हेर्दा हेर्दै छोरो जागिर खाने भैसकेछ। बा-आमा दंग थिए। छोराले स्नातक सकाउने बितिक्कै बैंकमा नाम निकालेको थियो।
पढाइमा ठिकठाक, बोल्नमा ठिक्क पार्ने, घरमा खाना खान पनि दश चोटि बोलाउनु पर्ने, मोबाइलमा चौबिसैँ घण्टा घोप्टिरहने, बिहान ८/९ नबजेसम्म नउठ्ने, खाएको थालसम्म पर नसार्ने, लुगा धुने कुरै भएन, छोराको चाला र लेदरको छाला उस्तै चाम्रो।
बा-आमालाई लाग्यो, छोरो अब आफ्नै खुट्टामा उभिने भयो, जिम्मेवारीको भारी हलुका हुने भयो।
छोरा झोला झिम्टो बोकेर जागिर खान हिँड्यो। भोलि अफिसको पहिलो दिन थियो। रातभरि राम्रोसँग निन्द्रै परेन, छटपटी भयो उसलाई। राति राम्रोसँग नसुतेर पनि आज भने पाँच नबज्दै उठ्यो, फ्रेस भयो।
९ बजे बल्ल उठ्ने मान्छेले ९ बजेसम्म खाना बनाएर, खाइवरी भाडा मस्काएर दश चोटि भित्तामा झुण्ड्याएको ऐनामा हेर्नसम्म भ्याइसकेको थियो। खुट्टामा कालो जुत्ता, चट्ट परेको ड्रेस, निलो कोट, ओहो! केटो आफैंलाई हेरेर दंग पर्थ्यो।
दिन बित्दै गए, बिहान ९ बजे हिँडेको मान्छे बेलुका कतिखेर कोठामा आइपुग्ने हो थाहै हुन्थेन।
जागिर खाएको एक महिना पुगिसकेछ। पलङमा गर्लम्म ढल्यो, सोच्यो- ओहो! जागिर त गाह्रो पो हुँदो रहेछ। घडीको सुइँले बेलुकाको ९ बजाइसकेको थियो। भोक लागे पनि खाना पकाएर खान अल्छी लागेको थियो। दुई दिन अगाडि किनेको ब्रेड चपायो, भुसुक्कै निदायो।
अफिसमा हाकिमको आदेश, महिनैपिच्छे आउने टार्गेट, दिउँसै अँध्यारो देख्थ्यो कहिले काहीँ।
दिन बित्त्दै गए, घरको याद आउँदै गयो। आमाको याद आयो, आमाको हातको खानको याद आयो, दश चोटि बोलाउँदा पनि खान नजाँदा आमाले कराएको याद आयो।
'ओई केटा बानी सुधार, यस्तै हो भने दुःख पाउँछस्,' बाले कराएको याद आयो।
दिनभरि गाउँ डुलेको, रातभरि मोबाइलमा भुलेको याद आयो। आँसुले सिरानी भिजेछ। दिनभरिको थकान र तनाबले सोच्दा सोच्दै कुन बेला निदाएछ थाहै पाएन। झुल लगाउन बिर्सेछ, आधी भोको पेट सुतेको उसलाई लामखुट्टेले भने भरि पेट हुने गरी टोके।
दोस्रो दिन बिहानै उठ्यो, रिङ्गटा लागे जस्तो भयो। टाउको दुखे जस्तो, ओइलिएको फूल जस्तो, एकदिन दुई दिन हप्ताभरि यस्तै भयो।
ज्यान बिसन्चो भयो। घर जान मन लाग्यो उसलाई। यता अफिसलाई असार लाग्न सुरु भैसकेको थियो। बिदा पाइने कुरै भएन। बल्ल बल्ल बिरामी नै भनेपछि बिदा मिल्यो चार दिनको लागि।
जान एकदिन आउन एकदिन, घरमा बस्ने हिसाब गर्दा जम्मा जम्मी ढाई दिन हुने भयो। तैपनि केटो खुसी थियो। दिनभरि काम गर्यो, आज ५ बजे नै अफिसबाट निस्क्यो। झोला बोक्यो, रात्री बस समात्यो।
कानमा एअरफोन लगायो अनि गीत बजायो- उकाली ओराली गर्दै... आँखाभरि रहर भर्दै... आँधीभेरी सँगै लड्दै... खोला, नदी, सागर तर्दै दुःख पीडा बिर्सँदै म आएँ परदेशबाट म आएँ आफ्नै गाउँ फर्की आएँ।
उसलाई परदेशबाट फर्किए जस्तो, जिन्दगीमा कहिले नभएको अलग्गै किसिमको महशुस, मनमा छटपटी, भोक लागे पनि भोक हराए जस्तो, हिजोसम्मको बिसन्चो ठिक भए जस्तो लागि रहेको थियो।
घर पुग्यो, आमाको हातको खाना खायो। रिंगटा लागेको, सन्चो नभएको चैट भयो। उसले बुझ्यो त्यो बिरामी कम भोक ज्यादा रहेछ, सोक ज्यादा रहेछ। स्कुलमा कहिले नपढेको कुरा पढदै थियो, फेसबुकमा कहिले नदेखेको कुरा बल्ल देख्दै थियो।
उसले बुझ्दै थियो स्कुलमा जोड घटाउ गरेर हिसाब मिलाए जस्तो सजिलो रहेनछ जिन्दगीको हिसाब किताब मिलाउन। उसले बुझ्दै थियो फेसबुकको भित्तामा सुन्दर तस्बिर टाँसेजस्तो रहेनछ जिन्दगीको भित्ता सुन्दर बनाउन। उसले बल्ल बुझ्दै थियो भोक, सोक, रोग, र जिन्दगी के हो भनेर।