लगातार चार महिनादेखिको दौडधुपबाट दस दिनको विश्राम लिँदै म फेरि अर्को यात्राको लागि विन्द्यवासिनी मन्दिरको आडैमा गाडीको पर्खाइमा थिएँ। जागिरको शिलशिलामा पोखरा आएदेखि बस्ने थलो मैले यही मन्दिर छेउको घर बनाएको हुँदा सहजताको लागि गाडीलाई यही लोकेसन दिएको थिएँ। दिएको समयमा गाडी आइपुगेको थिएन। हुन त यो नेपाल हो नि । ठीक ठाउँमा ठीक समयमा के पो हुन्छ र ? फेरि हामीलाई कुर्ने र कुराउने बानी जो परेको छ।
कुर्ने कुरा गरिरहँदा एक्कासी रोमा फेरि आँखैछेउ उभिइ। ऊ मलाई यसैगरि कुरिरहन्थी। म पनि कहिले काहीँ उसलाई यसरी नै कुर्थेँ। यस्तै पर्खाइमा दुई-चार मिनेट कुर्नुपर्दा हाम्रो दुई चार दिन बोलचाल नै बन्द हुन्थ्यो। तर ती सबै विगत थिए। आज सम्झना मात्र। दुई चार वर्षको पिरती पनि यति सजिलै बियोग हुनेरहेछ। सरकारी जागीरेलाई नै बिहे गरिदिने उनका बाआमाको ढिटमा उनी पिल्सिइन्। सरकारी जागीरसँग तौलँदा करीब १ लाखभन्दा बढी महिनामा आउने मेरो रोजगारी, काठमाडौंको स-सानो घर, आमा बाबासहितको मेरो सानो परिवार, यो खाइलाग्दो ज्यान। अहँ, केहीले पनि जित्न सकेन।
सरकारी अधिकृतसँगको १५ महिनाभन्दा लामो दाम्पत्य जीवन उसको कसरी बितिरहेको होला? घरीघरी सम्झन्छु, उसलाई मनपर्ने फूलको गुच्छा बोकेर त्यस दिन म उनको बिहेमा पुगेको। आज पनि मुटु ढक्क फुल्छ, कुन साहसमा उनको बिहेमा पुगे हुँला? अनि कुन सास फेर्दै म फर्के हुँला? तर केहीदिनको छटपटीपछि मैले मनको दुखाइ सहँदै जीवनलाई सहज बनाइदिएको थिएँ।
जीवनलाई आफ्नो गतिमा बग्न दिनुको विकल्प थिएन मसँग। परिवर्तन केही कुरामा भयो। बिहे गर्ने रहर हरायो। जीवनलाई एक्लो अनि स्वच्छन्द ढंगले बिताइदिने रहर पलाएर आयो। त्यसैले टुर प्याकेज खोज्छु र आफ्नो जिम्मेवारीबाट केही दिन विश्राम लिएर एउटा झोला बोकेर दौडिहाल्छु।
प्रेम, सुन्दर युवती, डेटिङ यस्तै यस्तै कुराबाहेक पनि त जीवन जिउन सकिन्छ नि। एउटा वयस्क मन र अर्को प्रेममा हारेको मन खुब लडिरहन्छ, आफू नै सही छु भनेर। जीत हारेको मन कै भैरहेको छ यी दिनहरुमा। साँच्चै भन्नुपर्दा म जीवनलाई प्रयोगशाला बनाइरहेको छु अचेल।
कसैले आँखै अगाडि आएर ‘दाइ’ भन्दा पो म झस्किएँ।
‘शरण सापकोटा तपाइ नै होइन?’
मैले इशाराले ‘हो’ भन्ने जानकारी दिनासाथ। ‘ल दाइ कत्ति हर्न बझाएँ। ऊ त्यही हो गाडी। हिड्नुहोस्।’
म उनको पछाडि पछाडि गाडीतर्फ लागेँ।
गाडी तुफानसँग पृथ्वी राजमार्गमा गुड्न थाल्यो। विजयपुरको पुल तर्दै गर्दा उनीसँगको सिक्लेससम्मको यात्रा फेरि ताजा बनेर मानसपटलमा कुद्न थाल्यो।
सिक्लेसको बाटो बन्दै गरेको करण ताङतिङहुँदै जाँदा ठीक हुन्छ भन्ने साथीहरूको सल्लाह बमोजिम हामी मोटरसाइकलमा ताङतिङहुँदै सिक्लेससम्म पुगेका थियौ। त्यहाँबाट कापुचे तालसम्मको यात्रा हिँडेर तय गर्न सकिने थाहा पाएपछि हामी दुबैले छिटै अरु साथीसहित कापुचे हिमतालसम्म पुग्ने योजना बनएका थियौं।
सिक्लेसबाट फर्कँदा हाम्रो मोटरसाइकल बिग्रिएको, अर्को एक यात्रीले सहयोग गरेको, अनि राति अबेर पोखरा झरेको। त्यो दिन जति थकानपूर्ण भए पनि निकै सुखद थियो। गुराँसका जंगल हामीसँग रमाइरहेको थियो। नजिकै बसेर हाम्रो जोडीलाई जिस्क्याइरहेको हिम श्रृंखला अहिले पनि उसरी नै उभिएको छ।
अब कुन मुख लिएर तिनीहरुको अगाडि एक्लै उभिने होला। रोमासँग जोडीएका थुप्रै रंगीन यात्राहरू र यात्राका योजनाहरु उनको सिउँदो रंगीए लगत्तै रंगहिन भै दियो।
साँची- ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर, सानीलाई बोलाउँदा बोल्दिन। पर्नु पिर पर्यो ……..।’ भन्ने गीत यतैको होला कि त। अकस्मात मन विजयपुर खोलामा आएर अडियो।
यो मन यस्तो जिनिस हो जसले कुनै तयारी, पैसा, समयबीना पनि हामीलाई छिनछिनमा जहाँ पनि पुर्याइदिन्छ। यस गाडीमा यात्रा गर्ने हामी यात्रीलाई एक कप चिया खान यो देउराली भन्ने ठाउँसम्म आइ रोकिन चाहि झण्डै दुई घण्टा लाग्यो होला। तर मेरो मन सिक्लेस ताङतिङ सबैतिर घुमेर फर्किसक्यो।
अर्डर गरेको केही बेरमा नै साहुजीले दूधको चिया टेबलमा राखेर गए। यो दूधको चियामा उनको सम्झना चिनीसरि नघुलिने त कुरै भएन। उनकै संगतले म चिया खाने जो भएको थिएँ।
‘मलाई पनि एक कप तातो चिया। कडा रंग। मिठ्ठो है दाइ।’
आवाज आएतिर हेरेँ। गाढा हरियो रंगको टिसर्टमा उनको गहुँगोरो बाटुलो अनुहार झन खुलेको थियो। स-साना आँखामा गाजलले रेखा कोरिदिएको थियो। कपाल चाहि छोटो गरि काटेको थियो। तर जीउडाल अनुसार छोटो कपाल पनि उनलाई निकै सुहाएको थियो।
‘केही भयो र ?’ मैले अलि बढि नै हेरेँ कि के हो? उनले मलाई सोधिहालिन्।
‘सरी। केही होइन।’ मुसुक्क हाँसेर उनलाई जवाफ दिए लगत्तै म चियामा ध्यान केन्द्रित गर्न थालेँ।
‘सुन्नु न। मेरो एउटा फोटो लिइ दिनु न।’ उनको हात फोटो खिच्ने आग्रह लगत्तै मोबाइल थमाउनको लागि आइपुग्यो।
सामान्य भन्दा नि सामान्य चिया पसलमा उनले फोटो खिच्न भनिरहेकी थिइन्। म अलमलमा परिराथेँ।
‘यात्रामा हिँडेपछी मिलेसम्म हरेक पल म तस्वीरमा अटाउन चाहन्छु। लेख्ने त्यति क्षमता छैन। त्यसैले मलाई तस्वीरहरुको सँगालो राख्न मन छ। हरेक यात्राको। यो जीवनको। हरेक पलको।’
उनले चियाको कप ती गुलाबी ओठैछेउ पुर्याउँदै मलाई मैले सोध्दै नसोधेको विषयमा स्पष्ट पार्दै फोटो खिच्न पोज दिदै थिइन्।
फोटो खिचेर मैले उनको मोबाइल उनकै हातमा फर्काइदिएँ।
‘तपाई पनि स्काइ टूरबाट यात्रामा हो कि?’
‘हो।’ मैले जवाफ दिएँ।
‘मलाई पनि यो टूरको हरेक प्याकेज निकै मन पर्छ। म मिलेसम्म हिडिहाल्छु घुम्नलाई।’
उनी बोलिरहेकी थिइन्। मलाई यता कसैले सोधेको कुरामा जवाफ दिन नि मन नलाग्ने। तर उनी सोध्नै नपर्ने, हरेक कुराको फेहरिस्त बताइरहेकी थिइन्। तर उनको बोल्ने शैली र बोल्दा हाँसीरहने बानी चाहि आकर्षक थियो। त्यसैले गाडीको ड्राइभर भाइले नबोलाएसम्म म उनको कुरा खुबै चाख दिएर सुनिरहेको थिएँ।
यिनको तुलनामा रोमा चाहीँ अलि कम नै बोल्ने हुन्। त्यसैले त हामी २, ४ दिन नै नबोली बस्न सक्थ्यौं। यिनको जस्तो स्वभाव भै दिएको भए त हाम्रो त्यतिका लामो झगडा हुने नै थिएन। शायद बाबा आमालाई नि कन्भिन्स गर्न सक्थिन् र अहिले यो यात्रामा उनी मसँगै मेरै सिटमा बसिरहेकी हुनेथिन्।
‘हेलो’ आवाजले मेरो कल्पनाभंग भयो। मेरो सिटमा त तिनै अजनबी पो बसिरहेकी छिन् त।
‘तपाइँ अघि यही सिटमा हुनु हुन्थ्यो र? मैले कस्तो याद नगरेको’ आफ्नो आडमा अलि अगाडिसम्म अर्को मान्छे बसेको मैले थाहा पाउँदा पाउँदै पनि उनीलाई प्रश्न सोधेँ। आफ्नो नाटक आफैंलाई रमाइलो लागिरहेको थियो।
‘होइन। यहाँ बस्ने अर्को साथीलाई बमिट हुन्छ रे। त्यसैले मैले झ्यालको सिट उसलाई दिएर म यहाँ पछाडि बस्न आएको। संयोग हेर्नु न। तपाईँ पो हुनु हुँदो रहेछ।’
मलाई उनी आएकोमा केही नराम्रो लागेन। साँच्चै भन्नुपर्दा मलाई उनी मेरैछेउ आउँदा केही खुशी जस्तो महसुश भएको थियो। रोमा नभएपछि बदलिएको मेरो जीवनमा आज यी अजनबीको उपस्थिति उस्सै प्रिय पो लाग्न थाल्यो।
लता रहेछ नाम। योग गुरू रहिछन्। पढ्न चाहीँ फिजियो थेरापिस्ट पनि पढेको रे। काठमाडौं कर्मथलो। घर पर्वत रहेछ। पछि भारतमा गएर योग पनि सिकेकी रहिछन्। फिजियो थेरापी पढाइ र योग चाहि पेशा भए पनि लगभग उस्तै क्षेत्र भएकोले उनको पेशा राम्ररी चलेको रहेछ।
घाँटीमा लगाएको माला हेरेर नै थाहा पाएकी थिएँ उनी ओशो मान्दिरहिछन्। उनी सबले देखिने गरि ओशोको भक्त। म कसैले थाहा नपाउने गरी ओशोको भक्त। उनले ओशोको बारेमा धेरै कुरा सुनाइन्। ध्यान अनि योगको कुरा पनि सुनाइन्। घरको एउटा र्याकभरि मैले पढेका ओशो सम्बन्धी पुस्तकहरु र अडियो रेकर्डका चाङहरु अनि ओसो र ध्यान सम्बन्धमा थाहा पाएका सबै कुराहरु मैले बिर्सिदिएँ, उनको कुरा सुनिरहँदा। साँच्चै भन्दा उनले सुनाएका हरेक कुरा म पहिलो पटक सुनेको झै उत्सुक भएर सुनिरहेको हुन्थे। अनि उनी मेरो उत्सुकता देखेर अझ कुरा थपिरहेकी हुन्थिन्।
उनी ध्यान र योगको मामिलामा निकै नयाँ थिइन्। हरेक वर्ष विपश्यनाको ध्यान शिविरमा जाने म, हरिद्वारमा गएर योग शिविर नै सञ्चालन गर्ने म र मेरो समूहको बारेमा उनी बेखबर थिइन्। पोखरामा म योग र ध्यान सिकाएर महिनामा १ देखि २ लाखसम्म त आम्दानी नै गर्छु अनि योग, ध्यान र खानपान सम्बन्धमा मैले लेखेका ३ वटा किताबको बारेमा यिनलाई थाहा नै छैन।
मैले योगमा नै विद्यावारिधि गर्ने लक्ष्य लिएको छु र ध्यानमा बस्नु मेरो लागि कति प्रिय कर्म हो। म सानै उमेरदेखि आध्यात्ममा रुची राख्थेँ र लगाव उत्तिकै छ भन्ने थाहा भो भने यिनी लाजले कति राती हुँदी हुन्। तर होस्, म उनको अल्पज्ञानमा पनि निकै रमाइरहेको छु। आखिर खुशी हुन सक्नु नै ठूलो कुरा हो नि। म यसैमा मस्त छु। अनि उनी पनि मस्त छिन्।
सुन्दर बजारको बोर्ड देखिनासाथ ‘यताबाट एग्रिकल्चर कलेज पुगिन्छ। मैले पनि नाम निकालेको थिएँ तर पढ्न मन लागेन। मेरो भाइ चाहि सेकेण्ड एयरमा यहाँ पढ्छ।’
लमजुङ बजारबाट तलतिर झर्दै गर्दा ‘यहाँ मेरो फूपुको घर छ। तर म नौ कक्षामा पढ्दा आएको। घर त बिर्सीसके।’
उनी आफूले बुझेको आफूलाई थाहा भएको जति कुरा मलाई एकदम उत्साहित भएर सुनाइरहेकी थिइन्। उनी मेरो यात्रामा मेरो गाइड बन्दै थिइन्। म पनि नयाँ ठाउँमा पुगेको यायावर नै थिएँ, उत्सुक यात्री नै थिएँ।
खुदीको सुरूङमार्गभित्र हिड्दा अन्धकार थियो। अन्धकार निकै रहस्यमयी हुन्छ र डरलाग्दो पनि। फेरि केही यात्रा पश्चात नै अघील्तिर उज्यालो देखियो। हेर्दा हेर्दै फेरि उज्यालो दुनियाँमा हाम्रो गाडी अगाडि बढ्यो। जीवन यात्रा पनि यस्तै त हो नि। कहिले अन्धकार। कहिले उज्यालो।
रोमासँग छुट्टिएपछिको अँध्यारा पलहरु आज झण्डै डेढ वर्षपछि लतासँगको भेटले मिरमिरे उज्यालो भए जस्तो लागिरहेको छ।
कता हो पढेको थिएँ, ‘फूल, स्त्री र चंगाको पछि नलाग्ने मान्छे नै हुन्न रे।’ खोइ होकि के हो? अध्यात्ममै रम्न खोज्ने म स्वयं यो भौतिक शरीरको आशक्तिमा कति चाँडै महिलाको अगाडि पानी पानी भै दिन्छु। आफैंप्रति ग्लानी हुन्छ। खैर, काम, क्रोध, लोभ, मोहबाट छुट्कारा पाए त मोक्ष प्राप्त भै गयो नि। कयौ जुनी बित्छ यो प्राणीको, यिनै कुरामा लिप्त भएर। म बबुरो। जम्मा २८ मा हिड्दै गरेको केटोले यतिसम्म संकल्प गरेर अहिले नै योगीको सपना देख्न्नु पनि कसरी ठिक भन्नु खोइ। स्वार्थी, लोभी म। आफ्नै मनसँग त कसरी ढाट्नु त ?
डर लाग्दा भीरमा आँखा चिम्म गर्दै। खाल्डाखुल्डी बाटोमा एक अर्कासँग अन्जानमा ठोकिदै त कुनै बेला ठोकिनबाट जोगिदै अनि कहिले बहाना बनाउँदै एक अर्कासँग ठोकिदै, हाम्रो यो यात्रा अघि बढिरहेको थियो।
जे जस्तो भए पनि पुरुष आशक्ति। एउटी चञ्चल केटी आफूछेउ बसेर आफ्नै परिचित मान्छेलाई जस्तो व्यवहार गरिरहँदा टाढा हुन चाहि नदिने। भलै प्रेम अरू कसैमा छछल्किएको होला। तर आशक्ति चाहि जहाँ जो सुकैसँग पनि भइदिने। छुँदाको आनन्द, हेर्दाको आनन्द, बोल्दाको आनन्द, सुन्दाको आनन्द पनि अपार भैदिन्छन् कहिले काहीँ।
लता मेरो यो सुवर्ण यात्राको सुगन्ध भैदिएकी थिइ। च्याम्चे झरना अगाडि अघाउन्जेल फोटो खिचेपछि ऊ आरामले मेरो काँधमा निदाएकी थिइ। अनि मैले पनि उनी भरसक नलडुन् अनि नब्युझिउन् भनी आफ्नो कुम उनीपट्टी अलिकति झुकाइदिएको थिएँ। खाल्डाखुल्डी बाटोमा गाडी उफ्रिँदा उनी मेरो छातीको देब्रे पाटोमा नै आइपुग्थिन्। मुटुको धड्कनमा धड्किरहेको अरू कसैको नामले उनी झस्किन्थिन् शायद। त्यसैले उनी बिस्तारै आफ्नो मुण्टो मेरो कुममा नै अडाउन आइपुग्थिन्।
आठ घण्टाको यो यात्रामा उनी केही विशेष भै दिएकी थिइन्। कारण उनले रोमाको सम्झना आउने मेरो मनमा आफ्नो सम्झना सारेकी थिइन्। अनि रोमाको कल्पनामा हराउने मेरा समय उनको कुराकानी सुन्नमा बिताइदिएकी थिइन्। पुक्क पुक्क गाला परेकी उनी पुतली जस्तै थिइन्।
चामेमा सबै जना लोकल कुखुराको मासु र भात सुरूप सुरूप खाइरहँदा ऊ भने खान खाइकन फोटो खिच्न नै मस्त थिइन्। कहिले हावासँग, कहिले अगाडि उभिएको पहाडसँग त कहिले मोबाइलसँग नै पो गफमा मक्ख छिन् साथी। उसै दंग।
चामेमा रात बिताउने योजना अनुरुप सबै साथीहरु हामी बसेको होटलको खुला ठाउँमा क्याम्प फायर गरी रमाइलो गर्न भनी दाउरा र खानपिनको जोहो गर्न थालेँ। म भने बजार माथिको जिल्ला प्रशासन कार्यालय जान हतार गर्दै थिएँ। भरखरै खरिदारमा पास गरेर मेरो ठूलो बुवाको छोरी, हाम्रो खलककै कान्छी बहिनी त्यहाँ कार्यरत थिइन्। मैले बहिनी भेट्न जाने आफ्नो योजना लतालाई बताइरहँदा ऊ पनि जानको लागि अग्रसर भइन्। झमक्क परिसकेको चिसो रातमा मोबाइलको उज्यालो बाल्दै चारैतिर ठिंग उभिएका डाँडालाई हेर्दै उनी र म उकालो लाग्न थाल्यौं।
‘लता। कहाँबाट यता आइपुग्यौ?’
एउटा पुरूषको आवाजले हामी दुबै पछाडि फर्क्यौं। एउटा केही अग्लो, पातलो काँठीको पुरूष उभिएको थियो हाम्रो अघिल्तिर।
केही असहज महशुस गर्दै तर मन्द मुस्कानसहित उनले ती पुरुषलाई बेलिबिस्तार लगाइन्। अँध्यारोमा खासै मान्छे ठम्याउने स्थिति नभए पनि हामीले एक अर्काको परिचय गर्यौं। लताको साथी, तिनी पुरूषनै मेरै बहिनीको हाकिम रहेछन्। शाखा अधिकृत रे, सहायक प्रमुख जिल्ला अधिकारी। नाम चाहि छिट्टै भुले तर थर आचार्य चाहि बिर्सेको छैन।
उनी खोइ को साथी भेट्न जान लागेको रे। छोटो कुराकानी पछि हामी पुन माथितिर उक्लियौं। ती आचार्य सर तलतिर झरे। तर लता साथी भेटिएकोमा कुनै उत्साहित देखिनँ। ती पुरूष भेट्नुअघि झै उनी सामान्य कुराकानी गर्दै अघि बढी।
बहिनीले खुशी हुँदै ढोका खोलिन्। सानो झ्याल भएको एउटा कोठा। एउटा बेड र एउटा कुनामा सानो भान्छा। यतिको व्यवस्था त गरिदिएको रहेछ सरीनालाई कार्यालयले। खुशी लाग्यो, यत्ति टाढा एक्लै भए पनि रत्तिभर नआत्तिकन बसेकी रहिछ। उनको अफिसले दिएको कोठामा अर्की महिला पनि देखिइन्। उनी भने भान्छापट्टी फर्केर केही पकाइरहेकी थिइन्। मैले खासै मतलब नगरि लता र सरीनाको परीचय गराउँदै उसकै बिस्तारामा बस्दै थिएँ। ती उनकी साथी हामीतिर फर्किन् र सरीनाले परीचय गराउन थालिन्।
‘दाइ। उहाँ हाम्रो सरको म्याम। रोमा भाउजु।’
जमिन थोरै हल्लिए जस्तो भो। हात पक्कै कामेकै हुनुपर्छ। तर हात जोडेर नै नमस्ते गरेँ मैले उनलाई। उनले नि नमस्ते फर्काइन्।
झण्डै डेढ वर्षपछिको अकस्मात भएको यो भेटमा हामीसँग कुनै उत्साह थिएन। तर उनको अनुहारमा चाहीँ थप त्रास भने देखिदै थियो। दुब्लो ज्यानमा पुटुस्स पेट उठेको रहेछ मेरी रोमाको । फेरि मनलाई सम्झाएँ, मेरो अगाडि उभिएकी यिनी अब मेरी रोमा होइनन्।
‘रोमा सापकोटा’ मेहेन्दीले हातमा लेखेर मलाई देखाउँथिन्। कहिलेकाही त मेरो र उनको नाम मिसाएर हाम्रो हुनेवाला छोरा, छोरीको नाम पनि राख्थिन्। रोमा र शरणबाट नाम मिसाएर छोरा भए रोशन अनि छोरी भए रोशनी भनेर नामाकरण गरेको हिजो जस्तो लाग्छ। पहिले पनि शालिन अलि कम बोल्ने उनी अकस्मात मेरो उपस्थितिले होला झन लाटी जस्तै भएकी थिइन्।
अब त्यहाँ बोल्न र भन्न खासै कुरा पनि थिएनन् हाम्रा लागि।
मन त हो, ‘बस्नुस् न’ छेउको मुडा उनीतिर सारेर म उनलाई बसेर आराम गर्न सुझाउँदै थिएँ। कति कमजोर देखिएको थियो ज्यान। उनी पनि टुसुक्क बसिन् मेरै छेउमा। ४ वर्षसम्म एक भै, जीवनमा केही विघ्न आइपरेर छुट्टिनुनी पर्ला भन्नेसम्म नसोचीकन असल सहयात्री सरह, सत्य भन्नुपर्दा श्रीमान श्रीमतीभन्दा फरक व्यवहार नगरिकन बसेका हामी आज यसरी अरुले परिचय गरिदिएर अभिवादन गर्दै मौन बस्नुपर्दा कस्तो लागि रहेको होला ? लेख्ने शब्द छैन।
आखिरमा सत्य त लताको साथीको श्रीमती मेरी रोमा थिइन्। संयोग पनि कस्तो। मेरो रोमालाई मबाट टाढा बनाउने केटा मेरै बहिनीको हाकिम थियो। सरिनालाई पनि मेरो प्रेम सम्बन्ध थाहा थियो। ती केटी रोमा नै हुन् भन्ने त थाहा थिएन। तर एक दुई पटक फोनमा कुरा गरेकी थिइन् र फोटो पनि आक्कल झुक्कल देखेकी थिइन्। र हाम्रो सम्बन्ध टुटेपछि सम्झाउने पनि यिनी नै थिइन्।
उनी उमेरमा म भन्दा ४ वर्ष कान्छी भए पनि हाम्रो परिवारको म कान्छो छोरा र उनी कान्छी छोरी भएकोले पनि होला हाम्रा कुरा मिल्थे। एक कप चिया खाएर हामी तल होटलतिर फर्कियौ। जाँदा उकालो बाटोमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै हिँड्दा पनि हामीलाई कति जाँगर थियो, कति उत्साहित थियौं। तर अहिले यस्तो सजिलो ओरालो बाटोमा पनि हामी दुबै सुस्त सुस्त हिँडिरहेका थियौं।
एक शब्द पनि नबोलिकन हामी होटलमा आइपुग्यौ। म त रोमाको स्मृतिमा यति निःशब्द भै हिँडिरहेको थिएँ। तर लता पनि निकै मौन थिइन्। मणि हराएको सर्प जस्तो। शायद म निकै भावुक भए कि क्या हो, उनलाई मेरो सोच बिथोल्न मन लागेन शायद। हामी दुबै चुपचाप हिँडेर होटल आइपुग्यौं।
तिलिचो यात्राका अन्य साथीहरू क्याम्प फायर गर्दै मस्त नाचगान गर्दै थिए। कोही मासु पोल्दै, कोही पिउँदै गरेका अनि कोही नाँच्दै गरेका। हामी दुई जना चाहीँ चुपचाप आगोको छेउमा बसिरहेका थियौं। पिउनका लागि केही साथी मलाई हत्ते हाल्दै थिए।
मैले कहिलेकाहीँ साथीको माहौल बनाउन बियर पिउनुबाहेक कुनै मद्यपान नगरेको हुँदा पिउन नकार्दै थिएँ। लता पनि शाकाहारी रहिछन् म जस्तै। साथीभाइको धेरै करकापपछि भने हामीले जीवनको पहिलोपल्ट रमको स्वाद चाहि चाख्यौं। मन यसै पनि भतभत पोलिरहेको थियो र पनि तताउने पानी मुखबाट खन्याउँदै थिएँ, बिस्तारै मन भने शान्त हुँदै थियो। त्यो दिन थाहा भयो। हिरा काट्ने हिरैले रहेछ।
‘शरण जी। आज मैले दोस्रो पटक पिएको हो नि। तपाईँ त केटा मान्छे, मौका पाउनासाथ पिउने त होला नि।’
हार्ड ड्रिङ्क त मेरो पहिलो हो। कहिलेकाही बियरसम्म पिएको छु तर साथीभाइसँग। तपाईँले चाहि पहिलो पटक कहिले पिउनु भो नि?
‘त्यो दिन मलाई जीवनदेखि साह्रै हार खाएको महशुस भएको थियो। मर्न पनि मन लागेन। अनि बाँच्नुको पनि अर्थ देखिनँ। के गर्ने कसो गर्ने केही सोच नै आएन। अनि रक्सी।’
‘बाँच्नै मन नलाग्ने के तनावमा पुग्नु भो र त्यस्तो?’ उनको कुरालाई काट्दै म सोधिहाल्छु।
‘कति कुरा नभनेर नै मिठा हुन्छन्। त्यतिबेलाको त्यो असय्य बेदना अहिले मलाई मेरो बचपना जस्तो लाग्छ। तर पीडा त पीडा नै हुनेरहेछ। सम्झँदा पनि मन चाहीँ चसक्क भैदिने।’
गिलासको एक घुट्को जिनिसले हो वा विगतको कुनै वेगले हो उनको अनुहार रातो भएको प्रस्टै देखिन्थ्यो। आगोको रातो उज्यालोमा उनको रक्तिम अनुहार निकै प्यारो देखिएको थियो। उनले भन्न नचाहेको कुरा मलाई सोध्न नि मन लागेन। उनले थप कुरा पनि गरिनन्। केवल आगोको रापमा घरी घरी गिलास रित्याउने प्रतिस्पर्धामा हामी एकोहोरो लागिरह्यौं।
तितो पानी पिउँदा पिउँदै मेरा आँखाबाट नुनिलो पानी बग्न शुरू गरिरहेको थियो। फेरि पिएपछि पुरानो घाउ बल्झिने अनि रून शुरु गर्ने मेरो आदत नै थियो। शायद यस्तै केही अस्वभाविक आदतले म स्वभाविक जीवन जिउन सकिरहेको थिएँ। लतालाई मेरा मनको वेग के थाहा र? आज पनि मलाई लतासँग पिउँदै आगो छेउ बसेको त्यो चिसो रातको पल पल याद छ।
आफ्ना पनि भिजेका आँखा पुछ्दै लताले मलाई घरी घरी निधार चुम्दै सम्झाउँदै थिइन्। मलाई जहाँसम्म लाग्छ मैले एक शब्द नै बोलिनँ। जति बोलेँ, मेरा आँखा बोले, अनि मेरा आँसु बोले। अन्य साथीहरू पनि आ-आफ्नै सुरमा थिए। तर हाम्रो हरकत केही अस्वभाविक भएको हुनुपर्छ। लता पनि मात्तीएकी थिइन्। अनि मलाई जति रक्सीको मात चढ्दै थियो उति नै म आत्तिदै थिएँ।
रोमाको बिछोडको पिडा झन् झन् ताजा हुँदै थियो। रोमाले मलाई अघि साँझ लुकीलुकी हेरेकी सम्झीएँ। गोरो अनुहारमा पोतो आएकोले होला उनी बिरामी कमजोर देखिएकी थिइन्। कुनै दिन आँसु चुहाउँदै चुहाउँदै मेरो खुशीको लागि आफूलाई सुम्पिने मेरी रोमा मलाई हेर्दा पनि कसैले थाहा नपाउने गरी लुकीलुकी हेरिरहेकी थिइन्।
मलाई चिया दिन लाग्दा उनको हात कामेको थियो। उनलाई डर पनि लाग्यो होला, उनको श्रीमानले थाहा पाउला भनेर। झन म त्यहाँ अकस्मात पुग्दा र सरिना मेरी बहिनी भन्ने थहा पाएपछि त उनको सात्तो नै गयो होला। सरिनासँग उनको कुराकानी भएको सबै याद आयो होला। तर म त्यति निर्दयी पनि थिइनँ। आफ्नो सारा संसार मानेको आफ्नी प्रियतमाको घर बिगार्न मैले कहाँ सकुँला?
‘यो सम्झने मन छ। म बिर्सु कसरी। तिमी नै भनि देउ हे जानी निष्ठूरी....’ नारायण गोपालको यो गीतले यो चिसो रातलाई र यो आगोको रापलाई जति साथ दिएको थियो, मेरो विगतलाई र विगतको स्मृतिलाई उस्तरी नै साथ दिइ रहेको थियो।
(यात्रा सकिएको छैन। कथा अझै बाँकी छ... क्रमशः)