने त हाम्रो एक चिहान हुँदैन? ल सुन गणेश। यो सिद्धडाँडोलाई तिम्रा बाहन लगाएर हामीले नै सम्याउने। त्यहाँ निस्कने ढुङ्गामाटो वायुमार्गबाट तुरून्त दक्षिणको शहरतर्फ उडाइ दिने ब्यवस्था मिलाऊ। कसैलाई थाहा नै हुँदैन। ढुङ्गा उप्कायो, माथि माथिबाटै उडाइदियो। मैले वायु देवतासँग कुरा गरिसकेको छु। उनले भनेका छन् कागज वा पात भए त सुटुक्क उडाएर लैजान्थे प्रभु, यो ढुङ्गो अलि गह्रौँ हुन्छ। बरू विश्वकर्मासँग भनेर स–साना तार हालिदिने ब्यवस्था गरिबक्स्योस् प्रभु। म कसैले थाहा नपाउने गरि उडाएर पुर्याइदिन्छु।
मैले सुनेको छु, दक्षिण तिरका राजासँग त्यस्ता फलामे तार थुप्रै छन् रे। हामीले भन्नासाथ लिएर आइहाल्छन्। लाग्ने खर्चबर्चको ब्यवस्था पनि गरिहाल्छन्। अनि त्यहि हालौंला। अब यत्रो पहाड खोतल्न त तिम्रा बाहन पनि थुप्रै चाहिन्छ। तिनलाई ख्वाउने प्याउने काम गर्न पनि धेरै स्वर्ण मुद्रा आवश्यक पर्छ। फेरि यीनलाई बिरालाबाट पनि सुरक्षा गर्नै पर्यो। स्वर्ण मुद्रा खोज्न पनि अप्ठ्यारो नै छ। आजभोलि त कुवेरको भण्डारको जिम्मा पनि यी धुर्त विष्णुलाई नै दिइएको छ। बरू पहिले कुवेरै ठीक थिए। उनलाई त पातालतर्फ दूत बनाएर पठाएका छन्। अब विष्णुको नै सेवा गर्नुपर्छ। स्वर्ण मुद्राको ब्यवस्था उनैले गर्नेछन्। अब भने भोलेनाथ शंकरको द्धिविधा सकिएको थियो। अघिको रोष शान्तिमा बदलिसकेको थियो।
यसैबीच नन्दी गणले सिद्ध डाँडोलाई कसरी सम्याउने भन्ने योजना बनाइ सकेका थिए। ठाउँ पनि हेरेर आइसकेका रहेछन्। प्रभु यो योजनालाई स्वीकृति बक्सियोस्। केही स्वर्ण मुद्रा र फलामे तारको ब्यवस्था होस्। वायुदेवले यी सिद्धडाँडावाट प्राप्त हुने सामग्री फटाफट फलामे तार हुँदै दक्षिणतर्फ हुइक्याउने छन्। अब यो योजना सरक्क लागू गर्न सकिन्छ। हामीले सुनेका छौं यो पहाडको गर्भमा हिरा, माणिक पनि छन् रे। यीनलाई भने यतै राखौंला। यीनको बिक्री गर्नासाथ हामी पनि सम्पन्न हुनेछौं। लक्ष्मी काकी जस्तै गहना हाम्री मातालाई पनि ल्याऔंला। यसो भन्दा किसोर वयका कुमार र नन्दीका छोरा तिल्केका अनुहारमा चमक देखिन्थ्यो।
शंकरले विचार गरे अबको भारदारी सभामा विष्णुसँग सल्लाहमा नै सिद्धडाँडो खोस्रेर त्यहाँबाट हिरा र मणि खोज्ने जिम्मा गणेशलाई दिने प्रस्ताव राख्न लगाउनुपर्यो। गणेशले आफ्ना वाहनको मद्धतले रत्न खोज्ने ब्यवस्था गरिहाल्छन्। रत्न खोज्ने क्रममा बाधा दिने ढुंङ्गा चट्टानलाई वायुमार्गबाट उडाई दक्षिणी दिशामा पर्ने राज्यमा पठाउने र सो बापत पनि स्वर्ण मुद्रा प्राप्त गरि ढुकुटी बढाउने कुरा प्रस्तावमा राखीदिए भैगयो। विष्णुको यो प्रस्ताव भारदारी सभामा अनुमोदन भइहाल्छ।
विष्णुले शंका प्रकट गरे, हैन भारदारी सभामा पास होला र यो प्रस्ताव? सूर्यदेव, वरुणदेव, बृहस्पति र इन्द्रले पनि विरोध गर्लान कि? फेरि यीनका शाखा सन्तान पूर्व पश्चिम नै फैलिएका हुन्छन्। स्याल हुइँया लगाइहाल्छन्। हाम्रो आकासवाणी भन्दा यीनका टुइटफुइटको जोर धेरै हुन्छ।
छाड्नोस् वरूण, इन्द्र, सूर्य, वृहस्पतिलाई। अहिले ती आफ्नो स्थान नपाएर भौतारी रहेका छन्। न निको खाने ठेगान छ, न नै सुत्ने। कहिले पूर्व, कहिले उत्तर र कहिले दक्षिणतर्फ भौ‘तारिरहेका हुन्छन्। बासँ पनि अंश लिइसके आमाले पनि माया गर्दिनन्। बरू जसरी अघि तपाईँले हिरण्यकश्यपको अन्त्य गर्दा न पृथ्वी, न जल, न आकाशमा भनि घुँडामा राखेर समाप्त गर्नुभएको थियो त्यसै गरी यो प्रस्तावलाई पनि शून्य भन्दा माथि र शून्य भन्दा तल राखौं र पास गरिदिऔं। कसैले पत्तै पाउदैनन्। यता उता झुक्किन्छन्। यता हुइँय्या उता हुइँय्या लगाउँदै गर्छन्। हामी हाम्रो काम गरौंला। शंकरको तेस्रो नेत्र मात्र हैन तेस्रो बुद्धी पनि खुलेको थियो। विष्णुको प्रश्न थियो अनि त्यो शून्य भन्दा धेरै शून्य भन्दा थोरै भनेको नि? शंकरले उत्तर दिए के हुनु नी शून्य भन्दा धेरै ‘एक’ र त्यो भन्दा कम ‘नौ’।
विष्णुको पनि अब भने बुद्धीको बिर्को खुल्यो। ल हुन्छ म भारदारी सभामा १, ९ र ९ को यस्तो संयोजन गर्नेछु, सिद्धडाँडो पनि सम्म बन्ने, गणेश र उनका बाहनहरुले पनि डाँडा सम्याउने काम पाउने। एक तीर अनेक शिकार। अनि हाम्रा जहानले पनि नयाँ आभुषण पाउने। वाह ! शंकर प्रभो क्या जुक्ती निकाल्नु भो।
ए नन्दी ल दुई वटा पात्र ल्याउ त चियर्स गरौं, शंकरले आदेश दिए।
अहो, कस्तो कर्कश र तीखो स्वर। भित्ताको घडीमा हेरेको बिहानीको ३ बजेको रहेछ। कोरोना कहरमा कसैलाई अक्सिजन कम भएर होला अस्पताल लैजान हुनुपर्छ एम्बुलेन्स आएको रहेछ। एम्बुलेन्सको साइरनले निन्द्रा खुल्यो। हत् कस्तो सपना पो देखिएछ।
santosh_nepal@hotmail.com