बसमा भिड थियो। यात्रीहरु आपसमा गफ गर्दै थिए।
एकजना कोट र दौरा सुरुवालमा सजिएको भलाद्मी देखिने मानिसले भन्यो, 'यसपालिको कोरोना झन् खतरनाक छ रे। छोयो कि भुसुक्कै पार्यो। वास्तवमा भन्ने हो भने यसमा सरकारको गल्ती छ।'
भलाद्मीले घाँटीमा मास्कको माला लगाएका थियो। सह-चालकले उद्घोष गर्यो, 'बानेश्वर झर्ने कोही छ?'
भलाद्मीले कोटको खल्तीबाट निकालेको पन्ध्र रुपियाँमाथि उसको नाकबाट दुई थोपा सिँगान तप्प झर्यो। सह-चालकले नोट लिएर आफ्नो शरीरमा दलेर सफा गर्यो।
ड्राइभर- 'छिटो गर् ए स्वीटे! पछाडि तेरो बाउले पछ्याउँदै छ। अब एक हप्तामा लकडाउन हान्ने हल्ला छ। लकडाउन भएपछि मज्जाले बसेर खालास्। मामा कता उभिएको छ हेर्दै राख्। समात्यो भने तैंले तिर्नुपर्छ।'
सात दिनपछि-
एकजना युवती बसमा चढिन्।
स्वीटे- नमस्ते दिदी!
युवतीले स्वीटेलाई हेरिन्। पातलो अग्लो शरीर, गोलो माया गरौं-गरौं लाग्ने अनुहार, नाकमुनि कोपिला जस्ता भर्खरै उम्रेका जुँघा। नकोरेको तर सुन्दर कपाल, सर्टको दुवैतिरको तल्लो फेरो एकै ठाउँ पारेर कम्मरमा गाँठो पारेको, घुडा देखिने डिजाइनदार मैलो प्यान्ट र बाक्लोखाले कालो प्लास्टिकको चप्पल। स्वीटे खिया जमेका गुलाबी दाँत देखाउँदै मुसुक्क हाँस्यो।
युवती- नमस्ते भाइ। सन्चै छौ? अनि यो पराग किन चपाइराखेको नि?
स्वीटे- झक्कास छु दिदी। पराग नखाए त निद्रा लाग्छ। हाम्रो गुरु पनि खानुहुन्छ।
युवती- यति सानै उमेरमा काममा लागेको भाइ? पढ्नु पर्दैन?
स्वीटे- म सानो छैन दिदी। म सात वर्षको उमेरमै ठूलो भएको मान्छे। अनि मैले पनि पढ्न थाल्ने हो भने सह-चालक को हुने नि?
युवती तेस्रो स्टपमा झरिन्।
ड्राइभर- ए स्वीटे! त्यो केटी तेरो कस्तो दिदी हो? चिनेको दिदी होकि नमस्ते दिदी? मलाई नमस्ते नगर्ने तँ, केटीलाई पो नमस्ते गर्छ बा!
स्वीटे- स्वीटे टुहुरो हो भनेर हेपेको गुरु? स्वीटेलाई माया गर्ने मान्छे पनि कोही छ यो सहरमा।
स्वीटे हजारौं मानिसलाई देख्छ दिनहुँ। सयौंलाई छुन्छ, कयौंलाई पछाडिबाट ठेलेर बसभित्र हुल्छ। यस सहरमा उसका असङ्ख्य बा, अङ्कल, आमै, बाजे, आन्टी, सर, दाइ, भाइ, दिदी र बहिनी छन्।
ऊ सबैलाई नातो लाएर बोल्छ। परन्तु उसलाई थाहा छैन तिनीहरू को हुन्, कहाँबाट आए र कहाँ जाँदैछन्। अनगिन्ती र अपरिचित एकबार पुकारिने नाताहरु।
अगाडि र पछाडि कुद्ने बसहरुमा स्वीटेका थुप्रै साथी छन्। उनीहरु एकआपसमा हात हल्लाएर काले, चुच्चे, कुख्रे, भाले, बतासे आदि नामले पुकार्छन्। यस्ता साथी जोसँग कहिल्यै भेट हुँदैन, यस्ता दोस्तहरु जसको वास्तविक नाम के हो, घर कहाँ हो र कहाँ बस्दछन् थाहा छैन।
स्वीटेलाई यति थाहा छ, ती सबै ऊ आफै जस्ता अकिन्चन, परित्यक्त र भगोडा आत्मा हुन्। यत्ति थाहा छ, तिनीहरुको रुने मन कतै अदृश्य कन्दरामा लुकेर बसेको छ र हाँस्ने मन मात्र प्रकाशित छ।
स्वीटे- गुरुजी साह्रै टाउको दुखिरहेको छ।
ड्राइभर- के भयो तँलाई! रातभरि युटुब हेरेर बसिस् कि क्या हो? के गर्छस् बाबै! तेरो टाउको दुखेको थाहा पायो भने साहुको टाउको दुख्छ।
स्वीटे- त्यस्तो माया गर्छ साहुले मलाई?
ड्राइभर- कठै यो स्वीटेको बुद्धि! पैसोलाई माया गर्छ बाबु, पैसोलाई। हिम्मत राख् केटा। भोलि आफै ठिक हुन्छ।
साँझ गुरुजी र स्वीटे भट्टीमा पुगे।
ड्राइभर- साह्रै पो थाकियो स्वीटे। आज खानुपर्छ।
स्वीटे- गुरुजी म आज खान्नँ।
ड्राइभरले स्वीटेलाई हेर्यो। धुलो र धुवाँले नाकको प्वाल टालिएको, ओठमा कलेटी परेको, फुस्रो अनुहार। उसले स्वीटेलाई छाम्यो।
ड्राइभर- ओहो! तेरो जिउ कति तातो? कतै कोरोना त लागेन?
स्वीटे- सबै कोरोना कोरोना भन्छन्, आखिर यो के हो गुरु?
ड्राइभर- मलाई पनि राम्ररी थाहा छैन। यो धेरैतिर फैलिन्छ रे, गरिबलाई खलास पार्छ रे। यत्ति मात्र थाहा छ।
स्वीटेले छिटोछिटो सास फेर्न थाल्यो। ऊ पीडाबीचमै मनमनै आफ्नो अतीतमा पुग्यो। स्वीटे सात वर्षको थियो। एक दिन गाउँमा हल्ला भयो, गुमान बहादुरको लास आयो रे साउदीबाट। स्वीटेले बाबुको मृत शरीरलाई दागबत्ती दियो।
ऊ घोप्टो परेर रोइमात्र रह्यो। बज्यै र आमाको शोक देखेर ऊ विह्वल भयो। पाको र वयस्क मानिसले जस्तै उसले बज्यै र आमालाई सम्झाएको थियो। नियतिले सात वर्षको उमेरमै बालापन खोसेर लग्यो।
केही महिनापछि आमा पोइल गइन्। स्वीटे र उसको तीन वर्षको भाइ आमासँगै नयाँ बाबुको घरमा गए। तर स्वीटेलाई त्यहाँ बस्न मन लागेन। ऊ बज्यैकहाँ गयो।
बज्यैले स्वीटेलाई स्कुलमा भर्ना गर्न लगिन्।
हेड सर- तिम्रो नाम के हो बाबु?
स्वीटेले बज्यैतिर हेर्यो।
बज्यै- यसको नाम हाँसे हो हजुर!
सर- त्यस्तो पनि नाम हुन्छ र आमै?
बज्यै- सानो बच्चा हुँदा पनि कहिल्यै रोएन यो। भोक लागे पनि, जाडो भए पनि, कमिलाले टोके पनि र ज्वरो आए पनि हाँसिरहन्थ्यो मेरो नाति। यसले जस्तोसुकै दु:ख र भोक सहन सक्छ। सधैँ हाँसिरहने हुँदा मैले नै यसको नाम हाँसे राखिदिएकी हुँ। अब स्कुले नाम जे राम्रो लाग्छ त्यही राखिदिनुहोस्।
सरले स्वीटेको सारा वृतान्त सुनेपछि उसको नाम 'सीमान्त' राखिदिए। त्यो नाम स्कुल बाहेक अन्यत्र कहीँ पनि उल्लेख भएको छैन र आवश्यक पनि परेन।
स्कुल जान थालेको दुई वर्ष मात्र पुगेको थियो, एक दिन बज्यैलाई के भयो भयो, बेहोस भएर लडेकी कहिल्यै उठिनन्। स्वीटेले नौ वर्षको उमेरमा फेरि दागबत्ती दियो।
ऊ बज्यैकहाँ बस्दा सानो भाइ अर्को बाबुको घरबाट भागेर बज्यै र उसलाई भेट्न आइरहन्थ्यो। भाइले भन्ने गर्दथ्यो, 'दाइ, मलाई एउटा भकुन्डो बनाइदेऊ न। केटाहरू खेल्न मन लागे आफ्नै भकुन्डो लिएर आ भन्छन्, म भकुन्डो बनाउन जान्दिनँ।'
स्वीटेले कसैले बाटातिर मिल्क्याएको थोत्रो मोजाभित्र टालाटुली कोचेर बाहिरबाट बलियो गरी सिलाएर भाइको लागि भकुन्डो बनाइदिन्थ्यो। भाइ भन्थ्यो, 'दाइ, तिमी ठूलो भएर धेरै पैसा कमाएपछि मलाई साँच्चैको भकुन्डो किनिदिनु है!'
एकदिन स्वीटे भाइको गालामा म्वाई खाएर ठूलो बल ल्याइदिने वाचा गर्दै अज्ञात यात्रामा निस्क्यो।
ड्राइभर- ओई! किन झोक्राएर बसेको। आज मैले पनि धेरै खान सकिनँ स्वीटे। मलाई तेरो चिन्ता लागेर ल्यायो यार! तीस रुपियाँको बफ लिएको, त्यो पनि निल्न सकिनँ। उठ्! म डेरामा पुर्याइदिन्छु।
स्वीटेसँग अरु दुईजना केटाहरू बस्थे। पर्खालको भित्तामाथि अड्याएर अगाडितिर बाँस र सल्लाको काठमा टिन अड्याएर बनाएको कोठामा टिनकै ढोका थियो। घरबेटीले कोठाबाहिर एउटा बीस लिटरको ग्यालेनमा पानी राखिदिएको थियो।
उनीहरू त्यही पानीले दिसा धुने र हातमुख धुने गर्थे। तीन जनाले महिनाको एक एक हजारका दरले बहाल तिर्थे।
स्वीटे भित्र पस्यो। केटाहरू रक्सी खाएर मस्त सुतिरहेका थिए। बिहान चार बजे उठ्यो, दिनभरि गाडीमा करायो, बिहानको खाना गुरुसँगै होटलमा खायो, दिनभरि पराग चपायो, राति नौ बजे 'ड्युटी' सकिएपछि सस्तो रक्सी र सितन खाएर सुत्यो। यही एकोहोरो र पट्यारलाग्दो अविरल प्रवाहमा बहिरहेछ जिन्दगानी।
स्वीटेलाई छटपटी भइरहेको थियो। तर उसले थकित भएर निदाइरहेका साथीहरूलाई उठाउन उचित मानेन। निरन्तरको खोकीले गर्दा केटाहरू जागा भए। उनीहरूले स्वीटेलाई अस्पताल लिएर गए।
अस्पतालको प्राङ्गणमा दुई जना केटाहरू थिए। एउटा भुइँमै पल्टिरहेको, अर्को छेवैमा झोक्राएको। सिस्टर शर्मिलाले यसो हेरिन्। 'अहो! यो त स्वीटे भाइ हो।'
उनले भाइ भनेर बोलाइन्। स्वीटेले टाउको उठाएर हेर्यो। 'नमस्ते दिदी!' ऊ केही उज्यालो देखियो। सिस्टरले उसको पिसिआर टेस्ट गर्ने व्यवस्था मिलाइन्। स्वीटेको नम्बर लिएर भनिन्, अहिले जाऊ, म भोलि खबर गर्छु।
भोलिपल्ट सिस्टरको फोन आयो। साथीहरूले स्वीटेलाई अस्पताल लिएर गए।
सिस्टर- भाइ तिमीलाई कोरोना लागेको छ। अब तिमी यहीँ भर्ना हुनुपर्छ। अरु भाइहरुको पनि टेस्ट गराउनु पर्छ।
स्वीटेका साथीहरू पछि आउँछौं भन्दै काममा गए। उनीहरुलाई रोगको गाम्भीर्य बारे थाहा नै थिएन। उनीहरू आपसमा कुरा गर्दै गए, त्यस्तो खतरा भए यति ठूला नेताहरु किन हुल बाँधेर हिँड्थे? किन बसमा चढ्नेहरु मास्क नलगाई र लगाएका पनि चिउँडोमा लाएर हिँड्थे? यो सबै हल्ला मात्र हो।
स्वीटे गल्दै गयो। सिस्टर समय समयमा आइरहन्थिन्। भर्ना भएको चार दिन भएको थियो। सिस्टर स्वीटेको नजिकै आएर उभिइन्। स्वीटे पर्स निकालेर पैसा गन्दै थियो।
सिस्टर- अहिले कस्तो छ भाइ?
स्वीटे- सास फेर्न गाह्रो छ दिदी। पूरा शरीर दुख्छ।
सिस्टर- कति रुपैयाँ रहेछ?
स्वीटे- बत्तीस हजार थियो। मेरो चार वर्षको कमाइ हो दिदी। आधा सकिएछ। दिदी तपाईं मलाई किन माया गर्नुहुन्छ?
सिस्टर- तिमी दुरुस्त मेरो भाइ जस्तै छौ।
स्वीटे- के म उनलाई साथी बनाउन सक्छु? मलाई एउटा माया गर्ने साथी चाहिएको छ। मलाई मेरो आँसु देखाउन मिल्ने साथी चाहिएको छ दिदी। हुन त म गरिब मान्छे।
सिस्टर- मेरो भाइ यस संसारमा छैन।
स्वीटे- किन? के भयो?
सिस्टर- मेरो भाइलाई ठूला मानिसहरूले मारे। स्कुल खुलेपछि मैले मेरो भाइलाई मास्क लगाएर स्कुल पठाएँ। हात धुन, बाहिरको खानेकुरा नखान र दूरी कायम गर्न सिकाएँ। परन्तु अरु विद्यार्थीका अभिभावकहरुले लापरबाही गरेछन्। शिक्षकहरुले पनि अनुशासन कायम गरेनन्। मेरो भाइ स्कुलबाटै सङ्क्रमण बोकेर आउन बाध्य भयो।
स्वीटे- दिदी म पनि मर्छु? म मर्न चाहन्नँ दिदी! मैले भाइको लागि ठूलो भकुन्डो किनेर राखेको छु। मैले पढ्न पाइनँ। म पाँच, छ वर्षपछि ड्राइभर हुन्छु दिदी। अनि भाइलाई काठमाडौं ल्याएर पढाउने हो।
सिस्टर- तिमीलाई केही हुन्न भाइ। कोरोना नराम्रो रोग हो, तर यो रोग लागेका सयमा एकको मात्र मृत्यु भएको छ।
स्वीटे- म नै सयमा एक भएँ भने?
सिस्टर चुप लागिन्।
स्वीटे भन्दै गयो- यो रोग यति खतरनाक छ भन्ने मलाई थाहै थिएन दिदी। आज आएर मलाई थकथक लागिरहेको छ। मलाई कसैले सारिदियो, मैले कतिलाई सारिदिएँ हुँला। म त अनपढ टुहुरो केटो। तर ती दौरा सुरुवाल कोट र टाइ-सुट लाउने त पाका र बुझेका मानिस थिए। कोरोनाबारे हाँसोठट्टा बाहेक गर्दैनथे बसका यात्रीहरु।
मलाई सबैले राम्रो छस् भन्छन्। अनि म सोच्दछु, सायद मेरो विवाह राम्रो केटीसँग होला। मेरो भाइ मभन्दा पनि राम्रो छ। आउने दसैंमा गाउँ जाने विचार छ। बत्तीस हजारमा आधा त सकियो। अरु सबै सकिएला कि केही जोगिएला दिदी?
ऊ पर्सबाट बज्यै र भाइको फोटो झिकेर हेर्दै रुन थाल्यो। सिस्टरका पनि आँखा रसाए। त्यो अबोध र निर्दोश किशोरको बलिन्द्रधारा आँसु देख्ने उसको आफ्नो भन्ने कोही थिएन त्यहाँ।
उसले अवरुद्ध आवाजमा भनेको थियो- 'दिदी, मेरो नाम स्वीटे कसरी भयो भनौं? म धेरै राम्रो छु रे। अङ्ग्रेजीमा धेरै राम्रोलाई स्वीट भन्छन् रे। मेरा साथीहरुले भनेका थिए, केटी भएको भए तेरो नाम स्वीटी हुन्थ्यो, केटा भएको हुँदा स्वीटे भयो।'
आज स्वीटे अचेत छ। उसको ड्राइभर बन्ने, सुन्दरी केटी विवाह गर्ने, भाइलाई भकुन्डो लगिदिने र पढाउने सपना पनि अचेत छन्। आज अचेत छ उसको जिउने इच्छा र छोटो जीवनको लामो विभत्स कथा।
दुई दिन बेहोस अवस्थामा रहेपछि स्वीटे शान्त भयो। एउटा जीवन आफ्ना सपनाहरूलाई सँगै बोकेर निस्क्यो फेरि फर्कनु नपर्ने अनन्त यात्रामा। एउटा सानो आकांक्षाको खहरेले ठूलो नदीमा विलय भएर आफ्नो अस्तित्वलाई समाप्त गर्यो।
स्वीटेको निधनमा जम्मा दुई जना मात्र रोए, सिस्टर दिदी र उसको गुरु। सुदिनको सपना देख्दै भाग्यको खोजीमा विदेश गएको उसको बाबुको लास बाकसमा बन्द भएर आएको थियो। आज स्वीटेको बेवारिसे लास प्लास्टिकको पोकामा बन्द गरेर सिपाहीहरुले लिएर गए।
आज पनि उसको गाउँको पिपलको चौतारीमा भाषणहरु हुन्छन्। अझै पनि सबैलाई शिक्षा र रोजगारीका आशाहरु बाँडिन्छन्। आज पनि बुढो पिपलको रुख मुकदर्शक बनी सांसारिक नग्न नृत्य हेरिरहेछ।
आज पनि स्वीटेको भाइ थोत्रो मोजाभित्र टालाटुली कोचेर बनाएको भकुन्डो खेल्दै प्यारो दाइको आगमनको प्रतीक्षामा छ। आज पनि स्वीटेले भाइका लागि किनेर राखेको भकुन्डो उसको बेवारिसे झोलाभित्र विद्यमान छ।
आज गुरुले सीमान्त नाम दिएको स्वीटे सीमान्तको समेत उल्लंघन गर्दै सीमाहीन अनन्तमा विलीन भयो।