सेतो वस्त्र धारण गरेको म
घाट लग्दै गरेको लास हैन
तर कैयौंलाई समयभन्दा पहिले
घाट पुग्नबाट रोक्ने चिकित्सक हुँ।
ममा थुप्रो आँट छ किनकि
मेरो आशमा कसैको अन्तिम सास छ
तर कत्ति पनि घमण्ड छैन ममा,
दिन-रात सेवामा समर्पित हुँदा पनि।
नेताले आफ्नो मान्छे जसरी ठाउँमा पुर्याउँछ,
त्यसरी म चाहेर आफ्नालाई अमर बनाउन सक्दिनँ
होलान् केही माफिया मेरो क्षेत्रमा पनि,
तर म आफ्नो स्वार्थको लागि इमान भने कहिले बेच्दिनँ।
चाहेर पनि तिम्रा आफ्ना बचाउन नसक्दा,
त्यो दिन आफैलाई धिक्कारेर खाना खान मन लाग्दैन
तर तिमी त मेरो कठालो समातेर
मेरो निरन्तर प्रयासलाई पनि बेवास्ताको उपनाम दिन्छौ।
मेरो पेशालाई व्यापार बनाएर, तिमी जस्तैले सुनको खाटमा सुत्नु
अनि थुप्रो पैसाले पनि ज्यान नबच्दा
तिमी जस्तै बिरामीका आफन्तले,
मलाई हस्पिटलबाट थुत्नु, सके त भित्रै पसेर कुट्नु
तर म हामफालेर प्राण जोगाएर भए पनि,
आफ्नो कर्मलाई निरन्तरता दिनेछु।
तिमी कतै न कतै म जस्तै माथि दिनहुँ हातपात गर्नू
चोटग्रस्त म जस्तै हामी, आफ्नो चोट भुली
तिमी जस्तैको चोट निको पार्नेछौ
के गर्नु तिमीले जे गरेता पनि मलाई, म आफ्नो धर्म हार्न सक्दिनँ
मेरो वचन भयो तिमीलाई ए समाज!
अन्तिम साससम्म तिम्रा सासको निमित्त संघर्षरत छु।