कलेज कस्तो छ? के छ? कहाँ छ? मलाई थाह पत्तो थिएन।
मनमा थुप्रै प्रश्न उठ्यो र ती प्रश्नको जवाफ खोज्न म मैतीदेवीबाट सुन्दरीजल जाने बस चढेँ।
'मेडिकल कलेज!'
खलासी चिच्यायो। म हतारमा आफ्नो सिटबाट उठे र ढोकातर्फ लागेँ। बस रोकियो। पैसा तिरी उत्रिएँ। वरिपरि हेरेँ कतै कलेजको नाम देखिनँ।
हल्का अगाडि बढेँ अनि देखेँ, पुराना भइसकेका 'नेपाल मेडिकल कलेज प्रालि लिमिटेड' लेखिएको ब्यानर मुनिको ठूलो गेट। अस्पताल परिधि भित्र छिरी सबै कुरा अवलोकन गरेँ।
आजसम्म कुनै मेडिकल कलेज नधाएको म, कुनै कमी कमजोरी औँलाउने आँट गरिनँ। होस्टेल गेटसम्म गएँ, भित्र छिर्ने हिम्मत आएन।
सुकिला ड्रेसमा विद्यार्थीलाई देखेँ। ड्रेस मन पर्यो अनि चुपचाप त्यहाँबाट घुमेर होस्टेल पछाडिको बाटो हुँदै बस स्टेसनसम्म आएँ। बेसिक पढाइ हुने माथिल्लो भवन पुगिनँ किनकि मलाई लाग्यो योभन्दा अरू ठाउँ नहोला।
माइक्रोमा चढे, पछिल्ला सिट कुनै खाली देखिनँ। ड्राइभर पछाडिको सिट जुन उल्टो दिशातिर फर्किएको थियो, त्यहाँ कोही थिएन। बस्ने नबस्ने दोधारमा एकछिन परेँ।
चडिसकेपछि उत्रिन मन लागेन। तीन जना मानिसको खुट्टालाई ठेल्दै, म कुनामा पुगेँ अनि ध्यानपूर्व मिलाएर बसेँ। मिलाएर बस्नु जरुरी थियो। किनकि जब त्यहाँ अरु मान्छे थपिँदै जान्थे, चाप बढ्दै जान्थ्यो।
म त्यस माइक्रोमा सवारी गर्ने सबैको अनुहार एकपछि अर्को गर्दै हेर्दै थिएँ र यो गर्नुमा मलाई कुनै रुचि थिएन। तर समय परिस्थिति अनुसार मैले आफूलाई ढालेँ किनकि म समस्याको खाडलमा डुबेको थिएँ।
मेरो ठ्याक्कै अघि एक सालिन युवती थिइन्। तिनका दुवै खुट्टा माइक्रोको भित्तातिर थिए र मेरो एक खुट्टाले उनको खुट्टालाई हल्का छोएको मात्र थियो। म सकेसम्म उनलाई नछुने प्रयास गरिरहेको थिएँ। तर यात्रुको ठेलामठेल र बाटोको खाल्टोले मेरो मेहनतमाथि प्रश्न गरिरहेको थियो।
यस्तो समस्या मलाई पहिलो पटक भने पक्कै परेको होइन। तर यस पटक परिवेश फरक होइन, मेरो आफ्नो लागि जटिल बनेको थियो। म ती युवतीको आकर्षण परिधिभित्र फसिसकेको थिए।
गोला ती चस्माले उनको बाटुलो अनुहारलाई छुट्टै पहिचान प्रदान गरेको थियो। निधारमा एक सानो कालो टिका जसले मलाई पहिलो पटक कालो चिजको अपार सौन्दर्यता बुझायो। मलाई उनको यी दुई कुरालाई समेट्न निकै समय लाग्यो। म एक टक घोरिन चाहन्थेँ, रुमलिना चाहन्थेँ तर परिस्थितिलाई नियाल्दा भने एक नजर लगाउन पनि निकै कठिन थियो।
म वरिपरि आँखा डुलाउथेँ कयौँ पटक र एक पटक सफल हुन्थेँ उनको झल्को पाउन। सबै माइक्रोका यात्रुलाई दशपल्ट नजर फेर्दा उनमा एक नजर डुलाउन सफल हुन्थेँ।
उनका आँखा गाजल विहीन थिए, जो एक टक बाहिरी दृष्य अवलोकनमा हराइरहेका थिएँ। उनका ती श्रृङ्गार विहीन आँखाको प्राकृतिक स्वरुपमा म कही कतै कुनै द्वन्द्व पाउँदिन थिएँ। किनकि ती आँखाले हिउँदको सङ्लो नदीझैँ शान्त र स्थिरतालाई झल्काइरहेको थियो।
जोरपाटीमा एकछिन माइक्रो रोकियो। म यात्रु उत्रिने र चड्ने भिडको गतिलाई नियाल्न थालेँ। माइक्रोले आफ्नो वेग लियो। उनका कान अघि परेका कपाल हावाको लहरसँगै आफूलाई लगिरहेको दृष्य, म हेरिरहन चाहन्थेँ। म आफ्नो माइक्रोको बाँकी समय त्यही अनौठो भावनाको रसमा पौडन चाहन्थेँ, डुब्न चाहन्थेँ।
उनको नाक, गाला, ओठ, चिउँडो एकपछि अर्को गरी नियालेँ। सुन्दरताको सबै बिउ उनीमाथि नै रोपिएको होकि झैँ लाग्यो। जब आफ्ना औँलाले लामा काला कपाललाई मिलाइन्, उनको कान र त्यसमा सजिएको झुम्काले मेरो नयनसँग हवाई दर्शन गर्यो। मनमनै उनको सुन्दरताको जननीलाई सम्मान व्यक्त गरे।
उनले आफ्नो मोबाइल चलाउन थालिन्। ती एक टक नचलबलाएका नयन अब मोबाइलको इसारामा तलमाथि गर्न थाले। गम्भीर भावना अभिव्यक्तित ती अनुहारबाट अब खुसी र हर्षित मुद्राका लहर पोखिए।
उनी घरी-घरी हल्ला मुस्कुराउँदै आफ्नो चिउँडो सुम्सुमाउँथिन् त कहिले हातका पन्जाले कपाललाई पछाडिसम्म मिलाउँथिन्। समय समयमा माझी औँलाले चस्मालाई हल्का माथि सार्थिन्।
मलाई भने फरक भावनाको लहर शरीरको हरेक तरंगमा डौडिरहेको महशुस भइरहेको थियो। यो सबैको कारण उनको सौन्दर्यता नै थियो। लाग्थ्यो उनको त्यो सौन्दर्यमा कुनै नौलो दिव्य शक्ति छ। म जति त्यसबाट निस्किन खोज्थेँ त्यत्ति नै भासिँदै गइरहेको हुन्थेँ।
'बौद्ध' खलासी चिच्यायो। उनले मेरो खुट्टाको कुनै वास्ता नगरी आफ्नो सिटबाट उठिन् र उत्रिन्। माइक्रो अघि बढेसँगै उनको छवि मेरो नयनले भुल्न खोज्यो।
उनको आगमनले म जति उत्साहित थिएँ, त्यही रुपले दुखी भने उनीसँग छुटिँदा भइनँ। किनकि मलाई थाहा थियो, यो यात्राको निचोड यही नै हो भनेर। उनको अलौकिक शक्तिबाट म टाढिएँ, उनको अनौठो आकर्षण परिधिबाट बाहिरिएँ।
तर मन असन्तुष्टिले भरिपूर्ण थियो। मनमा अनेकौं पश्नले जवाफ खोजिरहेको थियो।
उनीलाई नियाल्दा मेरो नजरमा नकारात्मक भावना गाँठिएको पाउने हुन् कि? यो प्रश्नको उत्तर मलाई पनि राम्रोसँग थाहा भने थिएन।
उनले मलाई ख्याल गरेकी छिन् भने, मलाई के सोचेकी होलिन्?
म निरन्तर त उनलाई नजर लगाइराखेको पनि थिइनँ तर जति लगाएँ, उनले ती नजरलाई कुन औदामा राखिन् होला?
मलाई उनको पक्षको जवाफ पाउन सायद भारी समय लाग्ला। तर मेरो तर्फबाट उनलाई जवाफ सामान्य छ।
कुनै नकारात्मक, कुनै शोषणवादी, कुनै पुरुषात्मक नजरले मैले उनलाई हेरिनँ।
मानवीय सम्मान स्वरूप उनको सुन्दरतालाई मैले नियालेँ। यो सबै प्राकृति संरचनाको एक नाटकीय खेलमात्र हो जसमा उनको र मेरो खेल यति मात्र थियो।