हेर्छु पारि
कोही र केही छ, कि भनी,
देख्दिनँ आँखाले, जो पर्खाइको आँसुले ढाकेको छ
हेर्छु वारि
कोही र केही छ, कि भनी,
देख्दिनँ आँखाले, हिलोले भिजेको रित्तो हृदय सिवाय
मरेको छोरा फर्केर आउने भए,
के लाई आश गर्थे र ?
आउँथ्यो,
बा! आमा! भनी कराउँथ्यो
आफ्नो धुरी, आफ्नो छानो, आफैं ठड्याउँथ्यो।
पुरिएकी छोरी फर्केर आउने आउने भए
के लाई आश गर्थे र ?
फरिया चोली लाउथी
डोको गाग्री समाउथी
आफ्नो दैलो आफैं पोती रमाउथी
थिच्यो त्यसले, पुर्यो त्यसले, बगाएर लग्यो सहारा
भन्छन्, आउँछ रे !
धुरी, छानो बनाउँछ रे
सरकारी मान्छे, सहयोगी हातहरूमा
आउँछ कि, राहतका साथहरूमा
आशा पहिले मुखमा माड लगाउने
फेरि धुरी ठड्याउने, छानो बनाउने
तर,
अहिले,
न त ठाडो छानो छ,
न त लाउने न्यानो छ
न त खाने मानो छ
हेर्छु पारि
आइपुग्यो कि भनी
देख्दिनँ आँखाले, जो पर्खाइको आँसुले ढाकेको छ।
राहतका हातहरू, कहाँ हराएयौ तिमी ?
तिमीलाई पानीसँगै भिजेका आँसुका थोपा थोपाले डाकेको छ।
हेर्छु वारि
कोही र केही छ, कि भनी,
देख्दिनँ आँखाले, हिलोले भिजेको रित्तो हृदय सिवाय ...