बजारभरि चस्मै चस्मा
अनेकौँ रङका चस्माहरु
राता, पहेंला, सुन्तले चस्मा
निला, बैजनी, गुलाफी चस्मा
रङ्गी बिरङ्गी चस्माहरु
किन्तु मैले देख्न सकिनँ
सेतो चस्मा कहाँ छ प्रिय?
अनेक रङ्गी चस्मामध्ये
रातो चस्मा सुलभ देख्छु
हरियो चस्मा दुर्लभ हुन्छ
रंगिन चस्मा किन्न लाउन
लाखौँ लामबद्ध मान्छेहरु
तँछाड मछाड गर्दै ठेल्छन्
किन्तु मैले भेट्न सकिनँ
सेतो चस्मा कहाँ छ प्रिय?
एकछिन मैले रातो रोजेँ
रातो चस्मा लाएर हेरेँ
नील सागर सारा रातै देखेँ
फुस्रो चट्टान रातै देखेँ
मरुस्थल पनि रातै देखेँ
राता विद्रोही जुलुस देखेँ
मेरा आँखा तिर्मिर गरे
रक्तिम विश्व हेर्न सकिनँ
सेतो चस्मा कहाँ छ प्रिय?
फेरि मैले हरियो रोजेँ
हरियो चस्मा लाएर हेरेँ
नील गगन हरियो देखेँ
धरती सारा हरियै देखेँ
भोक रोग हरियो देखेँ
रोदन क्रन्दन हरियै देखेँ
फेरि पनि आँखा तिर्मिर भए
सत्य तथ्य देख्न सकिनँ
सेतो चस्मा कहाँ छ प्रिय?
रंगिन चस्मा कसले बनायो?
रातो चस्मा किन लगायो?
हरियो चस्मा किन फेरियो?
हिजो हेर्दा रातो देखियो
आज देख्दा हरियो भयो
उही मान्छे फरक रङ देख्ने
यस्तो चस्मा कसले बनायो?
सेतो चस्मा रङ नहुने
रातो बस्तु रातै देख्ने
हरियो बस्तु हरियै देख्ने
जस्तो बस्तु त्यस्तै देख्ने
यस्तो स्वच्छ चस्मा हरायो
मैले कतै देख्न सकिनँ
सेतो चस्मा कहाँ छ प्रिय?