स्काभेटरका नंग्राले चिथोरेको छातीमा
वर्षिन्छ जब आँसु, घाउ बगाउँदै लान्छ
मिसिएर रगत आँसुको भेल छुट्छ
काखैमा बसेका सन्तान पाखा लाग्छन्
कतै बेपत्ता लापत्ता भइदिन्छन्
कतै किनारामा मुढा झै लमतन्न भेटिन्छन्
पहिचान गुमाएका, नाम नखुलेका
केवल श्वास विहीन लास भइदिन्छन्
उनी केवल रोइमात्र रहन्छिन्।
छातीमा ब्रेकर ठोक्दा
शताब्दी बुढो सखुवा गर्ल्याम्म ढल्दा
चौताराहरु उजाड बन्दा
छातीका नसा तितरवितर भै
अमृत रसाउने स्तन सुक्दा
मोटरको धुवाँ र सडकको धुलोमा
बिना मास्क धुस्रे र फुस्रे
कुरुप र विद्रुप बनाउँदा
घुम्टो र पछ्यौरी खोसेर नङ्ग्याउँदा
निशब्द उनी
सम्झि सम्झि आज रोइ मात्र रहन्छिन्।
किड्नी र मुटु बेचेर धनार्जन गर्ने स्वप्नभोगीहरु
पहाडको भुँडी फोर्ने भुँडीफोरहरु
दोषी बञ्चरो र आराहरु
जेसिबिका नंग्रा र दाह्राहरु
तिमीहरुको समृद्धि देखेर आज
उदास उदास भई उनी
सम्झि सम्झि रोइमात्र रहन्छिन्।
जसको काखमा लुटपुटियौ
जसको अँगालोमा गुट्मुटियौ
हे मानव! त्यसैले त तिमी पुल्पुलियौ
जसको सहनशीलताको फाइदा
आफ्ना फाइदाका निम्ति निरन्तर लुट्यौ
आज उसैको सहनशीलताको हद पार हुँदा
तिमी न घरको न घाटको भयौ
यतिसम्म लुट्यौ कि उनीसँग तिमीलाई दिने पनि
आँसु बाहेक केही बाँकी रहेन र त!
तिम्रो बेदनामा पनि उनि केबल
सम्झि सम्झि रोइ मात्र रहन्छिन्।
आज पनि
प्रकृति बगाउँछिन् आँसुका धारा
त्यही धाराले बगाउँछ जग सारा
हे! सर्वश्रेष्ठ कहलिनेहरु हो
आजै एउटा प्रण गर, यत्न गर
प्रकृति आमाहरुकी पनि आमा हुन्
त्यसैले कहिल्यै नरुवाउने प्रयत्न गर।