मेरा प्रिय मान्छेहरु!
अब बेतोड दौडिएको एम्बुलेन्सको बाटो नहेर्नू
मलाई बिर्सिदिनू।
अस्पतालको बाहिर बूढो ठेलामा यो शरीर नकुर्नू
यादहरुलाई भुलिदिनू।
मेरो लागि अक्सिजनका सिलिन्डरहरु भनसुन नगर्नू
बरु हटाइदिनू मास्कहरु।
म सास गुम्साएर मर्न चाहन्नँ
आत्तिएर छट्पट गर्न चाहन्नँ
मेरा लागि कुनै शोक गीत नगाउनू, नरुनू
बरु आमालाई सम्झाइदिनू
पुतली थियो, केही दिन संसार हेर्यो, गयो भनिदिनू।
मेरा आत्मिय मान्छेहरु
मेरो इतिहासको उत्खनन् नगर्नू/नगराउनू
बरु बालाई सुनाइदिनू
म मान्छे बन्न चाहन्थेँ, तपाईंको भक्त बन्न चाहन्थेँ
रहर नपुग्दै कुहिरो बन्यो, बादल बन्यो भनिदिनू।
मेरो पूर्वजन्म/पुनर्जन्मको कहानी नभन्नू/नसुन्नू
बरु प्रियसीलाई भनिदिनू
मैले सम्भावना, सिर्जनाको उन्नत खेती गर्न खोजेथेँ
आफ्नै छाया बोकेर बतास बनिगयो भनिदिनू।
सुतिरहेकी छोरी नउठाउनू
स्वप्ननिन्द्रामा हराएको छोरो नबिउझाउनू
अलिकति वसन्त फुलिदिनू/बालापन खेलिदिनू
म उनीहरुसित अग्लो पहाड उक्लिन चाहन्थेँ
तर रहरकै भारी बोकेर ईश्वरको घर गयो भनिदिनू।
कहिलेकाहीँ पुतली बनिदिनू, फूल नाचिदिनू
उनीहरुसितै खेलिदिनू,
कोरिबाटी गरिदिनू
म मेरा मुनाहरुलाई आफूसितै हुर्काउन चाहन्थेँ
तर प्रलयको भग्नावशेससितै विलीन भयो भनिदिनू
कुनै समय भाइसित भकुन्डो खेलिदिनू,
बहिनीसित गट्टा खेलिदिनू
म उनीहरुतिर आएको हुरी, बतास छेक्न चाहन्थेँ
अफसोच! रहस्यको वायुमण्डलमा हरायो भनिदिनू।
मेरा प्रिय मान्छेहरु
म गुमनाम वनफूल थिएँ
फुल्नु, झर्नु र फेरि फुल्नु
एउटा फूलको मौसमी नियती मात्र हो
त्यसैले मलाई कहिल्यै नसम्झनू, बिर्सिदिनू।