जहिल्यै पर्छ पानी कान्छी
मौका छोपौंला ।
आऊ मिली छुपुछुपु
धान रोपौंला ।
*
मूले गरो ब्याड बनाई
बिउ छरौंला,
धान रोपौं अरु कुरा
पछि गरौंला।
लाकुरीका सोइला फेरि
जुवा बनाउँला
दही-च्युराले असारको
पन्ध्र मनाउँला ।।
*
झरी परे मिलीजुली
स्याखु ओढौंला,
आऊ पैले रोपौं कान्छी
पछि गोडौंला ।।
*
हिउँदभरि बसेका ती
गोरु कुदाउँला,
खेताली र बाउसे मिली
आँखा जुधाउँला ।
टुक्रुक्कै बसी डिलमा
अर्नी खाउँला,
किसानीको जिन्दगी यै
चित्त बुझाउँला ।।
*
बेसीतिर बाढी आए
लेक सरौंला,
रुमालमा घरै बसी
बुट्टा भरौंला ।।
*
नयाँ फाली अडाउन
करुवा खिलाउला,
चिलाउनेको अनौ हाली
हलो मिलाउँला ।
कुलोबाट पानी लगाई
खेत हिलाउँला,
तिमी रोप धान कान्छी
मैले आली लाउँला ।।
*
नसकुँला मोती दिन
भरोसा दिलाउँला,
फाटे फाटोस् फरिया त्यो
पछि सिलाउँला । ।
*
बाँझो रहे छेउ-कुना
बाउसोले खनौंला,
कति माया गर्छु कान्छी
पछि भनौंला ।
घाम लागे लाग्न देऊ
पसिना पुछौंला,
सँगै ओत लागौं कान्छी
सँगै रुझौंला । ।
*
दाईं हालिसकेपछि
लगन जुराउँला
मंसिरमा नजुरेमा
फागुन पुराउँला ।।
*
ओराली र उकाली त्यो
सँगै गरौंला,
हात गाँसी धैरेनीको
खोला तरौंला ।
धान चुटी कात्तिकमा
खलो भरौंला,
मंसिर त लागोस् कान्छी
विचार गरौंला ।।
*
सक्यौं भने जोवनको
बाटो मोडौंला,
सन्ततिलाई पूर्खाको
नासो छोडौंला ।।
* * *