अकस्मात हिजो
आकाशको गड्याङ्गुडङ्ले
पानीको त्यो झरी र रुखहरुको सल्याकसुलुकले
म निदाउँन सकिनँ!
खरले छाएको मेरो छाप्रोमा
चुहिएका पानीका स्पर्शले, बाराम्बार ब्युँझाइरह्यो।
सोचेँ,
सायद आज मेरो कान्लो बच्ने छैन
उसको मिति पुगिसकेको छ
ऊ कराउनेछ, रुनेछ, गुहार माग्नेछ तर
ती निर्दयीहरुले उसलाई चिथोरेर,
जबर्जस्ती लैजानेछन् टाढा…
धेरै टाढा जहाँ म पनि अनभिज्ञ छु!
न म निदाउन सकेँ न योगदान गर्न सकेँ
काँडेतारमा बेह्रिएर,
बाध्यताबस दोस्रो मित्रप्रतिको अत्याचार हेरेसरह,
मन दुखाएर, रुवाएर बसिरहेँ।
यस्तै गन्थन लिइरहँदा थाकेछु क्यारे!
निदाएछु एकफेर त,
बिहान उठ्दा
वरिपरि पानीको दह जमेको थियो
लत्ता कपडाहरु भिजेका थिए
खरानीबिनाको चुलो र भाँडाकुडाहरु लडिरहेका थिए
कस्तो जिन्दगी? कस्तो परिवेश??
मरिसकेको त्यो विचार पुनः जाग्रित भयो
एक्कासी कान्लातर्फ लम्केँ
ती भिमलका रुखहरु, जसबाट म
लक्ष्मीका लागि दाम्लो बनाउँथेँ
भारी बोक्नका लागि नाम्लो बनाउँथेँ
त्यो रातो माटो, जसले
मेरो घरको रङरोगन भरिदिन्थ्यो
मेरो भान्साको मिठास बदलिदिन्थ्यो
मलाई प्राक्रितिक आँसुबाट जोगाउँथ्यो
तिनै मेरा घनिष्ठ मित्रहरुलाई
मेरा धनुषका वाणहरुलाई
छुट्याइदिएछ मबाट, फेरिदिएछ उसको चोला
रातको त्यो घमसान निर्दयी वर्षाले
बाघले चिथोरेको मृग सरह
बगाएको थियो जम्मै माटाहरु
बन्दुकले ढलेको हरिण सरह
लडिरहेथे ती रुखहरु
थाम्न सकेन मेरो मनले, हेर्न सकेनन् मेरा आँखाले
यो विध्वंशको दृश्य, यो भद्रगोल
सन्तान गुमाएकी आमाझैँ, अर्धचेतनमा म
थचक्क बसेँ, हेरिमात्र रहेँ
टोलाइमात्र रहेँ, बस् टोलाइमात्र रहेँ!